दार्चुलामा नेपाली कांग्रेस ‘क्लिन स्वीप’
दार्चुला : दार्चुलामा २०७४ सालको निर्वाचनमा ५ वटा स्थानीय तह जितेको नेपाली कांग्रेस यसपालि भने ‘क्लिनस्वीप’ भएको छ। यसपटक कांग्रेस नेता दीलेन्द्र बडुको गृह जिल्लामा पार्टीले प्रमुखमा एउटा पनि पालिका जित्न सकेन। दार्चुलामा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो। माओवादीको भागमा परेका चारवटै पालिका माओवादीले जितेको छ भने कांग्रेसको भागमा परेका पाँचवटै पालिका कांग्रेसले गुमाएको छ।
२०७४ को स्थानीय तहमा कांग्रेसले जितेको शैल्यशिखर नगरपालिकामा यो वर्ष नेकपा एमालेका विजयसिंह धामीले ५५४९ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी अमरसिंह धामीले ४६४७ मत प्राप्त गरे।
महाकाली नगरपालिकामा पनि एमालेका नरसिंह चैसिरले ५०१३ मतका साथ मेयरमा र एमालेकै दुर्गा खत्रीले ४६२६ मतका साथ उपमेयरमा जितेका छन्। यो पालिका पनि यसअघि कांग्रेसले जितेको थियो। यस पालिकामा साबिकका मेयर हंसराज भट्ट आफैं पराजित भएका छन्। भट्टले ३८८७ मत मात्रै प्राप्त गरे। मालिकार्जुन गाउँपालिकामा पनि एमालेका हीरासिंह धामीले ४ हजार ३४ मतका साथ अध्यक्षमा जितेका छन्। उनका प्रतिद्वन्द्वी नरेन्द्रसिंह धामीले ३ हजार ३ सय २२ मत प्राप्त गरे। मालिकार्जुन गाउँपालिकामा पनि यसअघि कांग्रेसले जितेको थियो।
त्यस्तै, दुहु गाउँपालिकामा एमालेका नरेन्द्र बडाल २ हजार ८८६ मत लिएर विजयी भएका छ्न् भने कांग्रेसका पुलेन्द्रबहादुर कार्कीले २ हजार ७२६ मत लिएर हार बेहोर्नु परेको छ। ब्यास गाउँपालिका अध्यक्षमा एमालेका मंगलसिंह धामीले जितेका छन्। उपाध्यक्षमा भने माओवादीका विनोदसिंह कुँवर विजयी भएका छन्। ब्यास र दुहु पनि यसअघि कांग्रेसले जितेका स्थानीय तह हुन्। दार्चुलाका चारवटा स्थानीय तह मार्मा, अपीहिमाल, नौगाड र लेकम गाउँपालिका भने माओवादी केन्द्रले जितेका छन्। गठबन्धनमा यी चारवटै स्थानीय तह माओवादीको भागमा परेको थियो। माओवादीले चारवटा र एमालेले पाँचवटा पालिका जितेपछि कांग्रेसको दार्चुलामा ‘क्लिनस्वीप’ भएको हो।
जिल्लामा एक पनि स्थानीय तहमा जित हासिल गर्न नसकेपछि कांग्रेसका नेताहरू तनावमा छन्। जिल्ला स्तरका नेताहरूले पार्टीमा अन्तर्घात भएको आरोप लगाएका छन्। ‘पार्टीको अधिवेशन र महाधिवेशनमा उठेको रिस पनि सेलाएको थिएन। धेरैले अन्तर्घात गरेर हराउने काम भयो। हाम्रो छिट्टै बैठक बस्ने तयारी भइरहेको छ। अन्र्तघात गर्नेहरूलाई कारबाही हुन्छ,’ कांग्रेस महाकाली नगर समितिका सभापति चन्द्रसिंह विष्टले भने।