नुवाकोटमा मतदानमा खटिएका अधिकारीलाई प्रयोगात्मक प्रशिक्षण
नुवाकोट : स्थानीय तहको निर्वाचनमा नुवाकोटमा खटिएका मतदान केन्द्रका अधिकारीहरुलाई प्रयोगात्मक अभ्यास गराइएको छ। जिल्ला निर्वाचन कार्यालयले विदुरमा प्रशिक्षणकाबीच प्रगोगात्मक अभ्याससमेत गराएको हो।
१२ स्थानीय तहमा कायम दुई सय ८७ मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि दुई चरणमा मतदान सम्वन्धी प्रयोगात्मक प्रशिक्षण गरिएको हो। दुई चरणमा सन्चालित प्रक्षिण अन्तर्गत पहिलो चरणमा वेलकोटगढी नगरपालिकाका साथै दुप्चेश्वर, शिवपुरी, ककनी, म्यागङ र पन्चकन्याका दुई सय ९० जनालाई प्रशिक्षण दिइएको थियो।
विदुरमा दुई दिनसम्म सन्चालित सो तालिममा एकसय ३२ वटा मतदानस्थलका २ सय ८७ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी रहेको थियो। तालिममा कानूनी, व्यवहारिक र सैद्धान्तिक पक्षका विषयमा प्रशिक्षण गरिएको जिल्ला निर्वाचन नुवाकोटले जनाएको छ।
उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा प्रशिक्षण दिइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए। उनका अनुसार मतपेटिका राख्ने स्थान, रुजु गर्नेलगायत मतदान कार्यलाई व्यवस्थित गर्ने तरिकाको विषयमा सहभागीहरुलाई जानकारी दिइएको थियो।
सहभागीहरुलाई मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइटेलले महिला, सुत्केरी, बृद्ध र अशक्त महिलाको लागि मतदान गर्ने समयमा विशेष प्राथमिकता दिन आग्रह गरे। मतदान अधिकृत र सहायक मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको थियो।
कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले निर्वाचनमा कुनैपनि किसिमको सुरक्षा चुनौती सामना गर्न आफूहरु तयार रहेको बताए। उनले प्रत्येक पालिकामा नेपाल प्रहरीको २ ओटा र शसस्त्र प्रहरीको ३ ओटा मोवाइल टोली परिचालन गरिने बताए।
विदुर र वेलकोटगढी नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा कुल मतदाता संख्या २ लाख ३७ हजार ४ सय ३४ जना रहेका छन्। जसमध्ये महिला १ लाख १५ हजार २९ जना पुरुष र १ लाख २२ हजार ४ सय २ जना र ३ जना तेश्रोलिंगी मतदाता रहेका छन्।
प्रतिक्रिया दिनुहोस !