जीतबहादुरको राजनीतिक संस्कार : चुनाव हारे, जितेकालाई स-सम्मान खादा लगाएर बधाई दिए
गोरखा : चुनावको नतिजा सार्वजनिक भएपछि सोमबार बारपाक सुलीकोट गाउँपालिकाको प्रांगणमा एउटा अनौठो दृश्य देखियो। चुनावी नतिजाले एकाथरीमा यसै उत्साह थियो, अर्काथरी निराश। तर यो दृश्यले दुवैथरीमा उत्साहको संचार गर्यो।
दृश्यका नायक थिए त्यहीँ पालिकाको स्थानीय तह चुनावमा अध्यक्ष पदका उपविजेता बनेका कांग्रेसका युवा नेता जीतबहादुर घले। सोही पालिकामा माओवादीबाट अध्यक्ष पदमा विजयी बनेका विष्णुप्रसाद भट्टसँग आठसय ५५ मतले पछाडि परेको नतिजा सार्वजनिक भएपछि उनले गरेको व्यवहारले उनी साँच्चै असल राजनीतिक संस्कारका नायक रहेछन् भन्ने पुष्टि भयो।
बारपाक सुलीकोट गाउँपालिकाका माओवादीका उम्मेदवार भट्टले पाँचहजार सातसय १९ मत प्राप्त गरेर विजयी हुँदा घले चार हजार आठसय सय ६८ मत प्राप्त गरेर उपविजेता भएका थिए।
निस्कपट, शालिन, भद्र र निश्छल मुस्कानका साथ हात मिलाउँदै घलेले भट्टलाई भने, ‘मैले आफ्नो जनमत मात्र कायम गर्न सकेँ, जित्न सकिन। तपाईँले जित्नु भयो। धेरै धेरै बधाइ छ। तपाईँसित जनताले विकास र संवृद्धिको ठूलो अपेक्षा गरेका छन्। तपाईँले यसअघिको कार्यकालमा जति गर्नुभयो, त्यो भन्दा यो कार्यकालमा दोब्बर, तेब्बर राम्रो गर्नुहोस्। मैले पनि र जनताले पनि तपाईँसित यत्ति अपेक्षा गरेका छौँ, शुभकामना।’
घले नेपाली कांग्रेसका बारपाक सुलिकोट गाउँपालिकाका सभापति पनि हुन्। सो पालिकाको विकास र संवृद्धिका महत्वपूर्ण निर्णयमा उनको पनि भूमिका रहने गर्छ। अध्यक्ष पदमा विजयी बनेका भट्टले यो यथार्थलाई सहज रुपमा महशुस गरे।
साथै उनको शुभकामना स्वीकार गर्दै भने, ‘धन्यवाद। तपाईँहरुको साथ र सहयोग पाइरहुँ। तपाईँहरुको साथ र सहयोगले मात्र विकास र संवृद्धि सम्भव छ। बारपाक सुलीकोटको विकास र संवृद्धिका लागि इमान्दारिताका साथ आफ्नो कार्यभार पूरा गर्नेछु।’
यति भन्दै घलेले भट्ट र उपाध्यक्षमा निर्वाचित सनमाया गुरुङलाई खादा पहिर्याइदिए। सबैसित मिलेर फोटो खिचाए। यो दृश्यपछि दुई पक्षका कार्यकर्ताबीच कलुश, द्वेष तथा प्रतिशोधको भावना मत्थर भएको दृश्य देखिन्थ्यो।
प्रतिक्रिया दिनुहोस !