गलत विवरण दिनेको उम्मेदवारी रद्द
नुवाकोट : गलत विवरण लेखाएर नुवाकोटमा उम्मेदवारी दर्ता गरेका व्यक्तिको उम्मेदवारी रद्द भएको छ। यही बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध परेका उजुरीउपर छामनविन गर्ने क्रममा नुवाकोटको विदुर नगरपालिकाका एक जनाको उम्मेदवारी खारेज भएको छ।
विदुर नपा-९ को खुल्ला वडा सदस्यमा जन समाजवादी पार्टीवाट उम्मेदवारी दिएका विनोद थापाको नाममा परेको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटले जनाएको छ। थापाको उम्मेदवारी उपर उजुरी परेको र उनको उम्मेदवारीमा समर्थकको हस्ताक्षर झुट्टो भएको प्रमाणित भएपछि उम्मेदवारी खारेज भएको हो।
यसबाहेक नुवाकोटमा उम्मेदवार उपर परेका अन्य उजुरीहरु भने रद्द भएको छ। नुवाकोटको विदुर नगरपालिकामा ११ जना मेयर र १० उपमेयरसहित दुई सय ७४ जनाको उम्मेदवारी रहेको र उम्मेदवारी फिर्ता प्रक्रियापछि अन्तिम नामावली प्रकाशन गरिने जनाइएको छ।
उता, पाँच गाउँपालिका रहेको रसुवामा उम्मेदवामर उपर परेका सवै उजुरी रद्द भएका छन्। रसुवाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार छानबिनपश्चात् सबै उजुरी रद्द भएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए।
रसुवामा मनोनयन दर्ता गरेका ८ जनाविरुद्ध उजुरी परेको थियो। आमाछोदिङ्मोमा अध्यक्षविरुद्ध २ र उपाध्यक्षविरुद्ध १, उत्तरगयामा दलित महिला सदस्य विरुद्ध १ र गोसाइँकुण्डमा वडाध्यक्षविरुद्ध एउटा उजुरी दर्ता भएको थियो।
आमाछोदिङ्मो गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिप्रसाद लुइटेलका अनुसार नेकपा एमालेका उम्मेदवारविरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारले, नेपाली कांग्रेसका उम्मेदवार विरुद्ध नेकपा एमालेका उम्मेदवारले उजुरी दिएका थिए।
यस्तै ३ वटा सदस्य पदका लागि पनि उजुरी दिएकोमा यसको अर्थ थिएन। ‘सदस्य पदका लागि ३ वटा उजुरी आएको थियो,’ उनले भने, ‘तर अन्य व्यक्तिले गरेका कारण यसको अर्थ रहेको थिएन।’
गोसाइँकुण्ड गाउँपालिकाको १ का वडाध्यक्षका उम्मेदवारविरुद्ध स्वतन्त्रका उम्मेदवारले उजुरी हालेका थिए। नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका विरुद्ध आफू कार्यरत संस्थाबाट राजीनामा नदिएको भन्दै उजुरी दर्ता आएको थियो।
मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार उनले राजीनामा दिएको पत्र बुझाएपछि उक्त उजुरी रद्द भएको हो। यस्तै उत्तरगया गाउँपालिका दलित महिला सदस्यको विरुद्ध दलित भएको आधिकारिक पत्र नबुझाएको भन्दै उजुरी परेको थियो।
प्रतिक्रिया दिनुहोस !