चुम्चेतका १९० घरमा बल्यो विजुली
गोरखा : दुर्गम उत्तरी गाउँबस्तीमा उज्यालो अभियान सञ्चालन गरिरहेको कादुरी एग्रिकल्चरल एड एसोसिएशन ब्रिटिस गोर्खाज् नेपालले चुमनुब्री गाउँपालिका-६ को १९० घरधुरीमा विजुली बत्ती सेवा प्रदान गरेको छ।
चीनको सीमानामा रहेको सो वडाका विभिन्न गाउँबस्तीमा चुम्लिङ, चुम्चेत लघुजलविद्युत आयोजनाबाट ७० किलोवाट क्षमताको विद्युत उत्पादन गरी घरघरमा विजुली बत्ती उपलब्ध गराएको हो।
आयोजनाको शुक्रबार एक समारोहकाबीच उद्घाटन गरिएको छ। चुमनुब्री गाउँपालिकाका प्रमुख निमा लामा र कादुरी संस्थाका निर्देशक डाक्टर नारायण गुरुङले आयोजनाको उद्घाटन गरेका हुन्।
चुम्चेत खोला(ताम्जाखोला) उत्पादित सो विजुली वडाभित्रका चुम्चेत, चुम्लिङ, सिप्चेत, थारोङ, ताज्यू, डुम्जे, रेञ्जम, घो, यार्चो र खारगुम्बा १९० घरधुरीमा वितरण गरिएको वडाअध्यक्ष सरोज लामाले जानकारी दिए।
विजुली बत्ती पाएपछि गाउँलेहरु खुशी भएका उनले बताए। बत्ती बाल्न पाउने, कुटानी, पिसानी मिल चलाउन पाइने तथा अन्य विभिन्न काममा विद्युत उपयोग गर्न पाइने भन्दै गाउँले खुशी भएका उनले बताए।
लघु जलविद्युत आयोजना उद्घाटन समारोहमा कादुरीका निर्देशक डाक्टर नारायण गुरुङले स्थानीय सिद्धगणेश आधारभूत विद्यालयलाई एकथान कम्प्यूटर, प्रिण्टर तथा फोटोकपी मेसिन प्रदान गरेका थिए। सो संस्थाको कोषबाट स्थानीय अति विपन्न तीनजनालाई रु १५ हजार का दरले आर्थिक सहायता प्रदान गरेका थिए।
कार्यक्रममा बोल्दै कादुरीका निर्देशक डाक्टर नारायण गुरुङले कादुरीले प्राय सबै गाउँबस्तीमा विद्युत सेवा प्रदान गरेको भन्दै अब बाँकी रहेका साम्दो, ड्याङ र राना गाउँमा पनि सेवा विस्तार गर्ने जनाएका थिए।
चुमनुब्री गाउँपालिकाको प्राय सबै टोलमा विद्युत सेवा उपलब्ध गराएको भन्दै गाउँपालिकाका अध्यक्ष निमा लामाले कादुरी संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए। उज्यालो चुमुनुब्री गाउँपालिका अभियानमा कादुरीको योगदान अतुलनीय रहेको साथै विभिन्न खोला, नदीमा झोलुंगे पुल बनाउने काममा पनि कादुरीको सहयोग अद्वितीय रहेको भन्दै अध्यक्ष लामाले संस्थाप्रति आभार व्यक्त गरेका थिए।
गत मंसीरबाट सुरु गरिएको सो आयोजना निर्माणको काम छ महिनापछि हालै सम्पन्न भएको वडाअध्यक्ष लामाले बताए। ती गाउँबस्तीका लागि यसअघि १५ किलोवाट क्षमताको विद्युत उत्पादन गरिएको थियो। सो विद्युत अपुग भएपछि हालै थप क्षमताको आयोजना सञ्चालन गरिएको वडाअध्यक्ष लामाले बताए।
प्रतिक्रिया दिनुहोस !