रसुवागढी नाकाबाट खाद्य सामग्रीको आयात घट्यो
रसुवा : रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्रीको आयात घटेको छ। सरकारले लेटर अफ क्रेडिट स्याम्पल(एलसी) प्रणाली लागू गरेपछि रसुवागढी नाकाबाट अन्य सामग्रीको साथै चिनियाँ खाद्य सामग्रीको आयात पनि घटेको हो।
चालु आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्म खाद्य सामग्रीको आयातमा वृद्धि हुँदै गएको भएपनि बैशाखमा निकै कम भएको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले जनाएको छ। गएको बैशाख महिनामा ७ टन चिनियाँ मसला मात्र आएको छ।
कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को ९ महिनाको तुलनामा यसपटक आयात बढेको थियो। तर १० औं महिनामा आएपछि आयात घट्यो।
चालु आर्थिक वर्षको साउनदेखि बैशाख मसान्तसम्ममा ३ सय २० टन खाद्य सामग्री आयात भएको कार्यालयको तथ्यांक छ। नाकाबाट सबैभन्दा बढी फल तथा सागपातजन्य सामग्रीको आयात बढी भएको छ। फूल तथा सागपातजन्य ९२.१० टन, खाद्यान्न दलहन तथा अन्य ३७.२ टन, मसलाजन्य १४.९३, मासुजन्य २५.०८, दुधजन्य ८.१५, चिया तथा कफीजन्य ३८.४५ टन, माछाको अचार १४.४ टन र बदाम, सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा लगायतका ७७.१४ टन खाद्य सामग्री आयात भएको कार्यालयले जनाएको छ।
चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल आदि सामग्रीको आयात हुने गरेको छ।
नाकाबाट पछिल्लो समय चिनियाँ खाद्य सामग्रीको आयात घटेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताए। चीनबाट आउने खाद्य सामग्री नेपालमा बस्ने चिनियाँले नै प्रयोग गर्छन।
बैशाखमा नमुना परीक्षण पनि घट्यो
रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढ्दै गएकोमा गत बैशाखमा भने घटेको छ। कार्यालयका अनुसार साउनदेखि बैशाख मसान्तसम्ममा कार्यालयले २ सय ९८ थान खाद्य सामग्रीको नुमना परीक्षण गरेको छ।
गत वर्ष एक वर्षमा २ सय ३ थान सामग्रीको मात्र परीक्षण भएको थियो। कार्यालयले साउनमा ३१, भदौमा २८, असोजमा ३५, कार्तिकमा ६, मंसिरमा २८, पुसमा २५, माघमा ४६ र फागुनमा ७१ थान खाद्य सामग्रीको नमुना परीक्षण गरेको हो। गत आर्थिक वर्ष २०७७/७८ मा २ सय ७ टन चिनियाँ खाद्य सामग्री आयात भएको कार्यालयको तथ्यांक छ।
कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !