विरासत धान्न धौधौ
काठमाडौं :
- मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहका छोरा हुन् शैलेशकुमार साह। उनी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका प्रमुखमा पराजित भएका छन्। उनलाई जनमत पार्टीका वीरेन्द्र माझीले हराएका हुन्। निवर्तमान नगर प्रमुख शाह जसपाबाट उम्मेदवार बनेका थिए। उपप्रमुखमा भने जसपाकै सरितादेवी यादव सिपालिया निर्वाचित भएकी छन्।
- मधेस प्रदेशकै भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवका भतिजा हुन् रामबाबु यादव। उनी धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्षमा पराजित भएका छन्। कांग्रेसबाट उठेका उनलाई जसपाका जयकुमार यादवले हराएका हुन्।
- एमाले नेता लेखराज भट्टका भाइ हुन् गोकर्ण भट्ट। उनी कैलालीको गोदावरी नगरपालिका प्रमुखमा पराजित भएका छन्। भट्टलाई कांग्रेसका वीरेन्द्र भट्टले हराएका हुन्। उपप्रमुखमा भने एमालेकै शारदादेवी रोकाया निर्वाचित भएकी छन्।
ooo
दलहरूले स्थानीय चुनावमा राजनीतिक विरासतका नाममा ‘योग्य’ आकांक्षीलाई पाखा लगाएका थिए। त्यसरी चुनावी मैदानमा आएकामध्ये केही पराजित भएका छन्। धेरै उम्मेदवार जारी मतगणनामा निकै पछि परेका छन्। जसलाई विरासतको राजनीति धान्न धौ–धौ परिरहेको छ।
पूर्वसभामुख दमननाथ ढुंगाना मतदातामा राजनीतिक चेत बढे पनि दलहरूले उम्मेदवार चयन गर्दा जनचाहनाको सम्बोधन नगरेको बताउँछन्। भन्छन्, ‘मतदाताको चाहना र उम्मेदवार चयनमा मेल खाएन। उम्मेदवार छनोटमा पनि मतदाताको सहभागिता हुनुपर्छ।’
नागरिक अभियन्ता श्याम श्रेष्ठ निर्वाचन परिणामले नातेदारभन्दा सक्षम उम्मेदवार उठाउनुपर्ने सन्देश दिएको बताउँछन्। ‘हाम्रो होइन राम्रो मान्छे उठाउनुपर्छ भन्ने सन्देश दिएको छ। यो राम्रो पक्ष हो’, श्रेष्ठ भन्छन्।
विश्लेषक काशिन्द्र यादव शीर्ष नेताहरूले राजनीतिलाई सम्पत्तिका रूपमा लिएको बताउँछन्। ‘सम्पत्तिसरह राजनीतिक पुँजीलाई पत्नी, छोरी, छोरालगायत नातेदारमा हस्तान्तरण गर्न खोजे,’ विश्लेषक यादव भन्छन्, ‘अपवादबाहेक जनताले रुचाएनन्। जनताले यो प्रवृत्तिलाई तिरस्कार गरेका छन्। स्वतन्त्र उम्मेदवारमा ठूलो जनमत देखिएको छ। यो छिटपुट घटना होइन। विरासतको राजनीति नरुचाएको संकेत हो।’
काठमाडौं महानगरपालिका प्रमुखमा सत्तारुढ गठबन्धनका तर्फबाट उठेकी कांग्रेसकी सिर्जना सिंहले तेस्रो स्थानमा मात्रै मत पाइरहेकी छन्। उनी कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन्। बरु स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिइरहेका छन्। दोस्रो स्थानमा एमालेका केशव स्थापित देखिइरहेका छन्। सिंह मतगणनाको सुरुदेखि नै पछि परिरहेकी छन्।
जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव सत्ता गठबन्धनका तर्फबाट विराटनगर महानगरपालिकाको उपमेयर उम्मेदवार छन्। एमालेकी शिल्पा कार्कीले यादवलाई उछिनिरहेकी छन्।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका लागि पर्सा जगरनाथपुर गाउँपालिकाको चुनाव तनावमय भएको छ। उपाध्यक्षमा उठेकी राउत पत्नी जुलेखा खातुनलाई मतगणना नतिजाले दोस्रो स्थानमा मात्रै पारिरहेको छ। जसपाकी खातुनभन्दा अगाडि कांग्रेसकी बबिता सिंह देखिएकी छन्। पर्साकै पटेर्वा सुगौली गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका मुख्यमन्त्री राउतका स्वकिय सचिव दीपक यादव पराजित भएका छन्। जसपाका यादवले चौथो स्थानमा ४ सय ६९ मत मात्रै ल्याएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। जहाँ कांग्रेसका दिनेशकुमार चौधरी अध्यक्षमा निर्वाचित भएका छन्।
नेताहरूले सम्पत्तिसरह पत्नी, छोरा, छोरीलगायत नातेदारमा राजनीतिक विरासत हस्तान्तरण गर्न खोजे। जनताले यो प्रवृत्ति रुचाएनन्। अधिकांश (अपवाद बाहेक)लाई तिरस्कृत गरेका छन्।
काशिन्द्र यादव, विश्लेषक
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु भरतपुर महानगरपालिकामा फेरि नगर प्रमुख पदमा उम्मेदवार छिन्। रेणुले अग्रता कायम गरिरहेकी छन्। छोरीलाई जिताउन दाहाल भरतपुरमै केन्द्रित भएका थिए। त्यहाँ माओवादीलाई सत्ता गठबन्धनकै साथ छ। कांग्रेसबाट बागी बनेका जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता दिलाउन राज्यशक्ति नै लागेको थियो।
मतदाताले योग्य उम्मेदवार माग गर्छन्। तर, दलहरू परिवारवाद र कृपावादमा अल्झिएको जवाफ मतदाताले चुनावबाट दिइरहेका छन्। लेखक किशोर नेपालका अनुसार कुनै पनि लोकतान्त्रिक नेताले उत्तराधिकारी तोक्दैनन्। ‘जुन बेला उत्तराधिकारी तोकिन्छ। त्यो बेला लोकतन्त्र पनि रहँदैन। बुझ्नुपर्ने कुरा के हो भने गणेशमान सिंहले आफ्नो विरासत कहिल्यै पनि बनाउनुभएन। पत्नी मंगलादेवी र छोराहरू प्रकाशमान, पीएल सिंहलाई उत्तराधिकारी हो भनेर तोक्नु पनि भएन। आशयसमेत देखाउनुभएन’, लेखक नेपाल भन्छन्।
विरासतको गह्रौं भारी
राजनीतिक दलका सिद्धान्त फरक भए पनि मूलभूत चरित्र उस्तै देखिएको छ। कांग्रेस–एमालेझैं मधेस केन्द्रित दलमा पनि विरासतको राजनीतिमा नेताहरू लालायित देखिन्छन्। तर, सन्तानलाई विरासतको भारी गह्रुँगो देखिएको छ। 
मधेस मामिलाका जानकार यादवका अनुसार मधेसवादी दलमा पनि पारिवारिक विरासतको लालसा देखिन्छ। ‘सत्ता राजनीतिको ब्रान्ड फरक भए पनि सोच उस्तै छ। सबैले विरासतको लक्षण देखिएको छ’, उनी भन्छन्, ‘मधेसवादी दलले सत्ता र संघर्ष सँगै अघि बढाए। पार्टी बनाउनतिर ध्यान नै दिएनन्। योग्य कार्यकर्ता भएनन्। शीर्ष नेताले निष्ठावान कार्यकर्तालाई अवसर नदिई नातेदारलाई अघि सारे। संघर्षको राजनीतिमा मात्र योग्य र जुझारु कार्यकर्ताको खोजी हुन्छ। सत्ता राजनीतिमा नातेदार, आसेपासे, भरोसे रोजिन्छ।’
क्षेत्रगत विरासतमा भत्किँदै
शीर्ष नेताहरूको परिवारवाद मात्र नभई क्षेत्रगत विरासत पनि भत्कन थालेको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुुुर देउवाले पारिवारिक रूपमा छोरा जयबहादुरलाई अघि नसारे पनि आफ्नै वडामा पार्टीका उम्मेदवार पराजित भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको वडामै उक्त पार्टीले पराजय भोग्नुप¥यो। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहपालिका पालुङटार (गोरखा)का प्रमुख, उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। कांग्रेस नेता विमलेन्द्र निधिले स्थानीय निर्वाचनमा गृहनगर नगराइनको वडा नम्बर २ जोगाउन सकेनन्। निधिको वडामा लोसपाका बुलन यादव विजयी भए। कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको पैतृक गाउँ लक्ष्मीनिया गाउँपालिका–३ को वडाध्यक्षमा जसपाका हीरा यादव विजयी भएका छन्।
जनतामा राजनीतिक चेत बढेको छ। दलले जनचाहनाको मूल्यांकन गरेनन्। मतदाताको चाहना र उम्मेदवार चयनमा मेल खाएन। उम्मेदवार छनोटमा पनि मतदाताको सहभागिता हुनुपर्छ।
दमननाथ ढुंगाना, पूर्वसभामुख
नागरिक अभियन्ता श्रेष्ठका अनुसार पारिवारिक विरासत नभएका शीर्ष नेताहरूलाई पनि जनताले रुचाउन छोडेको बताउँछन्। भन्छन्, ‘शीर्ष नेताहरूले वडा तहमै पनि पार्टीको विरासत जोगाउन सकेनन्। त्यो जनताले दिएको दण्ड हो।’
लोसपाका मधेस प्रदेश अध्यक्षसमेत रहेका पूर्वमन्त्री जितेन्द्र सोनारले पैतृक गाउँ परवानीपुर गाउँपालिका–३ जोगाउन सकेनन्। एमालेले वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पनि जितेको छ। मधेस प्रदेशका सभामुख सरोजकुमार यादवको गृहनगर सिम्रौनगढको वडा नम्बर ३ मा कांग्रेसले जितेको छ।
नागरिक अभियन्ता श्रेष्ठ शीर्ष नेताहरूको पारिवारिक मात्र नभई क्षेत्रगत विरासत पनि भत्कन सुरु गरेको बताउँछन्। लेखक नेपालका अनुसार भारत, नेपाल लगायत दक्षिण एसियामै विरासतको राजनीति अप्ठेरो अवस्थामा छ। जवाहरलाल नेहरूले भारतमा विरासतको राजनीति गरे। भारतमा सोनिया गान्धिले छोरा राहुललाई अघि बढाउँदा पार्टी नै संकटमा छ।
कांग्रेसबाट विरासतको राजनीति सुरु भएको मानिन्छ। बीपी कोइरालाका तीन छोरामध्ये जेठा प्रकाश र महिला श्रीहर्ष राजनीतिमा छैनन्। कान्छा छोरा डा. शशांक पनि राजनीतिक दौडमा पछि परेका छन्। बीपीका साईंला भाइ केशवका पुत्र शेखर र कान्छा भाइ गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता सक्रिय देखिन्छन्। सुजाता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी हुन्। ७२ वर्षीय शेखर पार्टीमा नेतृत्वको दौडमा पछि परेका छन्। पार्टीको केन्द्रीय समितिसम्म पुगेकी नोना कोइरालाका पुत्रका रूपमा उनले पनि राजनीतिक विरासत थाम्न प्रयास गरेका छन्। डा. शशांकका जेठा दाजु प्रकाशका छोरा सिद्धार्थ पनि राजनीतिमा स्पेश खोजे पनि सफल भएनन्। कोइराला परिवारको लिगेसी राजनीतिकबाट विस्तारै ओझेल पर्दै गएको छ।
राजतन्त्रमा राजाबाट छोरामा शासन सत्ता हस्तान्तरण भए झैं लोकतन्त्रमा पनि शीर्ष नेताहरूले राजनीतिक विरासत सन्तानमा सार्न खोजेको पाइन्छ। नेपालमा कोइराला परिवारलाई विरासतको राजनीति गरेको आरोप लाग्छ। कोइराला परिवारका डा. शेखर कोइराला सभापतिमा, सुजाता कोइरालालाई विरासतको राजनीति गर्ने नेताहरूका रूपमा चित्रण गरिन्छ। त्यस्तै गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह सक्रिय छन् ।
कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काकी पत्नी शिला खड्का, प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन यादव पनि केन्द्रीय समस्यमा सीमित भए। पत्रकार÷लेखक नेपाल भन्छन्, ‘स्थानीय चुनावले विरासतको राजनीतिलाई अझैं चुनौती दिइहालेको छैन।’
प्रतिक्रिया दिनुहोस !