नुवाकोटमा आयो मतपत्र, सुरक्षा घेरामा रुजु
नुवाकोट : बैशाख ३० गतेतय भएको स्थानीय तहको निर्वाचनमा मतदानका लागि नुवाकोटमा मतपत्र आएको छ। सदरमुकाम विदुरको कडा सुरक्षा घेराबीच आएका मतपत्रको उचित स्थितिका सम्वन्धमा रजु गर्ने कार्य सुरु गरिएको छ।
विदुर र वेलकोटगढी नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानीय तह रहेको नुवाकोटमा दुई लाख ३७ हजार चारसय ३४ जना मतदाताको मतदानका लागि मतपत्र आएकोमा कर्मचारीमार्फत त्यसको अवस्थाका सम्वन्धमा रजु गर्ने कार्य सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटले जनाएको छ। निर्वाचन आयोगले नुवाकोटका लागि मझौला आकारको ३८ लाइनको मतपत्र पठाएको छ।
दुई लाख ६२ हजार थान मतपत्र नुवाकोटका लागि प्राप्त भएको कार्यालयका सूचना अधिकारी रुद्रबहादुर सुसलिङले जानकारी दिए। उनका अनुसार मतदाताहरुको फोटोसहितको दुई कार्टुन मतदाता परिचय पत्रसमेत नुवाकोटमा आइसकेको छ।
मतपत्र र मतदाता परिचयपत्रको रुजु गर्ने कार्य भइरहेको छ। चारसय ६४ पदका लागि नुवाकोटमा एकहजार नौसय ८८ जना उम्मेदवारहरु चुनावी मैदानमा भिडेका छन्। मतपत्रहरुको अवस्था केरमेट भएको, नष्ट भएको, अस्पष्टलगायतका अवस्थाको वास्तविक पहिचानका लागि सुरक्षितरुपमा कर्मचारीहरुद्वारा मतपत्रको रुजु गर्ने कार्य भइरहेको नुवाकोटको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एक साताभित्र सबै मतपत्रको रुजु पुरा गरी जिल्लाका अन्य नगरपालिका तथा गाउँपालिकामा कायम स्थापित मतदान अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको छ। सुरक्षितरुपमा कर्मचारीमार्फत मतपत्र गणना र उचित अवस्थाको पहिचानगरी सिलबन्दी गर्ने कार्य भइरहेको छ।
आएका सबै मतपत्र रुजु गरेर गणना गरिसकेर सुरक्षण गरेर मात्र मतदान स्थलमा मतदान अधिकृतको कार्यालयमार्फत पठाइने तयारी रहेको छ। नुवाकोटमा दुई लाख ३७ हजार चारसय ३४ जना मतदाता रहेकोमा निर्वाचन आयोगले च्यातिने, नष्ट हुने, अस्पष्ट भएको, केरिएको मतपत्रको स्थानमा सोधभर्ना गर्न १०४ प्रतिशत थप मतपत्र पठाएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ।
नुवाकोटका लागि नेपाली सेनाले दुई लाख ६२ हजार थान मतपत्र ल्याएको हो। यसअघि नै नुवाकोटमा आवश्यक मतपेटिकालगायतका सबै ५८ वटै मतदान सामग्रीहरु आइसकेको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमको भनाई छ।
प्रतिक्रिया दिनुहोस !