वृद्धतामा दृढता
थेसिस, एन्टिथेसिस, सेन्थेसिस। समाज उपरोक्त फ्रेमवर्कभित्र निरन्तर परिवर्तन भइरहन्छ भन्थे हेगेल। बीज टुसाउँछ, वृक्षको आकार लिन्छ, अनि एक दिन खङ्ग्रङ्ग सुक्छ, मर्छ। भलै भौतिक जगत्मा आउने परिवर्तनका कतिपय पहलहरू सजिलै ज्ञात नहुन पनि सक्छन्। तर सत्य के हो भने वस्तु हिजो जस्तो थियो आज त्यही रूपमा छैन। आज जस्तो छ भोलि पक्कै रहँदैन। यस अर्थमा सृष्टि, विकास अनि विनाश, यही चक्रमा अविचलित घुमिरहन्छ जगत्। अर्थात् आजको कलिलो बालक कुनै दिन जवान बन्नेछ, बूढो हुनेछ अनि मर्नेछ। यो नै सांसारिक नियम हो।
मृत्यु शाश्वत सत्य हो। संसारमा अस्तित्वमा रहेका हरेक वस्तु एक दिन झर्छन्, मर्छन्। मृत्यु शब्द उच्चारण गर्नासाथ भयाक्रान्त हुन्छ मानिस। मानिसको जोड चल्थ्यो भने ऊ कहिल्यै मर्न तयार हुने थिएन। किनकि मृत्युपछिको दुनियाँ अज्ञात छ। त्यसो त गीताले सान्त्वना पनि दिएको छ– ‘शरीर मर्छ तर आत्मा मर्दैन। चौरासी लाख योनीको चक्र पूरा गरी पुनः मनुष्य योनीमा फर्किन्छ ! पुरानो
वस्त्र फ्याँकेर नयाँ लगाएजस्तै हो जीवन।’
भनिन्छ, स्रष्टा द्रष्टा पनि हुन्। सेक्सपियर भन्थे– ‘जिन्दगी नाटक हो, हामी नाटकका कलाकार।’ नाटकमा पात्रहरू आउँछन्। कहिले रुन्छन्। कहिले हाँस्छन्। अन्त्यमा आआफ्नो भूमिका निर्वाह गरी जान्छन्। आउनु
प्रियकर छ। जानु दुःखदायी। आगमनमा खुसीले नाच्छ मानिस। जाँदा शोकको समुद्रमा चुर्लुम्म डुब्छ।
मानिस असीम कामनाको भण्डार हो। जब ऊ शून्यमा हुन्छ तब भन्छ, कमसेकम एक हुन पाए। जब एक हुन्छ तव भन्न थाल्छ, एक होइन दस हुन पाए। जब दस हुन्छ अनि भन्न थाल्छ, दस के हो र ! सय हुन पाए। यो क्रम सयबाट हजार, हजारबाट लाख, लाखबाट, अरब–खरब अनन्त अनन्तसम्म टुंगिँदैन। त्यसो त जिउनका लागि कामना आवश्यक छ। कामना सजीवताको लक्षण हो। कामना छैन त जीवन छैन। चितामा लम्पसार मनुष्यको न कुनै कामना हुन्छ, न पीर–व्यथा ! जुन दिन इच्छा, कामना सकिनेछ, त्यो दिन जिन्दगीकै अन्तिम क्षण हुनेछ।
नेल्सन मण्डेला, वाल्ट डिज्ने, रोनाल्ड रेगन आदि जीवन यात्राको माथिल्लो बिसौनीमा पुगेर पनि विचारले जवान मानिस बने।
बुढ्यौली जीवन यात्राको सर्वाेच्च बिसौनी हो। बुढ्यौलीलाई फुटेको बेलुन मान्छन् कति। मेरा एकजना आदरणीय व्यक्तित्व भन्नुहुन्थ्यो– जे गर्नुछ ४० वर्षभित्र गर्नू ! ४० कट्यो त उत्साह घट्यो। जोश–जाँगर आधा भयो ! तर मानिस उमेरले भन्दा पहिले विचारले बूढो हुन्छ। कैयौं मानिसले वृद्धतालाई चुनौती पनि दिएका छन्।
धेरै पहिलेको कुरा हो। केही मानिस एकसाथ एउटा जहाजमा यात्रा गरिरहेका थिए। यात्रामा ९० वर्षको जर्मनी पनि थियो जो जहाजको डेकमा बसेर एकाग्र चित्तका साथ चिनियाँ भाषा सिकिरहेको थियो। अन्य यात्री वृद्धालाई देखेर छक्क पर्थे। आपसमा कुरा पनि गर्थे– ‘बूढाले मृत्युलोक पुग्ने बेलामा चिनियाँ भाषा सिकेर के गर्ला !’ यस्तैमा एउटाले वृद्धालाई सोधिहाल्यो– ‘तपाईं यो उमेरमा चिनियाँ भाषा सिकेर के गर्नुहुन्छ ?’
‘म जबसम्म सिकिरहेको हुन्छु, बूढो भएँ भन्ने सोच्दिनँ। बच्चा नै छु भन्ने मान्छु। ममा मर्ने ख्याल आउँदैन। जब सिकिसक्नेछु, तब सोचुँला, बूढो भएँ, एक दिन मर्नेछु भनेर। मृत्यु त जन्मँदैको समयदेखि मेरोसामु उपस्थित थियो। मृत्युदेखि डराएको हुन्थे भने त्यसै दिनदेखि सिक्न छोडिदिन्थें।’ बृद्धाले जबाफ दिए।
उदाहरण अरू पनि छन्। हरलेन सैन्डर्सले ६० वर्षको उमेरमा केन्टुकी फ्राइड चिकेन (केएफसी) को व्यवसाय सुरु गरेर अपार नेमफेम कमाए। मैकडोनाल्ड फ्रैन्चाइजी स्थापना गर्ने समयमा रे क्राकको उमेर ५३ वर्षको थियो। रोनाल्ड रेगन ७० वर्षको उमेरमा पहिलो पटक अमेरिकाको राष्ट्रपति भए। वाल्ट डिज्नेले ५४ वर्षको उमेरमा डिज्नील्यान्ड बनाई अपार ख्याति कमाए। कार्ल माक्र्सले ५९ वर्षको उमेरमा दास क्यापिटल लेखे। बिल लियरले ६० पर्षको उमेरमा लियर जेट बनाए। नेल्सन मण्डेला ७५ वर्षको उमेरमा दक्षिण अफ्रिकाको राष्ट्रपति बने।
जीवन यात्राको माथिल्लो बिसौनीमा पुगेर पनि विचारले जवान मानिस हुन् ती। जो उमेरले बूढो हुँदाहुँदै विचारले जवान रहे। हिन्दीमा एउटा कहावत छ, ‘मन हारा तो जग हारा।’ अर्थात् मन हार्यो त जितको सम्भावना हार्यो। मन हार्यो त जीवन जीउने उमंग हार्यो।
आखिर मृत्यु त एक दिन आउँछ नै। मृत्यु जीवनको अन्तिम गन्तव्य हो। मृत्यु विश्व विजेताको पनि विजेता हो। निराकार मुक्केबाज हो, मृत्यु। त्यस्तो मुक्केबाज जसको प्रहारबाट मैं हुँ भन्नेहरू पनि कहिल्यै नउठ्ने गरी ढल्छन्। कहिल्यै नबौरने चीर निद्रामा निदाउँछन्। यसर्थ हामीले आफ्नो सोचलाई त्यस ९० वर्षका जर्मन यात्रीको झैं बनाउनु छ। अनि भन्नु छ, ‘जब म केही नयाँ सिकिरहेको हुन्छु, बूढो भएँ भन्ने सोच्दिनँ। बच्चा नै छु भन्ने मान्छु। ममा मर्ने ख्याल आउँदैन। जब सिकिसक्नेछु, तब सोचुँला, बूढो भएँ, एक दिन मर्नेछु भनेर !