ठूला नेताले गृहपालिकामा आफ्नो पार्टीलाई नै हराए
गोरखा : विशेष काम परेमा मात्र केन्द्रमा आउने, अन्यथा आफ्नै पालिका र वडामा सघन चुनावी अभियानमा लाग्न शीर्ष नेताहरुलाई पार्टी केन्द्रको निर्देशन थियो। निर्देशन अनुसार नेताहरु डाक्टर बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु साताव्यापी चुनावी अभियानमा घुँडा धसेर लागेका थिए। अन्ततः परिणाम विपरीत आयो। जिल्लाका सबै ठूला नेताहरुले गृहपालिका र वडामा पार्टीलाई जिताउन सकेनन्।
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले पालुङ्टार नगरपालिकामा पार्टीलाई लज्जास्पद हार खुवाए। अर्का पूर्वउपप्रधानमन्त्री तथा माओवादी केन्द्रका शीर्ष नेता नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका र आफ्नै वडा वडा नं. ८ मासमेत माओवादीलाई असफल बनाए।
एमालेसित तालमेल गर्दा पनि भट्टराईले पालुङटार नगरपालिकामा चुके। त्यहाँ बिना तालमेल चुनाव लडेका माओवादी केन्द्रका उम्मेद्वार विवश चिन्तनले जसपाका उम्मेद्वारलाई भारी मतान्तरलेपछि पार्दै विजयी भए।
चिन्तनले सर्वाधिक ६,०७२ मत प्राप्त गरे भने नजिकका प्रतिस्पर्धी जसपाका उम्मेद्वार प्रेम गुरुङले ५,७१७ मत प्राप्त गरे। तेस्रो प्रतिस्पर्धी यसअघिका मेयर समेत रहेका कांग्रेसका उम्मेद्वार दीपकबाबु कँडेलले ४,९९७ मत प्राप्त गरेका थिए।
बाबुराम १० दिनअघिदेखि रातदिन चुनावी अभियानमा खटिएको पालुङटारको १० वटा वडामध्य जसपाले जम्मा तीनवटा वडा मात्र जीत हात पार्यो। गोरखाका अरु कुनै पनि पालिका र वडामा जसपाले जीत निकाल्न सकेन। विगत २५ वर्षदेखि श्रेष्ठको गृहगाउँ जौबारी जित्न नसकेको कांग्रेसले यसपटक जीत हात पार्यो।
झण्डै दुईसातादेखि नारायणकाजी श्रेष्ठ चुनावी अभियानमा खटिएको सिरानचोक गाउँपालिकाको नेतृत्व नेपाली कांग्रेसका उम्मेद्वार ज्ञानेन्द्र गुरुङले हात पारे। ५,४०३ मत प्राप्त गरी उनले श्रेष्ठका उम्मेद्वार नवराज पुडासैनीलाई पछाडि पारेका हुन्। पुडासैनीले ४,१६८ प्राप्त गरेका थिए।
उपाध्यक्षमा पनि कांग्रेसकी रीता देवकोटाले ४,८०४ मत प्राप्त गरी माओवादीकी पूर्णकुमारी ढकाललाई पराजित गरिन्। ढकालले ३,९०२ मत मात्र प्राप्त गरेकी थिइन्।
त्यस्तै नेता श्रेष्ठको गृहवडा सिरानचोक ८ का नेपाली कांग्रेसका दलमान गुरुङले जीत हात पारेका छन्। गुरुङले ७१६ मत प्राप्त गरे भने श्रेष्ठका उम्मेद्वार नेकपा माओवादीका दीपक श्रेष्ठले ६६९ मत प्राप्त गरे। श्रेष्ठको गृहगाउँ जौबारीमा कांग्रेसले २५ वर्षपछि अहिले जितेको हो। माओवादीले सो पालिकामा जम्मा तीनवटा वडा मात्र जित्न सफल भएको छ।
त्यस्तै माओवादीका प्रभावशाली नेता तथा पूर्वस्थानीय विकास मन्त्री हितराज पाण्डेको वडामा माओवादी पराजित भएको छ। त्यहाँ नेपाली कांग्रेसका चेतबहादुर गुरुङले ७३० मत प्राप्त गरी विजय हाँसिल गरेका छन्। पाण्डेका उम्मेद्वार कमला विक ३९१ मत प्राप्त गरी तेस्रो स्थानमा छिन्।
त्यस्तै माओवादीका अर्का केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इञ्चार्ज कृष्ण धितालको गृहवडामा माओवादी पराजित भएको छ। भीमसेन थापा गाउँपालिका वडा नं. २ मा कांग्रेसका नारायणप्रसाद भट्टराईले ७५२ मत ल्याई विजयी भएका छन् भने धितालका उम्मेद्वार शेषनाथ भट्टराईले ४८४ मत मात्र प्राप्त गरेका छन्। त्यस्तै केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लेखबहादुर थापाको गृहवडा गोरखा नगरपालिकामा पनि माओवादीको हार भएको छ। त्यहाँ नेपाली कांग्रेसका रहमतुल्ला मियाँले ५७६ मत ल्याई विजयी भएका छन्। थापाका उम्मेद्वार जियाउर रहमान मियाँले २९२ मत ल्याई तेस्रो स्थानमा पुगे।
कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका विपक्षी दलका पूर्व नेता सुरेन्द्रराज पाण्डेले पनि आफ्नो गृहनगर र गृहवडा जिताउन असफल भएका छन्। पालुङ्टार नगरपालिका नेकपा माओवादीका विवश चिन्तनले जीत हात पारेका हुन्। पालुंटार १ मा पाण्डेका उम्मेद्वार रेशमबहादुर थापालाई जसपाका उम्मेद्वार कृष्णबहादुर परियारले १४० मतले हराएका हुन्। सो वडा यसअघिको चुनावमा पनि पाण्डेले कांग्रेसलाई जिताउन सकेका थिएनन्।
त्यस्तै कांग्रेसका अर्का केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठको गृहवडा आरुघाट गाउँपालिका वडा नं. ९ मा कांग्रेस हारेको छ। यसअघिको चुनावमा पनि उनका उम्मेद्वारले जित्न सकेको थिएन। सो वडामा दुवैपटक माओवादीले जीत हात पारेको छ।
कांग्रेसकी केन्द्रीय सदस्य कमला पन्तले पनि यो चुनावमा आफ्नो पालिका र वडा जिताउन असफल भएकी छन्। जन्मस्थान रहेको गण्डकी गाउँपालिका र गृहवडा वडापनि माओवादीले जितेको छ। उनी मतदाता रहेको अजीरकोट गाउँपालिका र वडामा पनि कांग्रेसलाई जिताउन सकिनन्। अजीरकोट गाउँपालिका र वडा नं. १ मा माओवादीले नै जीत हाँसिल गरेको छ।
एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेत र अर्की केन्द्रीय सदस्य सम्झना देवकोटाको गृहनगर गोरखा नगरपालिकामा एमालेले पराजय खेपेको छ। आफै मेयरको उम्मेद्वार रहेको सो नगरपालिकामा माओवादीले जीत हात पार्यो। देवकोटा तेस्रो स्थानमा पुगिन्।
परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालले पनि गृहपालिका र गृहवडा दुवैमा पार्टीलाई जिताउन सकेनन्। उनको घर रहेको भीमसेनथापा गाउँपालिका र वडा नं. ८ दुवैमा माओवादी केन्द्रले जीत हात पारेको हो। सो पार्टीका महामन्त्री प्रकाश थापाले पनि आफ्नो पालिका र वडा दुवैमा पार्टीलाई जिताउन सकेनन्। उनको घर रहेको सहिदलखन गाउँपालिकामा माओवादी केन्द्र र वडा नं. ८ मा नेपाली कांग्रेसले जीत हात पारेको छ।
प्रतिक्रिया दिनुहोस !