जितको दम्भ

जितको दम्भ

स्थानीय तहको दोस्रो निर्वाचनमा मतदानको प्रतिशत भने अपेक्षितभन्दा कम भएको छ। यसो हुनुमा राजनीतिक दलप्रति वितृष्णा, मतदातामा निराशा र नेताप्रतिको असन्तुष्टि र आक्रोश मुख्य कारण देखिन्छ। परिवर्तनका आकांक्षी जनतालाई राजनीतिक दलहरूले नयाँ अनुहारका युवा उम्मेदवार दिन नसक्नु, स्थानीय तहको निर्वाचनमा पनि राजनीतिक दलको माथिल्लो तहबाटै उम्मेदवार तय भएर आउनु र नेताका आफन्त र आसेपासेलाई प्राथमिकतामा राखेर उम्मेदवार चयन गरिनुले परिवर्तनका आकांक्षी नयाँ पुस्तामा निर्वाचनप्रति त्यति उत्साह जाग्न नसकेको मान्न सकिन्छ। नयाँ पुस्ताले राजनीतिक नेतृत्वमा परिवर्तन चाहेका छन् र गणतन्त्रमा पनि जडतन्त्र उचित होइन। यस्तो आवाजको दरिलो प्रमाण बनेका छन्, काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह।

युवा स्वयं परिवर्तनका संवाहक हुन्। राजनीतिमा पनि परिवर्तनको संवाहक बन्ने क्षमता र आकांक्षा दुवै छ युवा पुस्तामा। बूढो पुस्ताले राजनीति ओगटेर बसेको र अझै ओगटिरहने लालसा देखाएकाले यथास्थितिको राजनीतिप्रति नै युवामा वितृष्णा बढेको हो। युवाको आकांक्षालाई युवाले मात्रै सम्बोधन गर्न सक्छ र परिवर्तनको आकांक्षालाई पनि युवाले नै पूरा गर्न सक्छ। यही मान्यताले युवाले राजनीतिमा युवा प्रतिनिधित्वको अपेक्षा गरेका हुन्। यसअनुसार स्थानीय तहको राजनीतिमा पनि युवालाई नै अग्रसर गराउनुपर्छ भन्ने मान्यताले युवा जनप्रतिनिधिको माग हरेक युवाले गरेका हुन्। आम मतदाताले ठूलो आशा, भरोसा र विश्वासले स्थानीय तहका जनप्रतिनिधिलाई विकास, निर्माण र विकासका लागि आफ्नो अमूल्य मतद्वारा जिम्मेवारी सुम्पेका छन्। त्यो जिम्मेवारी पूरा गर्न हरतरहले लागि पर्नु हरतरहको कोसिस गर्नु विजयी जनप्रतिनिधिको जिम्मेवारी हो, दायित्व हो। विजयी जनप्रतिनिधिले आजैका मितिबाट आफ्नो जीवनशैलीमै परिवर्तन गरेर सेवकको रूपमा जनताको सेवामा समर्पित हुनु पदीय दायित्वभित्र पर्छ। जनताको सार्वजनिक अपेक्षा पनि यही नै हो। 

स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्थादेखि बाटो, पुल, पुलेसा, सिँचाइ, खानेपानी, बिजुली, यातायात आदि पूर्वाधारको विकासमा खटाई अब जनप्रतिनिधिको दैनिकी हुनुपर्छ। जनप्रतिनिधि जनतासँगै हिँड्नुपर्छ र जनतासँग भिज्नुपर्छ। जनताका सुख–दुःख बुझ्नुपर्छ। जनताको सुखमा हाँस्नुपर्छ। जनताका दुःखमा रुनुपर्छ। हरेकपल जनताको सुखदुःखको साथी बन्नुपर्छ। जनताका घरदैला चिन्नुपर्छ र हरेक दिन जनताका घरदैला छिचोल्नुपर्छ। चुनावका बेला हात जोड्दै जनताका घरदैलामा पुग्ने जनप्रतिनिधि जितपछि जनताका घरदैलामा फर्केर पनि नजाने आचरण जनताको अपेक्षाविपरीत हुन्छ। यस्तो आचरणले जनताको सुख र समृद्धिको सपना पूरा हुन सक्दैन। स्थानीय तह निर्वाचनअन्तर्गत विभिन्न पालिकाहरूका 

परिणाम आउने क्रम जारी छ। नयाँ–पुराना दुवै अनुहारले विजयको माला पहिरेका छन्। निर्वाचनको परिणाम घोषणा भएसँगै धमाधम विजय जुलुसहरू निस्किरहेका छन्। जितको उन्मादले विजयी उम्मेदवारहरू त यसै पनि उन्मक्त छन् नै। जुलुसमा सहभागी राजनीतिक दलका कार्यकर्तासमेत निकै उत्तेजित भएर उत्तेजक नाराहरू लगाइरहेका छन्।

तुलनात्मक रूपमा हेर्दा नयाँ अनुहारमा जितको उत्साह र उल्लास देखिन्छ। पुराना अनुहारमा जितको उन्माद र दम्भ देखिन्छ। जुलुसमा आमजनता थोरै छन् र राजनीतिक दलका कार्यकर्ता धेरै छन्। ‘यो जित कसको ? ...को।’ नारा राजनीतिक दलकै पक्षमा लागेको छ, जनताको पक्षमा होइन। जित राजनीतिक दलको भएको छ। जनताको भएको छैन अथवा हुन सकेको छैन। जनप्रतिनिधिको जितलाई जनताको जितको रूपमा स्वीकारिएको छैन अर्थात् जनताको जितको रूपमा लिन सकिएको छैन। जनप्रतिनिधिको जित जनताको जित नभएर राजनीतिक दलको मात्रै जित भएको छ। झुक्किएरै कसैले ‘यो जित कसको ? जनताको’ भने पनि त्यो कुन हदसम्मको जनताको जित हो भन्ने कुरा जनप्रतिनिधिको कार्यशैलीमा भर पर्ने हो। उसको कर्तव्य निर्वाह र कार्यसम्पादनमा भर पर्ने कुरा हो। जनप्रतिनिधिको कार्यशैली, कर्तव्य निर्वाह र कार्यसम्पादन हेर्नै बाँकी छ।

विजय जुलुसमा सहभागी कार्यकर्ताको उन्माद र उत्तेजक नारा अनि विजयी जनप्रतिनिधिको उस्तै उन्मक्त अनुहार, उन्मक्त हेराई र उन्मक्त हाउभाउ हेर्दा त्यो अनुहार, त्यो हेराई र त्यो हाउभाउले जनतालाई नै गिज्याइरहेझैं लाग्छ। ‘हेर, मैले चुनाव जितेर आएँ। अब म के–के गर्छु, तिमीहरू हेर्दै जाओ’ भनिरहेझैं लाग्छ। त्यो उन्मक्त अनुहार, त्यो उन्मक्त हेराइ र त्यो उन्मक्त हाउभाउले। त्यो उन्मक्त अनुहारमा जितको उन्माद मात्रै छ। जितको दम्भ मात्रै छ। आगामी दिनमा जनताले सुम्पेको जिम्मेवारी कसरी पूरा गर्ने भन्ने चिन्ता र चिन्तनको गाम्भीर्यता रत्तिभर पनि छैन। हुनुपर्ने चाहिँ विजय र खुसीको उन्मादभन्दा बढी जिम्मेवारीबोधको गाम्भीर्यता नै हो। तर हरेक विजयी उम्मेदवारको अनुहारमा त्यो गाम्भीर्यताको अभाव टड्कारो महसुस देखिएको छ।

चुनावमा भोट हाल्ने हरेक मतदाताले अनेक आशा, अपेक्षा र सपना साँचेका छन्। आम मतदाताका ती आशा, अपेक्षा र सपनालाई पूरा गर्नु निकै चुनौतीपूर्ण छ। त्यो चुनौतीसँग कसरी लड्ने र आम मतदाताका आशा, अपेक्षा र सपनालाई कसरी पूरा गर्न सक्छु अथवा सक्दिनँ भन्ने छैन। यो राम्रो लक्षण होइन। विजयको दम्भले राम्रो संकेत गर्दैन। जनताको सेवक बन्छु भन्ने प्रतिबद्धता गरेका जनप्रतिनिधिले शासक हुने महत्वाकांक्षा राख्नु र जितको दम्भ प्रदर्शन गर्नुलाई स्वाभाविक रूपमा लिन सकिँदैन र लिन पनि हुँदैन। दम्भले प्रतिद्वन्द्वी राजनीतिक दलबीच द्वैष र द्वन्द्व उत्पन्न गर्छ। आमजनताको अपेक्षा भनेको विजयी जनप्रतिनिधिले प्रतिद्वन्द्वीलाई पनि साथमै लिएर अघि बढून्। प्रतिद्वन्द्वी राजनीतिक दलप्रति पनि सकारात्मक धारणा र सकारात्मक दृष्टिकोण राखेर गाउँ, नगर अथवा महानगरको अर्थात् आफ्नो ठाउँको विकासमा सहयात्रा गरून् भन्ने हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.