गोरखा नगरपालिकाको मेयरको टिकट श्रेष्ठलाई दिएपछि कांग्रेस पार्टी कार्यालयमा तालबन्दी
गोरखा : गोरखा नगरपालिकाको मेयरको उम्मेदवार छनौटप्रति असन्तुष्ट समूहले नेपाली कांग्रेस गोरखाको पार्टी कार्यालयमा तालाबन्दी र धर्ना गरेका छन् । विश्वदेव श्रेष्ठलाई मेयरको टिकट दिएको भन्दै असन्तुष्ट समूहद्वारा जिल्ला कार्यसमितिको कार्यालय तथा गोरखा नगर कार्यसमितिको कार्यालयमा तालाबन्दी र धर्ना गरेका हुन् ।
'यस्तो चुनौतिपूर्ण समयमा मेयरको टिकट दिँदा प्रतिस्पर्धा गर्न सक्ने राम्रालाई छाडेर हाम्रालाई दिइयो, 'धर्नामा रहेका सुवीन बरामले भने, 'पार्टीले एक्लाएक्लै चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ, तर यस्तो चुनौतिपूर्ण समयमा सक्षम, सबैको विश्वास जित्न सक्ने, फरक पार्टीको भोटसमेत तान्न योग्य उम्मेदवार चयन गर्नुपर्नेमा आफन्त र गुट हेरेर टिकट दिइयो, त्यसैले हामी विरोधमा उत्रन बाध्य भयौं, 'निर्णय फिर्ता नलियुञ्जेल बन्द र धर्ना जारी राख्छौं।'
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले गोरखा नगरपालिकाको मेयरमा विश्वदेव श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि मेयर पदका लागि यसअघिका मेयर राजनराज पन्त, जिल्ला कार्य समितिका सचिव किशोरजंग थापा र प्रदेश समितिकी सदस्य शोभा अधिकारीले पनि आकांक्षीको निवेदन पेश गरेका थिए ।
युवा कार्यकर्ताहरुको मर्म र भावनामाथि खेलबाड तथा पार्टीको अहित हुनेगरी गरिएको सो निर्णय नसच्याए निर्वाचनका बेला युवा कार्यकर्ता चुनावी अभियानमा सक्रियतापूर्वक नलाग्ने उनीहरुले चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस !