पत्याएनन् दलका आश्वासन कर्णालीका मतदाताले

पत्याएनन् दलका आश्वासन कर्णालीका मतदाताले

सुर्खेत : राजनीतिक दलहरुको सत्ता, संगठन र शक्तिको घेरा तोड्दै स्वतन्त्र उम्मेदवारहरुले पनि जित हात पारेका छन् ।

राजनीतिक दलले नपत्याएका उम्मेदवारलाई मतदाताले पत्याउँदै निर्वाचित गरेका हुन् । दलहरुले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएकाहरुले नगर र गाउँपालिकाको नेतृत्वसमेत हात पारेका छन् ।  

कर्णालीमा प्रदेश राजधानी वीरेन्द्रनगरपछि जुम्लाको चन्दननाथ नगरपालिकालाई दलहरुले प्रतिष्ठाको रुपमा लिन्छन् ।

तर, त्यही चन्दननाथ नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारले बाजी मारेका छन् । अर्थात् प्रमुख दल कांग्रेस, एमाले र माओवादीका उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका छन् । 

उनले दुई हजार चारसय तीन मत ल्याएर विजयी भएका हुन् । नेपाली कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । टिकटका लागि कांग्रेसले नपत्याए पनि उनलाई मतदाताले पत्याउँदै पाँच वर्षका लागि नगरको नेतृत्व सुम्मेका हुन् ।

यस्तै, कालिकोटको खाँडाचक्र नगरपालिकाको मेयरमा पनि स्वतन्त्र उम्मेदवारी दिएका कमलबहादुर शाही विजयी भएका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता उनी सुरुदेखि नै मेयरको उम्मेदवार बन्ने तयारीमा थिए । तर, उम्मेदवारका लागि उनले टिकट पाएनन् । 

आधिकारिक रुपमा टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई मतदाताले विश्वास गरेर मेयरमा जिताएका छन् । उनले दुई हजार नौ सय १९ मत ल्याउँदै मुख्य दलका उम्मेदवारलाई नै हराएका छन् । कालिकोटकै सान्नीत्रिवेणी गाउँपालिकाकाको अध्यक्षमा पनि स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी एकहजार आठसय २२ मत ल्याएर विजयी भएका छन् । उनी पनि आफ्नै पार्टी माओवादीले नपत्याएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।

यस्तै, प्रदेशका विभिन्न जिल्लाका वडामा पनि स्वतन्त्र र बागी उम्मेदवारहरु विजयी भएका छन् । दलीय घेराबन्दी र दबदबा भएपनि यसपाली मतदाताले काम गर्न सक्ने र समुदायमा घुलमिल भएका स्वतन्त्र उम्मेदवारलाई नै मत दिएका छन् । 

कतिपय स्थानीय तहमा नेताका नजिकका व्यक्तिलाई टिकट दिइएका कारण असन्तुष्टहरुले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनीहरुलाई विजयी गराएर मतदाताले दलका उम्मेदवार भन्दा पनि आफूहरुसँग घुलमिल भएको उम्मेदवारलाई अनुमोदन गरिदिएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवारी दिएको दलित समुदायको प्यानल नै विजयी भएको छ । 

दलहरुले सधैं आफूहरुलाई आश्वासन मात्र दिएको र भोटबैंकको रुपमा प्रयोग गरेको भन्दै स्थानीय दलित समुदायले यसपटक प्यानल नै बनाएर वडामा स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यहाँ दुईसय ८८ मत ल्याएर धनबहादुर कामी वडा अध्यक्षमा निर्वाचित भएका छन् । 

जहाँ दलहरुका उम्मेदवार पराजित हुन पुगे । यस्तै डोल्पाको शेफोक्सुण्डो गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार पेमावाङछेन गुरुङ विजयी भएका छन् । उनले मुख्य दलका उम्मेदवारलाई पराजित गर्दै एक हजार एकसय १० मत ल्याएका हुन् । हुम्लामा पनि स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । जिल्लाको चंखेली गाउँपालिका वडा नं ४ मा पदम शाही, ५ मा हर्कधन तामाङ र ६ मा जयबहादुर सिरा वडाध्यक्षमा विजयी भएका छन् । 

हुम्लाकै नाम्खा गाउँपालिकाको वडा नं २ मा सुनामक्याप लामा, वडा नं ३ मा ग्याम्जो लामा र वडा नं ६ मा पालजोर तामाङ विजयी भएका छन् । उनीहरु सबै स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिएका थिए । दैलेखको भैरवी गाउँपालिका वडा नं ४ मा चक्रप्रसाद शर्मा वडाध्यक्षमा विजयी भएका छन् । 

उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका वडा नं १ मा पनि स्वतन्त्र उम्मेदवार सुन्दर ओली वडाध्यक्षमा विजयी भएका छन् ।

यस्तै जाजरकोटकाको कुशे गाउँपालिकाको वडा नं २ मा मानबहादुर सिंह, नलगाड नगरपालिकाको वडा नं ११ मा लालबहादुर बानियाँ र बारेकोट गाउँपालिकाको वडा नं ७ मा विशालकिरण बस्नेत दलीय उम्मेदवारहरुलाई हराउँदै वडाध्यक्षमा विजयी भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नं ८ मा विजयी भएको स्वतन्त्र उम्मेदवारहरुको टोली ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.