भैरहवाको फोहोर व्यवस्थापनका लागि मेयर सक्रिय
भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) का प्रमुख ईस्तियाक अहमद खाँन नगरको फोहोर व्यवस्थापनका लागि सक्रियताका साथ लागेका छन्।
नगरको फोहोर व्यवस्थापन नगरवासीका लागि ठुलो समस्या बनेको र व्यवस्थापन नहुदाँ नगरवासीले समय समयमा सास्ती समेत खेप्नु परेको छ। फोहोर व्यवस्थापन हुन नसक्दा नगरपालिकाले नगरको फोहोर खुल्ला रुपमा डण्डा नदी छेउमा फाल्ने गरेको छ।
‘ग्रिन, क्लिन र ईन्भोरमेन्ट फ्रेन्डली सिटी’ योजना अनुरुप हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित प्रमुख खाँनले पदभार ग्रहण लग्तै उनी फोहोर व्यवस्थापन र नगरको विकासमा लागेका हुन्।
पदभारग्रहण गरे लगत्तै उनले नगरको फोहोर व्यवस्थापनका लागि जर्मनको टोलीसगँ कार्यालयमै छलफल गरेका थिए।
नगरलाई ‘ग्रिन, क्लिन र ईन्भोरमेन्ट फ्रेन्डली सिटी’ बनाउनका लागि नगरको फोहोर व्यवस्थापन निकै आवश्यक छ’ नगर प्रमुख खाँनले भने, ‘फोहोर व्यवस्थापनको समस्या समाधान भए नगरलाई नमुना नगर बनाउन समय लाग्दैन।’उनले थपे–‘नगरको फोहोर व्यवस्थापन छिट्टै समाधान गर्ने कोशिसमा छु।’
योजना अनुरुप नगर प्रमुख खान नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनी सहितको टोलीको साथमा भक्तपुर जिल्लको मध्यपुर थिमी र काठमाण्डौँको गोर्कणेश्वर नगरपालिकाले गरेको फोहोर व्यवस्थापन लगायत संचालित योजनाहरुको अध्ययन र अवलोकन गरेका छन्।
‘मध्यपुर थिमी नगरपालिकामा फोहोरबाट मल बनाउने विधी र गोर्कणेश्वर नगरपालिकामा फोहोरलाई आगो लगाउने विधीको अवलोकन र जानकारी लियौँ’ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनीले भने, ‘अन्य स्थानमा पनि फोहोर व्यवस्थापनको विधी हेर्छौ, बुझ्छौँ त्यसपछि अन्तिममा सहज र उचित तरिकाले फोहोर व्यवस्थापन गर्नबारे निर्णय लिन्छौँ।’
नगरको विकास गर्न आवश्यक ठूला योजना र बजेटको लागि नगर प्रमुख खान काठमाडौंसहित विभिन्न स्थानमा अवलोकन र छलफल गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !