नेपाल-भारत सीमा बैठक दार्चुलामा सम्पन्न
दार्चुला : जिल्ला सदरमुकाममा नेपाल-भारत सीमा बैठक सम्पन्न भएको छ। दुई देशका उच्च पदाधिकारीहरुको सहभागितामा सीमा बैठक सम्पन्न भएको हो।
बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएकाले भारतसंग सीमा जोडिएका सीमापुलहरु बैशाख २७ गते बेलुकी ७ बजेदेखि बैशाख ३० गते बेलुकी ७ बजेसम्मका लागि सिमा नाकाहरु बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताए।
त्यस्तै निर्वाचनका बेला बिवाह र बिरामी परेको अवस्थामा मात्रै दुई देशको सहमतिमापुल खोल्ने गरी निर्णय गरेको भारत पिथौरागड जिल्लाका डिएम डा आशीष चौहानले बताए। उनले भने ‘नेपाल भारत सीमा बैठक प्रत्येक वर्ष हुने गरेको भएपनि कोरोना महामारीका कारण हुन नसकेको र यसपटक नियमितता दिइएको हो।’
नेपाल भारत सीमा बैठकमा स्थानीय तहको निर्वाचनका लागि सीमा बन्द गर्ने, तटबन्ध, मोटरेबल पुल र लागूऔषध ओसारपोसार नियन्त्रणका बारेमा समन्वय भएको छ भने बैठकमा भारतसंग सीमा जोडिएका क्षेत्रमा हुने अवैधानिक कृयाकलाप रोक्न तथा सीमा क्षेत्रमा निर्माण गरिने तटबन्धका बारेमा सहमती भएको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताए।