बाढीले जेठमै बगायो ३५ सय रोपनी खेत

बाढीले जेठमै बगायो ३५ सय रोपनी खेत

गोरखा : पालुङटार–९ का चक्रबहादुर लामाको साठीमुरे खेत तीन वर्षअघि साउन ५ गते चुक्ती खोलाको बाढीले बगर बनायो। हिउँदभरि मोहियाहरू (सँधियार) मिलेर अमिन झिकाई खोलाघर छुट्ट्याए। मोहियाको साँधसीमा छुट्याए। एस्काभेटर लगाई खोलालाई आफ्नै बाटोमा लगाए। तारजाली लगाएर छेकबार गरे। यति गर्दा १ लाख रुपैयाँ खर्च भयो। मेसिन लगाएर जग्गा सम्याए र रोपाइँ गरे। रोपाइँकै राति अर्थात् गत असार १६ गते घनघोर वर्षा भयो। खेत फेरि बगर पल्ट्यो। फेरि हिउँदभर बगरलाई खेत बनाए। रोपाइँको तयारी थियो। तर, यसपटक पनि जेठ २७ गतेको बाढीले खेत फेरि बगर बन्यो। 

खोलाले लगातार तीन वर्ष दुःख दिएपछि निराश छन्। भन्छन्, ‘परिवार पालौँला भनेर दुःख गरी कमाएको पैसाले खेत किनेको थिएँ। तर, खोलाले झम्टेको झम्टै गर्‍यो। किसानले दुःख गरेर खान्छुभन्दा पनि पाइएन।’
पालुङटार–९ छबिसेफाँटकी शोभाकान्छी तामाङको यो सिजनमा १५ मुरी चैते (जुडी) धान भित्र्याउने सोच थियो। बाह्रैमास पानी लाग्ने तीन रोपनी खेतले उनको चार जनाको परिवारलाई ६ महिना खान पुग्ने उब्जनी दिन्थ्यो। तर, साहूबाट बन्धकीमा लिएको खेत बिहीबार रातिकै बाढीले बगर बनाइदिएको छ। धानका बाला झुलेका बेला खोला पसेकाले परिवार पाल्ने सपना पनि उजाड भएको छ।

अहिले न उनको खेतको साँधसीमा चिनिन्छ न बाँधकुलोको नाम निशाना छ। ‘अहिलेसमेत तीन वर्ष भयो। मैले यो खेतबाट एक दानो भित्र्याउन सकेको छैन’, तामाङ भन्छिन्, ‘दसनंग्रा खियाएर खान्छुभन्दा पनि दुःखीको दुःख माटोमै मिल्यो।’ 

हरिराम परियारले अर्काको जग्गामा अधियाँ गरेर साठीमुरे फाँटमै २५ मुरी धान फलाउँथे। तर, दुई वर्ष भयो रोपेको खेत बगर पल्टिएको। अहिले त रोपाइँ गर्न नपाउँदै खेत लगिदियो। ‘बीउ पैँचो खोजेर ब्याड राखेको थिएँ। तर, रोपाइँ गर्न नपाउँदै खेत लगिदियो। अब पैँचो तिर्ने उपाय पनि छैन’, परियार भन्छन्, ‘खोलाले हामी किसानीको टाउको उठाउनै दिएन। हामी निमुखा किसानको दुःख हेर्न न सरकार आउँछ न भोट हालेर जितेर गएकाहरू आउँछन्।’ 

कुनै सरकारबाट राहत नपाएको उनको गुनासो छ। ‘खेत–खेतै खोला हिँडेको छ’, उनी भन्छन्, ‘अब खोला घटेपछि खेत रोपूँ भने जेठमै यस्तो भयो। असार, साउन सिँगै बाँकी छ। फेरि बाढी नआउला भन्न सकिँदैन।’
खेत रोप्न राखेको ब्याड पनि बाढीले सिनित्तै बगाएपछि अब खेत रोप्न नसकिने पालुङटार–९ का सयौं किसानको दुखेसो छ। ‘अनेक दुःख गरेर बाँधकुलो बनाइयो। तर, अहिले नाम निसाना छैन’, खड्गबहादुर राना भन्छन्, ‘तीन वर्ष भयो। सरकारको २६ लाख रुपैयाँ खर्च गरेर यो बाँधकुलो बनाउन थालेको, तीनै बर्ष बगाएको बगायै छ। अब जोश, जाँगर पनि मर्‍यो।’ सो बाँधकुलोबाट सिँचाइ हुने करिब ३ हजार रोपनी जग्गा यो वर्ष बाँझै रहने चिन्ता उनको छ। 

गत बिहीबार रातिको बाढीले पालुङटार–९ को खहरेखोलाबाट बिर्दीसम्म विभिन्न फाँटका हजारौं रोपनी खेत बगाएर सखाप छ। भित्र्याउने बेला भएको जुडी धान र मकै लगाइएको फाँट उराठलाग्दो बगर बनेको छ। रोपाइँ गर्ने तयारी गरिएको खेत फेरि रोपाइँ गर्न नमिल्ने गरी ढुंगामुढाले ढाकिएको छ। कतै खोलाको कटानले खण्डहर बनेको छ। 

‘हामीलाई दुई–चार बोरा चामल राहत चाहिएको छैन’, सेराफाँटका खुतराज अधिकारी भन्छन्, ‘उब्जनी गरेर खाने खेत जोगाइदिए हुन्थ्यो।’ तीन वर्षदेखि बाढीले झम्टीझम्टी सखाप भएको खेत सरकारले तटबन्ध गरी जोगाइदिनुपर्ने उनको अनुरोध छ। 

खहरेखोलाबाट बिर्दीसम्म ३ हजार ५ सय रोपनीभन्दा धेरै खेत बगर बनेको वडाध्यक्ष भेजराज पाण्डे बताउँछन्। बिर्दी र शेरा बजार खोला कटानले जोखिममा छ। एक दर्जन घर उच्च जोखिममा छन्। ‘हामीले तथ्यांक संकलन गर्दै छौं। किसानलाई ठूलो क्षति पुगेको छ। हरेक वर्ष एउटै समस्याले दुःख दियो’, वडाध्यक्ष पाण्डे भन्छन्, ‘नगरपालिका, प्रदेश र संघ सरकारले तटबन्ध गर्न पहल गर्नुपर्ने हो।’ वडा कार्यालयले सडक, खानेपानी र बिजुली खुलाएको उनको भनाइ छ।  

जिल्ला विपत् व्यवस्थापन समिति, कृषि ज्ञानकेन्द्र, नगरपालिका तथा संघ, प्रदेशका जनप्रतिनिधि किसानको दुःख समस्यामा सान्त्वना दिनसम्म नआएको गुनासो स्थानीयवासीले गरेका छन्। उक्त खोलामा तटबन्ध गर्न तीन वर्षअघि पालुङटार नगरपालिकाले प्रारम्भिक सर्वेक्षण गरेको थियो। त्यसका लागि करिब १६ करोड लागत लाग्ने अनुमान गरिएको वडाध्यक्ष पाण्डेको भनाइ छ। ‘हामीले स्रोत जुटाउन एउटा समिति बनाएर संघ र प्रदेश सरकारसम्म अनुरोध गरेका थियौं। तर, आजसम्म कतैबाट पनि सम्बोधन भएको छैन’, उनी भन्छन्।

पुल बगे, बजार जोखिममा

चुक्ती खोलामा गत बिहीबार राति आएको बाढीले अँबुवा सेरा सडकको बिर्दीनेर मोटरेबल पुल बगाएको छ। त्यस्तै तल्लोसेरा र माथिल्लो सेरा आवतजावत गर्ने मोटरेबल पुल, सेरा फेदी जोड्ने पुल र सेरा पौवाटार खण्डको खहरेखोला पुल पनि बगाएको वडा सदस्य अमृतबहादुर नगरकोटीको भनाइ छ। अहिले यी सबै ठाउँमा खोलाबाट जोखिम मोलेर स्थानीयवासी आउजाउ गरिरहेका छन्। 
ठाउँ–ठाउँको पुल बगेपछि चार दिनदेखि सो क्षेत्रमा यातायात सेवा ठप्प छ। पैदल यात्रु पनि  जोखिम मलेर खोला तर्न बाध्य छन्। पानी बढेका बेला आउजाउ बन्द हुने गरेको त्रिवेणी माविका प्रधानाध्यापक गणेशराज 
सेढाइँ बताउँछन्। 

चुक्ती खोला र खार खोलामा पुल नहुँदा विद्यार्थी विद्यालय जानबाट वञ्चित छन्। बिर्दिबाट त्रिवेणी मावि, मदनेडाँडा मावि र धर्मोदय मावि पढ्न जाने करिब ४ सय विद्यार्थी यी दुई खोला बढेपछि पठनपाठनबाट बञ्चित हुने गरेका शिक्षकहरू बताउँछन्। ‘पानी पर्न थालेपछि विद्यार्थी मात्र होइन, शिक्षक पनि विद्यालय आउन सक्नुहुन्न’, सेढाईँ भन्छन्, ‘ठाउँठाउँमा पक्की पुल अनिवार्य आवश्यकता छ।’

बाढी र पहिरोले स्थानीय भवदत्त लामिछाने, राममाया कुँबर, बद्री सेढाईँको परिवार विस्थापित भएका छन्। भरत सेढाईँ, घननाथ सेढाईँ, मिठु सेढाईँ, टंकबहादुर अधिकारी, सम्झना लामा, लिप्चा लामा, सुनसिङ लामाको घर उच्च जोखिममा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.