बुहारीको सुपारीमा ससुरा र देवरको हत्या

बुहारीको सुपारीमा ससुरा र देवरको हत्या

सिरहा : अर्नमा गाउँपालिका- १ महनौरका चन्देश्वर पाल र उनका छोरा सन्तकुमार पालको हत्यामा चन्देश्वरकै बुहारी शान्तिदेवी पालको संग्लनता रहेको प्रहरी अनुसन्धानमा खुलेको छ।

बुहारी शान्तीले चन्देश्वरसँग व्यक्तिगत रिसिइबी रहेका बेचु पाललाई प्रयोग गरी घटना घटाएको प्रहरीले जनाएको छ।

जेठ ८ गते ६० वर्षीय चन्देश्वर र १९ वर्षीय सन्तको हत्या घरमा सुतिरहेकै अवस्थामा भएको थियो। सन्तको विहे हुनु तीन दिनअघि हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुवास बुढाथोकीकाअनुसार मृतकको परिवारसँगको रिसिइबीका कारण घटना भएको हालसम्मको अनुसन्धानमा देखिएको छ। अनुसन्धानको क्रममा तीन जना पक्राउ परेको उनले बताए।

पक्राउ पर्नेमा मृतकको बुहारी शान्तिदेवी, गोलबजार नगरपालिका ४ का ६५ वर्षीय बेचु पाल र अर्नमा गाउँपालिका १ का ४८ वर्षीय जनिफ मियाँ रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ। कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बुढाथोकीले बताए।

प्रहरीले घटनामा प्रयोग भएको खुकुरी र खुकुरी राखेको झोला, बेरेर राखेको लुंगि वारदातको बेलामा बेचुले लगाएको पाइन्ट तथा टिसर्ट (रगत लागेको) र मोबाईल ४ थान बरामद गरेको छ।

पानी पर्न थालेपछि हत्या भएको भेटियो

विहे नजिकिएको थियो। त्यो दिन घरमा विहे तयारी स्वरुप नाँचगान भइरहेको थियो। अबेर राति भएपछि गीत गाउने स्थानीयहरु घर फर्के। चन्देश्वर फुसको घरमा सुते। सन्तकुमार पक्की घरमा सुते। घटना करिब १२ देखि १:३० बजे राति भएको अनुसन्धानमा देखिएको छ।

२ बजेतिर पानी पर्न सुरु भयो। घर बाहिर भेडाको ऊन राखेको थियो। नभिजोस भनेर मृतक चन्देश्वरको पत्नी पवनीदेवी पालले छोरा र पतिलाई बोलाउन थालिन्। उनीहरु कोही नउठेपछि पवनी छोरा सुतेको कोठा खोल्न गइन्।

सन्तसँगै छिमेकी १२ वर्षीय पुरन पाल सुतेको थियो। उनी उठे। सन्तलाई मृत अवस्थामा फेला पारे। कोठाका चुकुल बाहिरबाट नै लागेको थियो। गल (खन्ती)ले ढोका फोडेर बाहिर आए। त्यसपछि पवनी पतिलाई उठाउन बाहिर गइन्। त्यसलाई पनि मृत अवस्थामा पाइन्। मृतकको टाउको, गर्दन, घाटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। पवनीले स्थानीय र प्रहरीलाई गुहार मागे।

बेचु र चन्देश्वरको रिसिइबी

मृतक सन्तको जेठ ११ गते मोरङ्ग निवासी युवतीसँग विवाह तय भएको थियो। उक्त विवाहको लागि केटी पक्षले केटा पक्षलाई दाइजो स्वरुप १ लाख नगद, एउटा मोटरसाइकल तथा ८ आना सुन दिने सहमति भएको थियो।

युवतीको सन्तसँग विवाह तय हुनुभन्दा पहिला गोलबजार बस्ने बेचु पालको छोरा प्रदीप पालसँग विवाह गर्ने तयारी भएको थियो। उक्त विवाहको लागि केटी पक्षले केटा पक्षलाई विराटनगरमा घडेरी दिने, उक्त घडेरीमा घर पनि बनाइदिने र केटाले कुनै व्यापार व्यवसाय गर्ने भएमा सो लागि लगानी पनि गरिदिने कुरा भएको थियो। पछि केटा (प्रदीप पाल)ले केटीको पहिला नै विवाह भएको कुरा थाहा पाएपछि केटीसँग विवाह नगर्ने बताए।

तर, उनको बुबा बेचु पालले ठूलो मात्राको दाइजोको लोभमा आफ्नो छोरालाई त्यही केटीसँग विवाह गर्नको लागि दबाब  दिइरहेका थिए। पछि मृतक सन्तकुमार पालसँग सोही केटीको थोरै दाइजोमा बिहेको कुरा मिलेकोले बेचु पाललाई मृतकको परिवारसँग रिसिइबी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बुहारी–ससुराको रिसिइबी

मृतकको साइला छोरा वैदेशिक रोजगारमा छन्। उनको पत्नी शान्तिदेवी पाल गोलबजारमा कोठा भाडामा लिएर बस्दै आएकी छन्। सासु ससुरासँग राम्रो सम्बन्ध थिएन। जेठ ११ गते तय भएको देवर सन्तको विहेमासमेत शान्तिलाई ‘तिमी आउनु पर्दैन, तिम्रो चरित्र राम्रो छैन, तिमी बिहेमा आयौ भने छिमेकीहरु हाम्रो घरमा आउँदैनन् त्यसैले तिमी विहेमा नआउनु तिम्रो बच्चाहरुलाई मात्र पठाउनु’ भनेर सासु/ससुराले भनेको उनले बताएकी छन्।

बुहारीलाई अंशसमेत नदिने, खर्च पनि नदिने र माइतीबाट ल्याएको चाँदीको गरगहनासमेत नदिएकोले शान्ति देवी पाललाई आफ्नै परिवारसँग रिसिइबी बढेको प्रहरी अनुसन्धानमा बताइएको छ।

यसरी बन्यो योजना

प्रहरीकाअनुसार जेठको पहिलो साता गोलबजारमा शान्तिदेवी र जनिफ मियाँबीच कुराकानी भइरहेको थियो। शान्तिदेवीको पतिले आफू विदेश जाने बेलामा पत्नीको रेखदेख गरिदिनू भनेका व्यक्ति हुन् जनिफ मियाँ। उनीहरु कुराकानी गरिरहेकै बेला चिनजानको बेचु पाल पुग्यो।

जनिफ मियाँले ‘शान्तिदेवीको सासु–ससुराले धेरै दुख दिदैँछ, यिनिहरुलाई शान्तिदेवीको बाटोबाट हटाउनु पर्‍यो, सो वापत शान्तिदेवीले ५० हजार रुपैंया दिन्छे, यो काम गर्नु पर्‍यो’ भनेपछि बेचु पालले आफ्नो रिसिइबी भएको कारण उक्त योजनामा सहमति जनाएको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रहरीकाअनुसार शान्तिदेवीले यो काम पुरा गरेपछि पैसा दिन्छु भनेपछि जनिफ मियाँ र बेचुपालले ७ गते शनिबार राति मृतकको घर छेउको मन्दिरमा भेट्ने र काम फत्ते गर्ने, हत्या गर्नको लागि जनिफ मियाँले बन्चरो ल्याउने र बेचु पालले खुकुरी लिएर जाने योजनासमेत बनाएको देखिएको छ।

गोलबजारबाट पैदलै हिडेर शनिबार अबेर साँझ बेचु पाल मृतकको घर अगाडिको बाटो हुँदै पहिला नै जनिफसँग भेट गर्ने तय भएको थियो। बेचु मन्दिरमा पुगे पनि जनिफ नभेटेकोले पुनः सोही बाटो फर्केर घटनास्थलको रेकी गर्दै घटनास्थलको पूर्वपट्टीको राजदेवी मन्दिरमा गएर केही समय आराम गरेका थिए। प्रहरी अनुसन्धानमा मृतकको घरको अगाडिबाट आवत जावत गर्दा बेचु पाललाई हातमा झोला लिएर हिडेको स्थानीयवासीले देखेका थिए।

मृतकको घरमा विहेको तयारी स्वरुप गीतहरु गाइरहेकोले भीडभाड रहेको हुँदा बेचुले केही समय मन्दिरमा आराम गरेर समय कटाएका थिए। गीत बज्न बन्द भएपश्वात बेचु मृतकको घरमा गई झोलामा ल्याएको खुकुरी प्रहार गरेर गोठमा सुतेको चन्देश्वरलाई पहिला र सन्तलाई पछि हत्या गरि कोठाहरुमा बाहिरबाट चुकुल लगाई घटनास्थलको पूर्वपट्टीको राजदेवी मन्दिर तर्फ गएका थिए। त्यहाँ हातमुख राम्रोसँग धोएर बालुवाले घोटेर खुकुरी पखालेका थिए। त्यहाँबाट पैदलै हिडेर बिहान गोलबजारस्थित आफ्नो घरमा पुगेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.