डाक्टर थपिँदा सेवामा सुधार

डाक्टर थपिँदा सेवामा सुधार

 गोरखा : भौतिक पूर्वाधार, साधनस्रोत, जनशक्ति र गुणस्तरीय सेवाले बिरामीको मन जित्न थालेपछि गोरखा अस्पतालमा बिरामी खचाखच हुन थालेका छन्। २ महिनाअघिको अवस्थासँग तुलना गर्दा अहिले बिरामीको संख्या दोब्बर बढेको मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठ बताउँछन्। ‘फागुनमा बिरामीको संख्या दैनिक सरदर एक सय जना हुन्थे। अहिले दुई सयभन्दा धेरै छन्। कहिलेकहीँ २ सय ९७ जना पुगेको रेकर्ड पनि छ,’ उनी भन्छन्, ‘त्यतिबेला पाँचजना मात्र कन्सल्ट्यान्ट डाक्टरहरू हुनुहुन्थ्यो। अहिले १० जना कन्सल्ट्यान्ट हुनुहुन्छ।’ 

गुणस्तरीय सेवाले बिरामी सन्तुष्ट हुन थालेपछि अहिले बिरामी रिफर दर पनि घटेको छ। ‘कुनै बेला रिफर कार्ड बनाउन मात्र डेस्कमा बसेको जस्तो लाग्थ्यो। तर, अहिले दैनिक सरदर एक जनामात्र रिफर हुने गरेका छन्। त्यो पनि घटाउने प्रयासमा छौं,’ उनले भने। स्वास्थ्य मन्त्रालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र गोरखा अस्पतालको त्रिपक्षीय सम्झौतामा अहिले अस्पतालमा छात्रवृत्ति करारका चिकित्सकले सेवा दिइरहेका छन्। मेडिकल अधिकृतको संख्या भने दयनीय छ। ‘सुखद मात्र छैन, अस्पतालको केही पक्ष दुखद पनि छ,’ उनी भन्छन्, ‘मेडिकल अधिकृतको जनशक्ति कम्तिमा ६ जना आवश्यक छ। तर, जम्मा दुई जना मात्र हुनुहुन्छ।’ दुईमध्ये पनि एक जना कोभिड करारका हुन्।

गोरखा अस्पतालमा अहिले शल्यक्रिया गराएर सुत्केरी गराउने सेवा पनि सुचारु भएको छ। भौतिक तथा जनशक्ति अभावले केही वर्ष रोकिएको यो सेवाले फेरि निरन्तरता पाउन थालेको छ। ‘सुत्केरी गराउन ‘इलेक्टिभ अपरेसन’ सेवा सुरु भएको छ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘सुत्केरीका आफन्तलाई मिल्दो समूहको रगतको व्यवस्था गर्न लगाएर अपरेसन गर्छौँ। अब सुत्केरी गराउनकै लागि चितवन, काठमाडौँ, पोखरा रिफर गर्न पर्दैन।’ 

नौ वर्षअघि मासिक करिब १३० जना सुत्केरी सेवा लिन आउँथे। तर, आर्थिक वर्ष २०७७/७८ मा मासिक करिब ३० जना मात्र आए। यो संख्या बढेर २ महिनायता मासिक करिब ४५ जना महिला सुत्केरी सेवा लिन यहाँ आउँछन्। ‘अपेक्षाकृत नभए पनि यो संख्या प्रगतिन्मुख हो,’ ढकालले भने। अहिले अस्पतालमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ३ जना, फिजिसियन १ जना, सर्जन २ जना, बालरोग विशेषज्ञ १ जना, मानसिक रोग विशेषज्ञ १ जना, एमडीजीपी १ जना र १ जना एनेस्थेसियोलोजिस्टले सेवा दिइरहेको उनले बताए।

गोरखा अस्पतालमा अपरेसन सेवा सुरु

अस्पतालले १० वर्षसम्म रोकिएको एपेन्डिसाइटिसको अपरेसन सेवा पुनः सुरु गरेको छ। स्तरीय अपरेसन थिएटर, दक्ष सर्जन र एनेस्थेस्थियासिस्टको जनशक्तिबाट सेवा सुरु भएपछि हर्निया, हाइड्रोसिलको पनि शल्यक्रिया सेवा सुरु भएको मेसु श्रेष्ठले बताए। पाठेघरसम्बन्धी, लेप्रोस्कोपी, भ्यासेक्टोमी, बायोप्सी झिकेर परीक्षण गर्न पठाउने सेवा पनि छिट्टै सुरु गर्ने उनले बताए। ‘धेरै मिहिनेत गरेका छौं,’ उनले भने। अस्पतालले अहिले फिजियोथेरापी र मानसिक रोगको पनि उपचार सेवा सुरु गरेको छ। नियमित सेवा समयभन्दा पछि पनि अस्पतालले विशेषज्ञ चिकित्सकद्वारा सेवा दिन सुरु गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.