पर्साको कालिकामाई गाँउपालिकामा अख्तियारको टोली, उजुरी परेका योजनाको छानबिन गर्दै

वीरगन्ज : पर्साको कालिकामाई गाउँपालिका विरुद्ध परेको उजुरीहरु बारे छानबिन गर्न बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली गाँउपालिकामा पुगेको छ। गाउँपालिका कार्यालय र वडा कार्यालय मार्फत निर्माण भएका साना पुल, ढलान सडक र नालाको निर्माण कार्यविरुद्ध परेका उजुरीहरु बारे छानबिन गर्न बुधबार अख्तियारको टोली गाँउपालिकामा पुगेको अख्तियारको क्षेत्रीय कार्यालय हेटौडाका सुचना अधिकारी विष्णुप्रसाद सोपकोटाले जानकारी दिए।
पुल, ढलान सडक, नाला निर्माण लगायतका स–साना योजनाबारे परेका उजुरीहरुको छानबिन गर्न अख्तियारका शाखा अधिकृत गोपाल शर्मा नेतृत्वको टोलीले पालिकामा पुगेको सापकोटाले बताए। प्राविधिकसहित पुगेको टोलीले उजुरी परेका योजनाहरुको फाइल लिएर निर्माणस्थलमै पुगेर स्थलगत निरीक्षण गरिरहेको जानकारी उनले दिए।
गत आर्थिक वर्षमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहको पालामा कालिकामाई गाउँपालिका वडा नम्बर ३ हरिहपुरमा निर्माण भएको पुल र सडक ढलानको स्थलगत निरीक्षण गरिएको छ। वडा नम्बर ३ को पुल ४० लाख रुपैयाँको लागतमा ठेक्दार कम्पनी मार्फत निर्माण भएको थियो।
प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहकै पालामा यसअघि पनि विपत व्यवस्थापनको रकम लगायतको योजनामा भएको हिनामिनाको सम्बन्धमा अख्तियारको टोलीले गाउँकार्यपालिका कार्यालयमा पुगेर दुई दिनसम्म छानविन गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
