तारा एयरको जहाज दुर्घटनामा एकै परिवारका चारको मृत्यु भएपछि शोकमा डुब्यो गोरखाको तीनमानेभञ्ज्याङ
गोरखा : जोमसोमका लागि उडेको तारा एयरको दुर्घटनाग्रस्त विमानमा आफ्नो गाउँका गणेशनारायण श्रेष्ठको परिवारका चारजनाको मृत्यु भएको खबरले सहिदलखन गाउँपालिका ५ को तीनमानेभञ्ज्याङ शोकमा डुबेको छ ।
आइतबार दुर्घटनामा परि उनीहरुको मृत्यु भएको सोमबार बिहान पुष्टि भएपछि गाउँलेको होसहवास उडेको छ । श्रेष्ठ परिवारले गाउँमा गरेको समाजसेवाको काम सम्झदै गाउँले झनै आकुलब्याकु भएको स्थानीय राजेश श्रेष्ठ बताउँछन् ।
खबर सुन्नासाथ आइतबारै गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, वडाअध्यक्ष यमबहादुर राना, श्रेष्ठका आफन्त केशर श्रेष्ठ र स्थानीय विजय पुडासैनीको टोली पोखरा पुगेका थिए । टोलीले घटनाको बारेमा राम्ररी बुझेर गाउँलेलाई जानकारी गराएका थिए ।
'गाउँका अभिभावक गुमाएको समाचारले हामी स्तब्ध भएका छौं, श्रेष्ठले भने, 'दुर्घटनाको खबर हिजै सुनेपनि पुष्टि नभएकाले उहाँहरुको दु:खद खबर नआओस् भन्ने प्रतीक्षामा थियौँ । अहिले दु:खको खबर आयो । गाउँलेहरु सबै स्तब्ध छन् ।
घटनामा ५२ वर्षका गणेशनारायण श्रेष्ठ, उनकी श्रीमती ४८ वर्षीया रश्मि श्रेष्ठ, दुई छोरीहरु २० वर्षीया रविना र २३ वर्षीया रोजिना श्रेष्ठको मृत्यु भएको छ ।
दुई छोरी अध्ययनको सिलसिलामा अमेरिकामा थिए । उनीहरु विदाका बेला गत वैशाख ३० गते नेपाल आएका थिए । छोरा रोशन भने अमेरिकामै थिए ।
रोजिना स्नातकोत्तर र पीएचडी अध्ययनका लागि पाँच वर्षअघि अमेरिका पुगेकी थिइन् । रविना नेपालमा ए–लेभलको अध्ययन सकेर थप अध्ययनका लागि एक वर्षअघि अमेरिका गएकी थिइन् ।
सफ्टवेयर इञ्जिनियरिङ पढेका श्रेष्ठको परिवार कामको सिलसिलामा २०४८ सालदेखि काठमाडौंमा थियो । ‘उहाँहरु पुतलीसडकमा रहेर सफ्टवेयर इञ्जिनियरिङको काम गर्दै आउनु भएको थियो,' स्थानीय विजय पुडासैनी भन्छन्, ‘बसोबास काठमाडौँमा भएपनि उहाँ निरन्तर गाउँमा आइरहनुहुन्थ्यो । गाउँलेलाई आवश्यक परेको सरसहयोग गरिरहनुहुन्थ्यो ।’ विशेषगरी गाउँका विद्यालयहरुमा श्रेष्ठ परिवारको सहयोग उल्लेखनीय छ।_20220530124659.jpg)
स्थानीय जलदेवी माध्यमिक विद्यालयमा श्रेष्ठको एकल सहयोगमा कम्प्युटर प्रयोगशाला बनाएको थियो । 'कम्प्युटरसम्बन्धी नै काम गर्ने भएकाले उहाँले २०७१ सालमा हाम्रो विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिदिनुभयो’, प्रधानाध्यापक वुद्धरत्न श्रेष्ठले भने, 'अनि विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माण गरिदिनु भएको छ ।'
विद्यालयमा आवश्यक परेको हरेक खालको सरसहयोग गर्ने गरेको प्रअ श्रेष्ठले बताए । ‘उहाँको बुवाको पालादेखि नै विद्यार्थीलाई छात्रवृत्ति दिँदै आउनु भएको थियो,'उनले भने, 'होस्टेलमा बस्ने विद्यार्थीलाई खानबस्न समस्या भयो भने पनि सहयोग गरिदिनुहुन्थ्यो । हाम्रो मात्र पनि होइन, दुर्गा प्रावि र चन्द्रकला प्राविलाई पनि कम्प्युटर, प्रिण्टरहरु सहयोग गर्नुभएको थियो ।'
अन्तिम पटकको भेटमा पनि विद्यालयलाई जुनसुकै समस्या परेमा नहिच्किचाइकन आफूलाई भन्न श्रेष्ठले अनुरोध गरेको प्रअ श्रेष्ठले बताए ।
‘राम्ररी पढ, म सहयोग गर्नेछु भनेको झल्को आइरहेको छ’
श्रेष्ठ दम्पत्ति केहीदिनअघि जेठ १३ गते लक्ष्मीबजारस्थित भतिजी सुस्मिताको घरमा आएका थिए । कुलायन पूजामा आएर फर्किँदा आफूलाई राम्ररी पढ्न आडभरोसा दिएर गएको सुस्मितालाई झल्को आइरकेको छ।
‘ठुलोड्याडी र ठूलोममी अस्तिभर्खर कुलायन पूजामा आउनु भएको थियो,' सुस्मिता भन्छिन्, 'फर्कने बेलामा हामीलाई गणेशको मूर्ति दिनुभयो । पूजा कोठामा राख, सधैं पूजा गर है भन्नुभयो ।'
अहिले ठूलोबुबाले दिएको मूर्तिमात्र आफ्नो साथमा रहेको भन्दै भक्कानिइन।
'ठूलोबुबाले दिनुभएको भनेर पूजा गर्न थालेको थिएँ । उहाँले दिएको मूर्तिले पूजाकोठा सजाइरहेको छ,' सुस्मिता भन्छिन्, ‘जानेबेलामा राम्ररी पढ, म काठमाडौँमा जागिर खोजिदिन्छु । आर्मीको सेकेण्ड लेप्टिनेन्टमा फर्म भर, म आफ्नो ठाउँबाट सकेको सहयोग गर्छु भन्नुभएको थियो । मेरो ड्याडीलाई पनि जागिर खानेभए काठमाडौँ आऊ भन्नुभएको थियो । उहाँले दिएको आश्वासन कानमा गुञ्जिरहेको छ ।’
गणेशनारायण श्रेष्ठ समाजसेवी थिए । गाउँलेको आड भरोशाका केन्द्रविन्दु थिए । काठमाडौं बसे पनि नियमित गाउँ आउने श्रेष्ठ परिवारले भूकम्पले भत्काएको गाउँको घर बनाउँदै थिए । ‘बुढाबूढी, सबैसित हाँसेर बोल्नुहुन्थ्यो । जसलाई जे सहयोग चाहिए पनि सहयोग गर्न तयार हुनुहुन्थ्यो,' स्थानीय राजेश श्रेष्ठ भन्छन्, 'हाम्रो भञ्ज्याङ युवाक्लवलाई निरन्तर सहयोग गरिरहनुहुन्थ्यो । नयाँ वर्षको दिनमा पनि गाउँमा आउनुभयो । गाउँलाई विकास गर्ने, विद्यालयलाई स्तरोन्नति गर्ने बारेमा विभिन्न योजनाहरु बनाउनुभएको थियो ।’दुर्घटनाको खबरले गाउँले शोकमा डुबेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !