एमालेको २० बुँदे संकल्प : सदाचारमा नमुना बन्ने

एमालेको २० बुँदे संकल्प : सदाचारमा नमुना बन्ने

काठमाडौं : नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिको काठमाडौंमा भएको भेलाले ‘सदाचारमा नमुना बन्ने’ लगायतका २० बुँदे संकल्प प्रस्ताव जारी गरेको छ। बिहीबार र शुक्रबार भएको भेलाबाट जारी काठमाडौं संकल्पपत्र पारित गर्दै उनीहरूले परिवार, आफन्त र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण नगर्ने बताएका छन्। संकल्पको मुख्य मर्म ‘शासक होइन, जनताका सेवक हुने’ भन्ने छ। 

‘हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमुना बन्नेछन्,’ संकल्प प्रस्तावमा भनिएको छ, ‘आफूले कुनै भ्रष्टाचार गर्ने छैनौं र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछौं।’ भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहनमा संलग्नहरूलाई कानुनी कार्बाहीको दायरामा पुर्‍याउन अग्रणी भूमिका खेल्ने पनि जनप्रतिनिधिको घोषणा छ।

समाजमा व्याप्त कुरीति, कुसंस्कार, रुढी र सामाजिक विकृतिविरुद्धको अभियानमा अग्रपंक्तिमा उभिएर सामाजिक–सांस्कृतिक रूपान्तरणको अगुवाइ गर्दै समाजको विकास, असल मूल्य, मान्यता र संस्कार स्थापित गर्न भूमिका खेल्ने उनीहरूको संकल्प छ। पारदर्शिता, जनताप्रतिको जवाफदेहिता, विधिको शासन र सुशासनमा विश्वास गर्दै आम सरोकारका सबै सूचनालाई पारदर्शी र सबैको पहुँचमा राख्ने घोषणा एमालेका जनप्रतिनिधिले गरेका छन्। ‘सेवाग्राहीलाई सहज, छरितो र सुलभ सेवा पुर्याउनु हाम्रो कर्तव्य हुनेछ। यसका लागि सेवा प्रवाहलाई प्रविधिमैत्री, बिना झन्झटिलो र पारदर्शी बनाउन लागिरहनेछौं। कुनै गुनासो आएमा सकारात्मक रूपमा लिएर तत्काल सम्बोधन गर्नेछौं,’ संकल्प प्रस्तावमा भनिएको छ। 

बेरुजु समयमै फस्र्योट गर्ने र जनताबाट प्राप्त हुने सबै प्रकारका राजस्वको पूर्ण एवं प्रभावकारी सदुपयोग गर्ने संकल्पको बुँदामा उल्लेख छ। पूर्वाधार निर्माणका काम गर्दा वातावरणको संरक्षण र सन्तुलनलाई गम्भीर ध्यान दिने उनीहरूको घोषणा छ। प्राकृतिक स्रोतको संरक्षण, ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक धरोहर, मौलिक कला, संस्कृति र असल परम्पराहरू एवं जनताको सामूहिक सम्पदाका रूपमा रहेका क्षेत्रहरूको संरक्षण र संवद्र्धनमा संवेदनशील बन्ने एमालेको संकल्प छ। ‘पालिकाभित्र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनेछौं, आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गर्नेछौं, खानेपानी, सरसफाइ तथा वातावरण संरक्षण सुनिश्चित गर्नेछौं र नागरिकका मौलिक अधिकार कार्यान्वयनमा अग्रणी भूमिका खेल्नेछौं।’ संकल्पमा उल्लेख छ। 

पालिकालाई लैंगिक हिंसामुक्त बनाउन, जातीय विभेद र छुवाछूत अन्त्य गर्न, बालश्रम निर्मूल गर्न तथा सामाजिक सद्भाव, सांस्कृतिक सहचार्य एवं राष्ट्रिय एकताको जगलाई स्थानीय तहबाटै बलियो बनाउन भूमिका खेल्ने संकल्प प्रस्तावमा उल्लेख छ। ‘विकासको ढाँचालाई जनमुखी, सहभागितामूलक र दिगो बनाउनेछौं। योजना छनोट, कार्यान्वयन र अनुगमनमा स्थानीय समुदायको भूमिकालाई प्रवद्र्धन गर्नेछौं।’ 

संकल्प प्रस्तावमा उल्लेख छ। स्थानीय उत्पादनको संवद्र्धन र प्रवद्र्धन गर्ने, समाजमा परिश्रमी, आत्मनिर्भर र राष्ट्रिय पुँजी निर्माणको प्रवृत्तिलाई प्रोत्साहन गर्ने, बचत गर्ने संस्कृतिलाई अभिप्रेरित गर्ने संकल्प प्रस्तावमा उल्लेख छ। सरकारी सवारी साधन, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढंगले र सार्वजनिक हितमा प्रयोग गर्ने घोषणा पनि एमालेका जनप्रतिनिधिले गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.