भेडेटारका होटलमा खाद्य स्वच्छता स्तरको स्टिकर
धनकुटा : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले पर्यटकीय क्षेत्रका होटलहरुमा खाद्य स्वच्छता स्तरको स्टिकर टाँस गरेको छ ।
भेडेटार, नमस्ते झरना, नाम्जे लगायत स्थानका होटलहरुमा स्थलगत रुपमा अनुगमन गरि खाद्य स्वच्छता स्तरको स्टिकर टाँस गरेको हो ।
कार्यालयले दिएको जानकारी अनुसार ५० प्रकारका मापदण्ड बनाई त्यसको पालनाको आधारमा पहिलो चरणमा ३७ वटा होटलमा स्टिकर टाँस गरिएको थियो ।
होटल तथा रेष्टुरेन्ट स्तरीकरणसम्बन्धी निर्देशिका २०७४ बमोजिम खाद्य स्वच्छता स्तरलाई अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चार भागमा विभाजन गरिएको कार्यालयका प्रमुख अनुप हलवाईले बताए ।
अनुगमनको क्रममा ५ वटा उत्तम, २१ वटा सन्तोषजनक र ११ वटा सामान्य स्तरको मापदण्द पूरा गरेको भेटिएको थियो ।
अतिउत्तम मापदण्ड पूरा गरेको होटल भने एउटा पनि भेटिएको थिएन ।
अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, साँगुरीगढी गाउँपालिका, इलाका प्रहरी कार्यालय भेडेटार, होटल एसोसिएसन अफ भेडेटार, व्यवसायी, उपभोक्ता र पत्रकारको टोलिले अनुगमन गरेको जानकारी दिए।
साँगुरीगढी गाउँपालिक अध्यक्ष जितेन्द्र राईले यस्ता अनुगमन निरन्तर हुनुपर्ने बताए । सरकारी निकाय हुने अनुगमनले सुधारको मौका मिल्नेछ । सरकारी निकायबाट भएका यस्ता अनुगमनले आफूहरुलाई समेत सुधार गर्दै जानका लागि ज्ञान र हौसला मिलेको होटल व्यवसायीहरु बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले आगामी दिनमा समेत नियमित अनुगमन गर्ने खाद्य निरिक्षक सुशिल कोइरालाले बताए ।
खाद्य स्वच्छताको ५० प्रकारको मापदण्डको आधारमा प्राप्तांक ९० भन्दा बढि आएमा ३ तारा सहित अति उत्तम लेखिएको हरियो स्टिकर, प्राप्तांक ८० देखि ८९ आएमा दुई तारा सहित उत्तम लेखिएको हरियो स्टिकर, प्राप्तांक ६५ देखि ७९ आएमा एक तारा सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर र प्राप्तांक ५० देखि ६४ आएमा सामान्य लेखिएको पँहेलो स्टिकर टाँस गर्ने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !