मनोनयन दर्ता गर्न तीनदिन हिँडेर गाउँपालिका केन्द्र धाउँदै
गोरखा : दुर्गममा रहेको चुमनुब्री गाउँपालिका-१ सामागाउँका ङुइटुप ग्याल्जेन लामा माओवादी केन्द्रको तर्फबाट वडा सदस्यमा मनोनयन दर्ता गर्न गाउँपालिका केन्द्र फिलिममा आएर बसेको तीन दिन भयो। कहिले गठबन्धन गर्ने भन्ने खबर सुन्छन्, घर फर्किउँ कि भन्ने लाग्छ। फेरि केही समयपछि गठबन्धन नहुने, एकल चुनाव लड्ने रे भन्ने खबर आउँछ। तब उम्मेद्वारी दर्ता गर्न बस्ने निर्णय गर्छन्।
गठबन्धनबारे छिनछिनमा फरक फरक सूचना आउन थालेपछि दुर्गमका उम्मेद्वारका आकांक्षीहरु तनावमा परेका छन्। उम्मेदवारी मनोनयन गर्ने दिन नजिकिएको तर तालमेलको कुरा नटुंगिँदा तनाब भएको चुमनुब्री गाउँपालिकाका एक आकांक्षी वीरबल घले बताउँछन्।
‘एकछिनमा एकल एकल लड्ने रे भन्ने खबर आउँछ, फेरि एकछिनपछि मिलेर लड्ने रे भनेर आउँछ। पागल हुने बेला भइसक्यो’, उनले भने, ‘सामागाउँबाट दुईदिन पैदल हिडेर आएका छन्। आफू एक्लै आएर हुँदैन। प्रस्तावक समर्थक लिएर आउनु पर्यो। पालिकाको केन्द्रमा आएर होटलमा बसेको धेरै दिन भइसकेको छ।’ समयमै निर्णय नहुँदा उम्मेदवार दर्ता गर्न जाने कि नजार्न भन्नेमा अन्यौल भएको उनले बताए।
‘सामागाउँ, साम्दो, छेकम्पारबाट पालिकास्तरको निर्वाचन कार्यालयमा आउँदैछन्। कोही बाटोमै छन्, कोही आइपुगेका छन्’, उनले भने, ‘फरकफरक खबर आउँदा बाटोबाटै फर्कने कि, आउने भन्नेमा अन्यौल भएको छ।’आइतबार र सोमबार उम्मेद्वारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ। तर अहिलेसम्म गठबन्धनको निचोड नआउँदा ‘डिप्रेशन’मा जान लागेको घले बताउँछन्। ‘म आफै पनि गाउँपालिकाको अध्यक्षको आकांक्षी हुँ। छिनछिनमा फरकफरक खबर आउँदा बिरामी हुने बेला भइसक्यो’, उनले भने।
शनिबारसम्म कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीबीच सम्बन्ध तोडिने र जोडिने भइरहेको छ। ११ वटा नगर र गाउँपालिकामा सहमति जुटाउन नसकेका गठबन्धनका दलहरुले छिट्टै पालिका र वडा टुङ्ग्याउने संभावना देखिँदैन।
चुमनुब्री गाउँपालिको वडा नम्बर १ सामागाउँ, २ ल्होबाट गाउँपालिकाको केन्द्र वा निर्वाचन अधिकृतको कार्यालयमा आउन दुई/तीन दिन लाग्छ। वडा नम्बर ४ बिही, ७ छेकम्पारबाट पनि एक दिन भन्दा बढी लाग्छ।
बैशाख ११ र १२ गते मनोनय दर्ता गर्न निर्वाचन आयोगले समय तोकेको छ। ‘अहिलेसम्म कुन पार्टीबाट कसले वडा अध्यक्ष, सदस्यहरुमा उम्मेदवारी दिने भन्ने यकिन नहुँदा यहाँ अलमल भएको छ, खर्च पनि बढिरहेको छ’ घलेले भने।
प्रतिक्रिया दिनुहोस !