गोरखामा आफ्नो पार्टीको कोही उम्मेदवार नभएको विप्लव समूहको दाबी
गोरखा : पूर्व जिल्ला इन्चार्ज योगेन्द्र कुमालले विधिवतरुपमा गोरखा नगरपालिकाको मेयर पदमा उम्मेद्वारी दर्ता गराएको तेस्रो दिन विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज कृष्ण वाग्लेले कुमालको उम्मेद्वारीको जिम्मा नलिएका हुन्। साथै विज्ञप्तिमा पार्टीको नीति विपरीत गरिएको उम्मेद्वारी दर्ताप्रति दुख व्यक्त गरिएको छ।
‘पार्टी असफल संसदीय व्यवस्थाविरुद्ध र वैज्ञानिक समाजवादका लागि निरन्तर संघर्ष गर्दै आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हालै सम्पन्न १२ औँ केन्द्रीय समितिको बैठकले पनि निर्वाचनमा भाग नलिने निर्णय गरेको थियो। तर पार्टीको मूल लाइनलाई तोडमोड गर्दै, पार्टी जिल्लाको बैठक पनि नबसेको, निर्णयसमेत नगरेको अबस्थामा पार्टीका केही साथीहरुले सामान्य सांगठनिक मर्यादा र धज्जी उडाँउदै पार्टीको नामबाट स्वतन्त्र उम्मेद्वारी दिएकोप्रति विश्वास नगर्न अपिल गरिन्छ।’
पार्टीको चुनावमा भाग नलिने नीतिको दृढतापूर्वक कार्यान्वयन गर्न र असफल संसदीय ब्यवस्थाको भण्डाफोर गर्न समेत विज्ञप्तिमा आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस !