औतारी लामाका नयाँ अवतार

औतारी लामाका नयाँ अवतार

गोरखा : पढ्ने, पूजा गर्ने समय अघि–पछि उनी सखाहरूसित गुम्बाको पेटीमा खेलिरहेका भेटिन्छन्। आँगन वा कतै छेउकुनामा आफ्नै तालसुरमा मस्त पनि देखिन्छन्। बालसुलभ चकचक गर्छन्। जान अञ्जानमा बिज्याइँ पनि गर्छन्। कुनै बेला मोबाइलमा गेम खेल्छन्। 

हिनाङमा फोनको नेटवर्क भने छैन। त्यसैले फोटो खिच्न, गेम खेल्न मात्र मोबाइलको प्रयोग हुन्छ। बालवय न हो, दौतरीेहरूसित घचेटाघचेट, धकेलाधकेल पनि स्वाभाविक मान्नुपर्छ।  

जब गुम्बामा पूजा समय हुन्छ तब औपचारिक कार्यक्रमहरू हुन्छन्। लामा गुरुहरू उनको पाउमा पर्छन्। उनलाई खादा चढाउँछन्। दाम राखेर ढोग्छन्। आफूलाई चढाएको खादा ठूला लामा गुरुहरूले झैं उनी चढाउनेहरूलाई नै फर्काउँछन्। यस्ता दृश्यले सँगै खेलिरहेका साथीहरू जिल्ल पर्छन्। खेल्दा जे जस्ता व्यवहार भए पनि सखीहरू उनीसामु नतमस्तक भएर दर्शन गर्छन्।

उनी अर्थात् पासाङ ङिमा। उनी नुब्री हिनाङ पुङ्चे गुम्बामा बस्छन्। अहिले पासाङ ङिमाको उमेर १० वर्ष पुग्यो। जो लोपेन छेवाङ नोर्वु रिम्पोछेका अवतार हुन्। उनी यहाँ आएको दुई महिना मात्र भयो। 

एक वर्षअघि नुब्री हिनाङ पुङ्चे गुम्बामा सिक्किमस्थित देउराली गुम्बाका दोटुपछेन रिम्पोछको पत्र प्राप्त भयो। त्यसपछि यहाँका लामा गुरुहरू तीनछक्क परे। त्यसमा थानकोटको ङाग्युर ङिङ्मा मेमोरियल स्कुलमा अध्ययनरत पासाङ १६ वर्षअघि मृत्यु भएका नुब्री हिनाङ पुङ्चे गुम्बाका लोपेन छेवाङ नोर्बु रिम्पोछेको नयाँ अवतार हुन् भनेर लेखिएको थियो। 

‘उहाँ (पासाङ ङिमा) छेवाङ नुर्बु रिम्पोछेको अवतार हो भन्ने थाहा भएपछि हालसालै उहाँलाई यहाँ ल्याएका छौं’, गुम्बाका लोपेन लाक्पा नुर्बु लामा भन्छन्, ‘उहाँले यहाँ रहेका छेवाङ नुर्बु रिम्पोछेले प्रयोग गरेका ड्रम, बेल, माला, ढ्याङ्ग्रो, पुस्तकलगायत पूजामा प्रयोग हुने सामग्रीहरू यो मेरो हो भनेर प्रयोग गर्ने गर्नुहुन्छ। यहाँ आउनेबित्तिकै मेरी छोरी कन्छोक डोल्मा कहाँ छिन् भनेर सोध्नुभयो। अनि मैसुरमा छिन् भनेर जवाफ दिएपछि ए, अँ, अँ भन्नुभयो।’ 

पासाङ तीन वर्षको हुँदा आमा काल्तेन छ्योतमको निधन भएको थियो। त्यसपछि बुबा साम्डुप उनलाई मामा लाक्पा नुर्बुको संरक्षणमा छाडेर भारतको मैसुर गुम्बामा गए। साम्डुप र काल्तेन मैसुर गुम्बाका भिक्षु–भिक्षुणी थिए। उमेर पुगेपछि गुम्बाबाट बाहिर निस्किएर उनीहरूले बिहे गरेका थिए। गृहस्थी जीवन बिताउन गोरखाको चुमनुब्री गाउँपालिका २ स्यो गाउँमा आए। स्यो उनीहरूको पैत्रिक थलो थियो। तर, काल्तेनको मृत्युसँगै गृहस्थी जीवन नफापेको ठानेर तीन वर्षे पासाङ ङिमालाई मामाको काखमा छाडी साम्डुप फेरि मैसुर गुम्बामा गए।  

त्यसयता पासाङ थानकोट गुम्बास्थित ङाग्युर ङिङ्मा मेमोरियल आवासीय विद्यालयमा पढिरहेका थिए। जुन सरकारबाट मान्यताप्राप्त गुम्बा विद्यालय हो। त्यहाँ नेपाली, अंग्रेजी र तिब्बती भाषा (सम्बोता लिपि)मा पढाइ हुन्छ। 

एक वर्षअघि नुब्री हिनाङ पुङ्चे गुम्बामा सिक्किमस्थित देउराली गुम्बाका दोटुपछेन रिम्पोछको पत्र प्राप्त भयो। त्यसपछि यहाँका लामा गुरुहरू तीनछक्क परे। त्यसमा थानकोटको ङाग्युर ङिङ्मा मेमोरियल स्कुलमा अध्ययनरत पासाङ १६ वर्षअघि मृत्यु भएका नुब्री हिनाङ पुङ्चे गुम्बाका लोपेन छेवाङ नोर्बु रिम्पोछेको नयाँ अवतार हुन् भनेर लेखिएको थियो। 

गुम्बा पूजामा औतारी लामा पासाङ ङिमालाई सम्मानका साथ अघि लगाउँदै लामा गुरु। तस्बिर : शिव उप्रेती

तिब्बतबाट सिक्किम पुगेका दोटुपछेन रिम्पोछेलाई ङिङ्मापा सम्प्रदायका सबैभन्दा ठूला र शक्तिशाली गुरु मानिन्थ्यो। केही महिनाअघि उनको निधन भयो। सिक्किम देउराली गुम्बाको लेटरप्याड र छापमा पठाएको पत्रमा उनी छेवाङ नोर्बु रिम्पोछेको अवतार भन्ने प्रमाणित गरिएको प्रमाणपत्र पनि संलग्न थियो। त्यसको एक वर्षपछि हालसालै पासाङलाई गुम्बामा ल्याइएको हो। अहिले उनलाई लोपेन छेवाङ नोर्बु रिम्पोछेको आसनमा बसाइएको छ। हरेक वरीयता क्रममा उनलाई छेवाङ नोर्बु रिम्पोछेकै स्थान दिने गरिएको छ।

लोपेन छेवाङ नोर्बु रिम्पोछेको १६ वर्षअघि निधन भएको थियो। त्यसपछि गुम्बाले सबैभन्दा भरोसा गर्ने गरेको सिक्किमको देउराली गुम्बाका मुख्य लामालाई पत्राचार गरी नयाँ अवतार पहिचान गरिदिन अनुरोध गरेको थियो। ‘सोधेको तीन वर्षपछि रिम्पोछेबाट जवाफ आएको हो’, गुम्बाका लोपेन लाक्पा नुर्बु लामा भन्छन्। 

पासाङ ङिमामा बेला–बेला छेवाङ नुर्बु रिम्पोछेमा रहेको बानी छोटो समयका लागि देखापर्छ। ‘अरू बेला त साथीहरूसित खेलिरहनुहुन्छ। तर, बेला–बेला ३० सेकेन्डजति छेवाङ नुर्बु रिम्पोछेको बानी देखिन्छ’, लोपेन लाक्पा नुर्बु लामा भन्छन्, ‘छेवाङ नुर्बु रिम्पोछे हाम्रो नुब्री क्षेत्रको धेरै ठूलो लामा गुरु हो। अहिलेका धेरै रिम्पोछे, टुल्कु, खेन्पो, लोपेनहरू उहाँका चेला हुनुहुन्छ।’ रिम्पोछेले हिनाङस्थित एक गुफामा ३० बर्षसम्म ध्यान गरेको उनको भनाइ छ।

औतारी लामा के हो ?

नेपाली शब्दकोश र विकिपिडियामा औतारी लामाको अर्थ ‘इच्छाअनुसार जन्म लिने र अघिल्लो जन्मको कुरा जान्ने भनी लोकधारणाले मानेको तिब्बती धर्माचार्य’ भन्ने उल्लेख छ। बौद्ध धर्म संस्कृतिमा हिनायाना, महायाना र बज्रयाना गरी लामा गुरुलाई तीन प्रकारमा वर्गीकरण गर्ने गरिन्छ।

औतारी लामालाई सरकारले पहिचान दिएको छ। आधिकारिक संस्था गुम्बा विकास समितिले औतारी लामाको पहिचान गरी आफ्नो विनियममा औतारी लामाको काम कर्तव्य र अधिकारको सुनिश्चितता गरेको छ।

खेन्पो चुल्त्रिम तेन्तरका अनुसार हिनायाना सम्प्रदायमा तन, मन र वचनलाई प्राथमिकता दिइन्छ। यो सम्प्रदाय सुत्रमा विश्वास गर्छन्। हिनायानामा विवाह वा गृहस्थ जीवन बर्जित छ।
महायाना मन र चित्तमा आधारित छ। उनीहरू सुत्रमा विश्वास राख्छन्। यो सम्प्रदायमा बिहे गर्न अनुमति छ। बज्रयाना तन्त्रमा विश्वास राख्छन्। यस सम्प्रदायमा पनि बिहे गर्न अनुमति छ। गोरखाको नुब्री क्षेत्रमा ङिङ्मापा सम्प्रदायको बाहुल्य छ। 

खेन्पो चुल्त्रिम तेन्तर भन्छन्, ‘बौद्ध धर्म संस्कृतिमा अवतार अथवा पुनर्जन्मको गहिरो विश्वास छ। औतारी लामा भनेको दिवंगत भएका शक्तिशाली लामा गुरुहरू पुनर्जन्म भएर आएका लामा गुरु हुन्। पुनर्जन्म सबैको हुन्छ। शक्तिशाली लामा गुरुहरूको नयाँ अवतारको घनिभूत खोजी हुन्छ र पत्ता लाग्छ। अरू सामान्य व्यक्तिको खासै खोजी हुँदैन, त्यसैले पत्ता नलागेको हो।’ उनका अनुसार नयाँ अवतारले पूर्वजन्मको स्मरण गर्छन्। पूर्वजन्ममा प्रयोग गरेका सामग्रीको प्रयोग गर्छन्। पूर्वजन्मका आफन्तहरूको खोजी गर्छन्। 

औतारी लामालाई सरकारले पहिचान दिएको छ। आधिकारिक संस्था गुम्बा विकास समितिले औतारी लामाको पहिचान गरी आफ्नो विनियममा औतारी लामाको काम कर्तव्य र अधिकारको सुनिश्चितता गरेको छ। परम्परागत रुपमा गुम्बामा सञ्चालन हुने दैनिक वा चाडपर्वहरूमा गर्ने पूजापाठको निर्धारण गरी पूजापाठ, अभ्यास गर्ने र प्रशिक्षण दिने जिम्मेवारी औतारी लामाको हो भनेर समितिको विनियममा उल्लेख छ। 

त्यस्तै बौद्ध धर्म, संस्कृति, परम्पराको संरक्षण तथा संबद्र्धन गर्न बुद्ध जयन्ती, त्रिपिटिका पाठ र अन्य कार्यक्रमहरूको वार्षिक पात्रो तयार गरी संचालन गर्ने, अभिषेक (वाङ), आगम (लुङ) र व्यख्यान (ठि) प्रदान गर्ने गुरुको व्यवस्था गर्ने जिम्मेवारी तोकिएको छ। गुम्बाको भौतिक पूर्वाधार निर्माणमा बौद्ध कला र संस्कृति झल्काउने र आवश्यक पूजापाठको सामाग्री खरिद गर्न कार्य समितिमा सल्लाहकारको भूमिका निर्वाह गर्ने, बौद्ध धर्मको परम्पराअनुसार समुदायमा पर्ने जन्म–न्वारन, मृत्यु–फोवा लगायत अन्य पूजापाठ गर्ने वा व्यवस्था गर्ने, नव प्रवेश गरेको विद्यार्थीहरूलाई आवश्यक प्रवज्या, शिल दिनेवा आवश्यक शिल दिने गुरुको व्यवस्था गर्ने लगायतका जिम्मेवारी विनियममा औतारी लामाको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.