फोहरै–फोहर शहरको चिटिक्क मेयर
जनकपुरधाम : जनता समाजवादी पार्टीको चुनाव चिन्ह ‘छाता’ अंकित झण्डाको लोगो अनि आफ्नो सदाबहार स्टाइलमा थिए निवर्तमान मेयर लालकिशोर साह! चिटिक्क आईरन लागेको गेरुवा रंगको कूर्ता पाइजामा, असकोट र बायाँ काँधमा गम्छा, अलिकति पनि क्रिच नटुटेको कपडा लगाएर गाडीबाट झरेपछि उनी चुनावी प्रचार प्रसारका लागि खोलिएको सम्पर्क कार्यालय तर्फ लागे। रामचोक कार्यालयको अगाडि झुण्ड्याइएको ब्यानरमा लालकिशोर साह जनता समाजवादी पार्टी मेयर पदका सूयोग्य उम्मेदवार लेखिएको थियो भने तल ‘छाता’ चुनाव चिन्ह।
लालकिशोर साहमाथि जनकपुरवासीको ठूलो आशा र अपेक्षा थियो। उनी मेयर बनेपछि जनकपुरमा विकास मात्र होईन, भ्रष्टाचार अन्त्य हुने आशा थियो। विगतमा प्रजातन्त्र र लोकतन्त्रको लागि लामो लडाइ लडेका उनी लोकतन्त्रको अनुभूति दिलाएर सुशासनको अनुभूति दिलाउन सक्नेमा जनकपुरवासी ढुक्क थिए। तर उनी मेयर बनेपछि साढे चार वर्षको अवधिमा जनकपुरवासीका सबै आशा र अपेक्षामा ठूलै कुठाराघात भएको छ। हिजोको सरल जीवन निर्वाह गरेका साह मेयर बनेपछि भगवा वस्त्र, सुख–सयल, भोग–विलास र मोज मस्तीमा मग्न देखिए। नगरवासीले मेयरमा ‘गिरगिट’ प्रवृत्ति देखिएको उनकै पार्टीका तत्कालिन सहकर्मी जानकी राम साह बताउँछन्।
उनको कार्यकक्षदेखि शौचालयसम्म एसी जडान गर्नु, शौचालयलाई अत्याधुनिक बनाउन पटक–पटक मर्मत सम्भार गर्नु, पुरानो गाडी हुँदाहुँदै डेढ करोडको महंगो गाडी किन्नु, निजी निवास हुँदाहुँदै बहालमा कोठा लिनु, घर सजावटमा मात्रै लाखौं खर्चिनु, महंगो मोबाइल बोक्नु जस्ता जीवनशैलीमा कतिसम्म फरक आएको छ भन्ने कुरा सहजै बुझ्न सकिने मधेश आन्दोलनका अगुवा दिनेश पूर्वेको कथन छ।
उनको जीवनमा अत्यन्तै परिवर्तन आएको छ। तर जनकपुरको समस्या ज्यूँका त्यूँ छन्। अत्यन्तै फोहोर शहरको दाग मेटाउन सकिएको छैन। लामखुट्टेको प्रकोप न्यूनिकरण गर्न सकिएको छैन। शहरमा सुशासन छैन। विकासले गति लिन सकेन। भएको काम एकदमै गुणस्तरहीन छ। कमिसनखोरी र घुसखोरी त्यत्तिकै बढेको छ। परिक्रमा बाहिर हिल्लामे शहर, भित्र फोहोर शहर, धुलाम्मे शहरको रुपमा बद्नाम भएको दागलाई मेटाउन कुनै ठोस काम भएको देखिँदैन। उचित ढल व्यवस्थापन भएन। पानीको निकास भएन। जनताले खानेपानीबाट वञ्चित छन्। यस्ता साना–साना समस्या त समाधान गर्न सकिएको छैन भने अन्य ठूलठूला समस्या समाधानको कुरै आउँदैन।
समान्य काम समेत गर्न नसकेको निवर्तमान मेयर लालकिशोर पुनः स्मार्ट सिटीको रुपमा जनकपुरलाई विकसित गर्ने भनेर चुनावताका उनले दिएका वाचा पुरा नहुँदै एक पटक फेरि अर्को बाचा लिएर आएका छन्। छाडा सुँगुर र पशु चौपायाको आतंकले नगरवासी त्रसित छन्, कान्जी हाउस कामविहीन बनेको छ। तर, मेयर साहलाई यी कुरासँग कुनै सरोकार नै थिएन्। कमीकमजोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्नेमा अझ सोहीकै क्रमलाई निरन्तरता दिन र फेरि सोही तानाशाही शैली चलाउन पुनः एक पटक मेयरको उम्मेदवार बनेका छन्। सामान्य वर्षातमा डुवानमा पर्ने पूरै शहरलाई पूर्णतः डुबानमा पार्न फेरी भोट माग्न आएको जनकपुर १४ की सुनिता सिंह बताउँछिन्।
हिजो मेयर नबन्दासम्म उनको बोलीमा अत्यन्तै मिठास थियो। जो कोहीसँग पनि सजिलै घुलमिल हुन्थे। तर मेयर भएपनि पूरै फेरिएका छन्। जनतासँग सिधा संवाद छैन। सेवाग्राही जादा कार्यकक्षमा पुग्न घण्टौ उभिनुपर्ने उनको रवाफ हिट्लर शैली थियो। तर आज त्यस्तो जनप्रतिनिधिलाई आज फेरि किन भोट दिने? यक्ष प्रश्न गर्छन जनकपुरका युवा सरोज मिश्र। उनले भने, ‘प्रदेशमै ‘म्यान अफ द इलेक्सन’ सम्म पनि भनियो तर जसरी उनको कार्यशैली तानाशाही भयो त्यसरी नै लालकिशोरलाई ‘म्यान आफ द डर्टी’ भनेर भनिन थालियो।’
जनकपुरधाम उपमहानगरपालिकाका जनताले विशाल मत दिएर लालकिशोर साहलाई मेयरमा निर्वाचित गराए। विराट व्यक्तित्व, प्रजातान्त्रिक आन्दोलनमा योगदान, जेलनेल भोगाइ, मधेश आन्दोलन, शहिदहरुको शहादत र आन्दोलनकारी योद्धाहरु र घाइतेका सपना पूरा गर्ने विश्वासका साथ साह विशाल मत अन्तरले निर्वाचित भए। जनकपुरको उपमेयर भएका बेला खासै विवादित छवि नदेखाएका साह मेयर बन्नुपर्छ भन्ने पक्षमा जनकपुरको बौद्धिक जमात पनि थियो।
अघिल्लो स्थानीय तहको निर्वाचनमा सिधा प्रतिस्पर्धा नेपाली कांग्रेसका उम्मेदवार मनोज साहसँग भयो। लालकिशोरको व्यक्तित्व र योगदानका अगाडि कांग्रेसका उम्मेदवार कमजोर सावित भए। परिणाम उनी धेरै फराकिलो मतले निर्वाचित भए तर जनतासंग त्यतिकै मात्रामा दुरी समेत बताए। फोहर व्यवस्थापनको स्थायी समाधान, अन्तर्राष्ट्रिय स्तरको स्यानिटरी ल्यान्डफिल साइट निर्माण, धार्मिक सरोवरहरूको सौन्दर्यीकरण–संरक्षण, प्लास्टिक जन्य वस्तुहरूको प्रयोग निषेध, माटाका भाँडा, कागज र कपडाको झोलामा अनुदान, सूचना प्रविधिमा अधारित प्रशासन, सुशासन, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व त झन फलप भए।
निवर्तमान मेयर साहले लामखुट्टे नियन्त्रण्, कृषिलाई सभ्यता विस्तार गर्दै आधुनिकीकरण गर्ने जस्ता विकासलाई प्राथमिकतासहित मेयर साहको कार्यकालमा २६ बुँदे प्रतिबद्धतापत्रमा समावेश मध्ये धेरै काम हुँदै भएनन्। पहिलो नगरसभामा साहले प्रस्तुत गरेका प्रतिबद्धतामध्ये शहीदद्वार निर्माण, धार्मिक पहिचान झल्काउने गरी ‘जनकपुरधाम’ नामकरण, नगरका केही स्थानमा सिसी क्यामेरा र सडक बत्ती जडानलगायतका केही ‘ससाना’ काम मात्र भएर बाँकी प्रतिबद्धता कागजमा सीमित भएपछि कुन मुखले फेरी एउटै मान्छेलाई पटक–पटक जिताउनु ? प्रश्न गर्छिन जनकपुरकी विद्यार्थी प्रिंयका शर्मा। ‘फोहर बढेको बढ्यै छ, दुर्गन्धले जनता पीडित छ, मच्छरको आतंक छ। मेयरसापले जसरी भन्नुभएको थियो, त्यसको १५ प्रतिशत पनि काम गर्न सक्नुभएन,’ जनकपुर ८ का विश्वलाल सिंहले भने, ‘शहीद गेट बनाउनु बाहेक मेयरसाबले कुनै पनि काम गर्न सक्नुभएन। उहाँ असफल मेयरको पहिचान बनाउनुभो!’
‘धेरै संघसंस्था आएर फोहोरले मोहर कमाउने मौका दिनुहोस् भनेर जग्गा मागे तर मेयरसा'बले चासो देखाउनु भएन। हामीलाई जिम्मेवारी पनि दिनुभएन्,’ निवर्तमान उपमेयर रिता मिश्रले भनिन्, ‘ल्यान्डफिल साइट बनाउने जग्गामा फोहोर राख्न जाँदा विरोध भयो तर समाधानका लागि मेयरले पहल नै गर्नुभएन।’ अरुले गरिदिएको काम आफू गरेको भनेर मेयरले प्रचार गरेको छ। रोड र नाला उहाँले बनाएको होइन तर मैले गरेको भन्दै हिँड्नुभएछ। उहाँले जनतालाई भन्न सक्ने कुनै काम गर्नुभएन।’ उपमहानगरभित्र एकीकृत सहरी विकास परियोजना, सहरी विकास तथा भवन कार्यालय, ६ लेन सडक र हुलाकी मार्ग अन्तर्गत निर्माण भएको सडकलाई समेत उप–महानगरपालिकाले आफ्नो उपलब्धिको रुपमा गणना गर्ने गरेको छ।
सडक विस्तारको क्रममा जग्गा विवादमा मन्दिरको पूर्वतर्फ निजी घर जोगाउन मन्दिरकै पर्खाल भत्काएपछि मंसिर २०७६ मा उनी विवादमा तानिए। ‘सडक फराकिलो बनाउने नाममा अरुतिर व्यक्तिकै घर तोडियो, तर यहाँ व्यक्तिको घर बचाउन मेयरले भूमिका खेलेको नागरिक अगुवा मुरलीमनोहर मिश्रको भनाई छ। जानकी मन्दिरको जग्गा अतिक्रमण भएको सम्बन्धमा समाचारका लागि प्रतिक्रिया लिन पुगेका पत्रकारहरुलाई मेयरको निर्देशनमा २०७६ मा पुस २२ मा मेयर साहकै कार्यकक्षको ढोका थुनेर पत्रकारलाई कुटपिट गर्न लाईयो।
प्रतिक्रिया दिनुहोस !