कांग्रेस गोरखाको संकल्प : भ्रष्टाचारमुक्त स्थानीय सरकार
गोरखा : नेपाली कांग्रेस गोरखाले आसन्न स्थानीय तहको निर्वाचन जितेमा भ्रष्टाचारमुक्त स्थानीय सरकार गठन गर्ने संकल्प गरेको छ। शुक्रबार कांग्रेसले संकल्पपत्र जारी गर्दै स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार, पर्यटन, सामाजिक सुरक्षालगायतका विषयलाई जोड दिने जनाएको छ।
शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै जारी गरिएको संकल्पपत्रमा हरेक वर्ष सपथ खाएको दिनमा वर्षभरीको प्रगति विवरण सार्वजनिक गर्ने उल्लेख छ।
गोरखा अस्पतालमा आइसियू सेवा सञ्चालन गर्ने, मुटु उपचार केन्द्र, डाइलासिस सेवा सञ्चालन गर्ने, संकल्प पत्रमा उल्लेख छ। ‘हाम्रो पार्टीले स्थानीय तहको निर्वाचनमा विजयी गरेको खण्डमा हामीले यो सङ्कल्पपत्र अनुसार काम गर्नेछौँ’, सभापति न्यौपानेले भने, ‘स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारका विषयलाई विशेष जोड दिएका छौँ।’
पाँच वर्षको अवधिमा गर्न सकिने खालका काम मात्रै संकल्प पत्रमा समेटेको बताउँदै उनले सोही अनुसार स्थानीय तहमा विजयी जनप्रतिनिधिले काम गर्ने दावी गरे। ‘गोरखा जिल्लाको हालको अवस्थालाई हेरेर सङ्कल्प पत्र तयार गरेका छौँ’, उनले भने, ‘यो सङ्कल्पपत्र सबै नागरिकलाई छुने, कुनै न कुनैरुपमा नागरिकलाई हेर्ने खालको छ।’
‘नेपाली कांग्रेसको उपहार, भ्रष्टाचारमुक्त स्थानीय सरकार’,लाई कांग्रेसले प्राथमिकतामा राखेको जनाएको छ। चुनावका बेला घोषणा गर्नका लागि मात्र नभएर सङ्कल्पपत्रमा उल्लेख भएअनुसार घोषणपत्रमा लेखे अनुसार जनप्रतिनिधिले काम गरे नगरेको समीक्षासमेत गरिने कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले बताए। ‘विजयी भएर सपथ खाएको दिनको एक वर्षपछि हरेक वर्ष जनप्रतिनिधिले आफूले गरेको काम जनतालाई जानकारी गराउने, समिक्षा गर्ने गर्नुपर्छ’ उनले भने ‘पारदर्शिता र सुशासनलाई कांग्रेसले प्राथमिकतामा राखेकाले यो सबैले अनिवार्य गर्नुपर्छ, हामी गराउँछौँ।’
सङ्कल्प पत्रमा नि:शुल्क उपचार, स्वास्थ्य बिमा प्रभावकारी बनाउने, अनिवार्य शिक्षा, प्रविधिमैत्री शिक्षा, विद्युत र इन्टरनेटको बिस्तार, छात्रामैत्री शौचालय निर्माणलगायतका विषय उल्लेख छन्। कृषि पशुपालन, ब्यवशायिक खेती, कृषि उपजको खरिद बिक्री केन्द्र, किसानलाई सहुलियतमा मल, उत्पादनका आधारमा पकेट क्षेत्र निर्धारण गर्ने विषयलाई कांग्रेसले घोषणा पत्रमा उल्लेख गरेको छ।
पर्यटन सूचना केन्द्र संचालन, बूढीगण्डकी आयोजना क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने, गोरखा पालुङ्टार र मनकामनालाई पर्यटकीय नगरीकोरुपमा विकास गर्ने, गोरखा सदरमुकामलाई ऐतिहासिक पर्यटकीय मूख्य गन्तब्य बनाउने योजना पनि संकल्प पत्रमा रहेको जिल्ला सचिव थापाले बताए।
भेदभाव रहित समाज निर्माण, गाउँगाउँमा बैंक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, वालवालिका, जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलाको लागि विशेष सहायता, खानेपानी, संचार, खेलकुद, वन वातावरण, खनिज, मानव अधिकार, सुशासन र पारदर्शिताको विषयलाई पनि संकल्प पत्रमा कांग्रेस गोरखाले समेटेको छ।
गठबन्धनका दलबीच चुनावी तालमेल नटुङ्गिदा सङकल्पपत्र ढिलो आएको कांग्रेस सभापति न्यौपानेले बताए। ‘पार्टीको तल्लो तहसम्मका संरचना प्रयोग गरेर जनताको घरघरमा चुनाव अघि नै यो पुर्याउनेछौँ’, उनले भने। संकल्पपत्र कार्यान्वयन गर्न सकिने गरी मात्रै ल्याएको कांग्रेसले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !