तीन दशकपछि एमाले पराजित भएको हेटौंडामा गठबन्धनको र्याली (फोटो फिचर)
हेटौंडा : नेकपा एमालेले ३० वर्षपछि हेटौंडा उपमहानगरपालिकाको नेतृत्व गुमाएको छ। २०४९ सालदेखि हेटौंडाको मेयर र उपमेयर जित्दै आएको एमालेले २०७९ को निर्वाचनबाट भने दुबै पद गुमाएको हो।
एमालेतको विरासत भत्काएपछि गठबन्धन दलले हेटौंडामा विजय र्याली निकालेको छ। हेटौंडाको वन विज्ञान अध्ययन संस्थान अगाडिबाट निस्किएको र्याली नगर परिक्रमा गर्दै सीमा चोकमा आएर सभामा परिणत भएको थियो। सभालाई गठबन्धन दल नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य कुमारी मोक्तान, नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने, नवनिर्वाचित मेयर मिना लामालगायतले सम्बोधन गरेका थिए।
एमालेका उम्मेदवार अनन्त पौडेललाई दुई हजार १६७ मतले पछि पार्दै गठबन्धन दल एकीकृत समाजवादीकी लामा मेयरमा निर्वाचित भएकी हुन्। लामाले २३ हजार ७५ मत ल्याउँदा निकतम प्रतिस्पर्धी एमालेका अनन्तप्रसाद पौडेलले २० हजार ९०८ मत प्राप्त गरे। त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५३१ मत प्राप्त गरे।
उपमेयरमा कांग्रेसका राजेश बानियाँ ३२ हजार ५९३ मतसहित विजयी भए। एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०९ र राप्रपाकी इन्दिरा न्यौपानले पाँच हजार ४८३ मत पाइन्।
मकवानपुरको दश स्थानीय तहमध्ये कांग्रेसले पाँच पालिका प्रमुख र चार पालिका उपप्रमुख, एमालेले दुई पालिका प्रमुख र एक उपप्रमुख जितेको छ। माओवादी केन्द्रले दुई पालिका प्रमुख र पाँच पालिका उपप्रमुख र एकीकृत समाजवादीले एक पालिका प्रमुख जितेको छ।