२०७४ मा जोसँग हारे, २०७९ मा उसैलाई हराए
धनकुटा : तत्कालीन २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट साँगुरीगढी गाउँपालिकाको अध्यक्षको उम्मेदवार थिए, जितेन्द्र राई। त्यस्तै नेकपा एमालेका तर्फबाट अध्यक्षको उम्मेदवार बनेका थिए कुमारजंग याखा।
दुवैबीचको प्रतिस्पर्धामा बाजी कुमारजंग याखाले मारेका थिए। त्यो बेला उनीहरुबीचको मतान्तर फराकिलो थियो। कुमारजंग याखाले ४ हजार ४ सय ४९ मत प्राप्त गर्दै निर्वाचित भएका थिए। भने उनका निकटम प्रतिद्वन्द्वी बनेका कांग्रेसका राईले ३ हजार ३ सय ३३ मत प्राप्त गरेका थिए। मतान्तर १ हजार १ सय १६ थियो।
पाँच वर्षपछि यी दुईबीच नै पुनः चुनावी भीडन्त भयो। जसमा कांग्रेसका जीतेन्द्र राईले बाजी मारे। अध्यक्ष पदमा निर्वाचित राईले ५ हजार ३ सय ९९ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका याखाले ४ हजार ८ सय २८ मत प्राप्त गरे। यो पटकको निर्वाचनमा उनीहरु बीचको मतान्तर ५ सय ७१ छ।
होटल व्यवसायी हुँदै राजनीतिमा प्रवेश
राजनीतिमा होमिनुअघि ४० वर्षीय जितेन्द्र राई होटल व्यवसायी थिए। अहिले पनि उनको भेडेटार नजिकै रहेको थुम्कीमा भेडेटार भिलेज रिसोर्ट संचालनमा छ। उनको होटल जीवनसंगिनी पद्मिनी राईले सम्हालीरहेकी छिन्। धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसमा पढ्दा पढ्दै नेपाल विद्यार्थी संघको राजनीतिमा होमिए। पछि २०५९ सालमा भेडेटार उक्लिए। भेडेटार बजार चोकमा होटल भ्यू संचालन गरे। तर पनि उनलाई राजनीतिक लतले छोड्न सकेको थिएन। नेविसंघमा हुँदै उनले कांग्रेस पाटी बुझिसकेका थिए। नेपाली कांग्रेसको १२ औं महाधिवेशन अघि उनी साविक नेपाली कांग्रेस भेडेटार गाविस सचिव भए। १२ औं महाधिवेशन प्रश्चात उनी नेपाली कांग्रेस धनकुटा क्षेत्र नं. १ का क्षेत्रीय समिति निर्वाचित बने। १३ महाधिवेशन क्षेत्रीय सभापतिमा निर्वाचन भएका उनी भर्खरै सम्पन्न १४ औं महाधिवेशमा पनि पुनः क्षेत्रीय सभापतिमै निर्वाचित बन्न पुगे।
होटल एशोसिएन अफ भेडेटारका संस्थापक सचिव हुँदै अहिले उनी वर्तमान अध्यक्ष समेत हुन्। भेडेटार प्रदेश १ कै प्रमुखमध्येको एक पर्यटकीय स्थल भए पनि पूर्वाधार निर्माणमा सरकारी क्षेत्रको प्रमुख प्राथमिकतामा परेको थिएन। तर अहिले भेडेटारको पर्यटन क्षेत्र बुझेको व्यक्ति नै पालिकाको अध्यक्षमा निर्वाचित भएपछि यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित बनेका छन्।
हारले सिकाएको पाठ
२०७४ सालको स्थानीय तहमा निर्वाचनमा पराजित हुँदा पनि आफूले हरेस नखाएको उनी बताउँछन्। पराजित हुँदाको पीडा सँगै त्यो बेला मतान्तर पनि फराकिलो थियो। जनताबाट अझैं अनुमोदित हुन नसकेको कुरालाई पाठको रुपमा सिके। निर्वाचित नहुँदा पनि जनताको साथमै रहे। नजिक रहेर जनताको काममा खटे। निरन्तर पार्टीको संगठनमा क्रियाशील भए। जनताको घरघरमा पुगेर दुखसुखमा साथ दिए। यो पटकको निर्वाचनमा जनताले पत्याए। जनताबाट नै अनुमोदित भए।
गाउँपालिकामा समस्याको चाङ धेरै रहेको उनी बताउँछन्। अघिल्लो चुनाववाट निर्वाचित जनप्रतिनिधिको कामबाट जनता सन्तुष्ट छैनन्। स्थानीय स्तरमा धेरै नै समस्या छन्। जनताको मागलाई प्राथमिकता राखि काम गर्ने उनी बताउँछन्।
साँगुरीगढीमा एमाले
२०७४ सालको स्थानीय तह निर्वाचनमा १० मध्ये ७ वडामा जित हासिल गरेको थियो। पालिका अध्यक्ष र उपाध्यक्ष पनि एमालेले नै जितेको थियो। तर अहिले ६ वडामा खुम्चिएको छ। २ वडाध्यक्ष जितेको कांग्रेसले यो पटक थपेर ४ पुर्याएको छ। यस पटक एमालेले वडा नं. १, ४, ७, ८, ९ र १० जित्यो भने नेपाली कांग्रेसले २, ३, ५ र ६ वडा जित्यो। गाउँपालिका अध्यक्ष पनि नेपाली कांग्रेसले नै जितेको छ। अघिल्लो निर्वाचनमा जसपाले जितेको वडामा यो पटक नेकपा एमाले विजयी भएको छ। भने ३ नं. वडा तत्कालीन् समयमा नेकपा एमालेको थियो। पछि त्यहाँको निर्वाचित वडाध्यक्ष एमाले विभाजन पछि नेकपा एस तर्फ लागे। अहिले त्यो वडा पनि नेपाली कांग्रेसले जितेको छ। त्यस्तै २ नं. वडा अघिल्लो निर्वाचनमा नेकपा एमालेले जितेको थियो। अहिले सो वडामा नेपाली कांग्रेसले जितेको छ।
प्रतिक्रिया दिनुहोस !