हिमालपारि उम्मेदवार टुंगो लगाउँदै माओवादी केन्द्र
गोरखा : मनोनयनको पहिलो दिन आइतबार हिमाल पारिको चुमनुब्री गाउँपालिकामा नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएको छ। साम्दो, सामागाउँ, छेकम्पारदेखि दुईदिन पैदल हिडेर आएका आकांक्षीहरु गाउँपालिकाको केन्द्र रहेको फिलिममा उम्मेद्वार चयनका लागि सघन छलफल गरी उम्मेदवार टुङ्ग्याएका अध्यक्ष पदका आकांक्षी वीरबल घलेले जानकारी दिए।
‘गठबन्धनको टुंगो नलाग्दा अलमल भएको थियो। अब एक्लाएक्लै जाने भनेपछि धमाधम उम्मेद्वारको टुंगो लगाउन छलफल सुरु गरिएको छ’, उनले भने, ‘फिलिमको एउटा चहुरमा गोलो घेरामा आकांक्षीहरु, नेता, कार्यकर्ताहरु बसेर छलफल भएको हो।’ छलफलमा सहभागीहरुले आफूले पार्टी र समाजमा गरेको योगदानको व्याख्या गर्दै आफ्नो दाबी प्रस्तुत गरेका थिए।
माओवादीकी गाउँपालिका अध्यक्ष कुमारी गुरुङका अनुसार वडा नं. ५ र वडा नं. ६ मा कांग्रेस र माओवादी केन्द्रको साझा उम्मेद्वार बनाउने निर्णय भइसकेको छ। ‘उपप्रमुखमा लक्ष्मी गुरुङको नाममा सहमति भएको छ। वडा नं. १ को वडाअध्यक्षमा ङुटुप लामालाई उम्मेद्वार बनाउने निर्णय भएको छ’, उनले भनिन्, ‘वडा नं. २ मा छिरिङ ठिले लामा, वडा नं. ३ मा रामकुमार गुरुङ, वडा नं. ४ मा छिरिङ छोपेल, वडा नं. ६ मा लाक्पा छिरिङ लामा(सरोज) र वडा नं. ७ मा लाक्पा नुर्बुलाई वडाअध्यक्षको उम्मेद्वार बनाउने निश्कर्षमा पुगिएको छ।’
वडा नं. ५ मा माओवादीले पनि कांग्रेसका उम्मेद्वार कल्यान छेवाङलाई समर्थन जनाएर अर्को उम्मेद्वार नउठाउने निर्णय गरेको उनले बताइन्। वडा नं. ६ मा माओवादी केन्द्रका उम्मेद्वार लाक्पा छिरिङ लामा(सरोज)लाई कांग्रेसले पनि समर्थन गर्ने उनले बताइन्।
गाउँपालिका अध्यक्षका लागि पार्टीका गाउँपालिका इञ्चार्ज निमा लामा, गाउँ कमिटी अध्यक्ष कुमारी गुरुङ र वीरबल घले आकांक्षी रहेका छन्।
प्रतिक्रिया दिनुहोस !