साहित्यिक चस्मामा दार्चुला दृष्य
भन्नु नपर्ला, विश्वले नियालेको छ यतिबेला
‘सिमाना मेरो सिउँदो !’ शीर्षकमा तत्कालीन परिवेशमा लेखेको थिएँ एउटा कविता। जतिबेला सुदूर भनिएको दार्चुलाका यी ठाउँ भौतिक रूपमा मेरा लागि दुर्गम नै थिए। दार्चुला टेक्ने र दार्चुला डेडलाइनमा लेख्ने कल्पनासम्म थिएन। तर, २०७९ जेठ १३–१४ को दार्चुला बृहत् साहित्य महोत्सवले यसलाई साकार पारेको थियो। जसरी डेढ वर्षअघि किसनसिंह धामीले अमेरिकामा गरेको परिकल्पना उनकै जन्म जिल्ला दार्चुलामा साकार भइरहेको थियो, ठीक त्यसैगरी डेढ वर्षअघि (कोभिड–१९) लेखिएको यो कविता उनकै सोचअनुसारको महोत्सवमा दार्चुलाको खलंगा (नेपाल–भारत सिमाना)मै वाचन गरिरहेको थिएँ...
... यतिबेला, नेपालको जमिन बन्धक छ,
अंग्रेजीमा मात्र हाँस्ने र नाच्ने युवालाई मेरो प्रश्न,
‘डु यु नो, नेपाल इज इन ल्यान्ड कस्टडी नाउ ?’
विदेश पुगेर नेपाललाई माया गरिटोपल्ने युवालाई अर्को प्रश्न,
‘इज इट नट एन आउट स्ट्यान्डिङ इस्यु अफ नेपाल ?’...
‘संयोग’ शब्द पुनः एकपटक सार्थक भयो मेरो जीवनमा, मेची (झापा, गौरादह) को म महाकाली (दार्चुला, खलंगा) पुग्दा। वारि नेपालको दार्चुला, बीचमा साक्षी बनेर शताब्दीयौंदेखि बगिरहेको महाकाली नदी अनि ठीक पारिपट्टि भारतको धार्चुला। त्यहाँ पुगेर तातो रगतमा उर्लिएँ कवितामा। वाचन गरें, ‘१९५० को अपमानजनक सुगौली सन्धि, २०११ को सुस्ता आक्रमण र गुमेको ७० हजार हेक्टर जमिन। र, २०१८ ! त्यही मिति हो, जुन दिनदेखि आजसम्म भारतीय सेनाका बुटहरू छातीमा बुर्कुसी मार्दा रुन बाध्य हाम्रो कालापानी।’ थपें, ‘सुतुञ्जेल मात्र हो बाघ लास लाग्ने, जागेका नेपाली ‘ब्युँझा बाघ’ हुन्। हो, फेरि एकपटक ज्यानको बाजी राख्छौं, अनि फिर्ता गरेरै छोड्छौं : लिम्पियाधुरा, कालापानी र लिपुलेकको ३ सय ३५ वर्गकिलोमिटर जमिन, १ सय २६ जंगेपिलर र दसगजाहरू।’ भारतले सुनोस् अनि बुझोस् कि नेपाली ब्युँझा बाघ हुन् भनेर। त्यही भएर कवि हुनुको सार्थकतामा सीमा पुगेरै गर्जिएँ जसरी केही वर्षअघि राजधानीबाट गएका नेतासहितको टोली कालापानी पुगेर गर्जिएको थियो।
चिप्लिन सक्छ राष्ट्रियता
महोत्सवको उद्घाटन सत्र चलिरहेको थियो। राजधानीबाट पुगेको २२ जनाको जम्बो साहित्यिक टोली महोत्सव भव्य बनाउँदै थियो। विभिन्न जातजाति आआफ्ना झाँकी र नृत्य प्रस्तुत गरिरहेका थिए। ‘जति उडौं आकाशमा... आफ्नै धरा प्यारो लाग्छ’ कार्यक्रम सञ्चालक यादव भट्टराईले यसरी कार्यक्रम सुरु गरेका थिए। यसबीच स्थानीय स्रष्टा अमरसिंह बडाल स्टेजमा उक्लिए र बाँड्न थाले राजधानीका स्रष्टाहरूलाई आफ्नो पुस्तक ‘चिप्लिन सक्छ राष्ट्रियता’। उमेरले पाका अर्थात् २००० साले उनले औपचारिक शिक्षा कक्षा ८ भएको पुस्तकमा पाएँ। सर्जक बनेर गरेका उनका सिर्जना पढ्दा लाग्यो, उनी विद्यावारिधि प्राप्त छन्।
खुम्चिँदै छन् साँध सिमाना
उखेलिँदै छन् पिलरहरू
टुलुटुलु हेरी बसिरहेका
राष्ट्रियताका डिलरहरू।
अन्याय सहनु जानीबुझी
कस्तो हो यो बाध्यता !
जानी नसक्नु छ यो रहस्य
चिप्लिन सक्छ यो राष्ट्रियता...।
महोत्सवको विशेष कवि गोष्ठीमा स्थानीय कविहरू मिचिएको सिमानाविरुद्ध आक्रामक ढंगले प्रस्तुत भए। केशवदत्त बडूले कवितामा देशको मुहार चित्रण गरे भने राजेश क्षेत्रीले गजलमा रोएका जनताको कथा वाचे। गोष्ठीका सभापति किशोर पहाडीले भने, ‘दार्चुला भन्नासाथ राष्ट्रियताका कुरा आउँछन्। मनमा काँडा पलाउँछन्। आज वाचित थुप्रै कवितामा राष्ट्रियता र सिमानाका सन्दर्भ आएका छन्। यसले कवि राष्ट्रियता र बचेको सीमा जोगाउन तत्पर छ भन्ने स्पष्ट देखिन्छ।’ निकै लामो माथापिच्चीपछि गत वर्ष नेपाल सरकारले दार्चुलामा पर्ने लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नेपालको चुच्चे नक्सा जारी गरेको छ। कमै नेपाली होलान्, यी तीन ठाउँको नाम नसुन्ने तर धेरै नेपाली होलान्, यी ठाउँ दार्चुलामा पर्छन् भनेर थाहा नपाउने। हो, दार्चुलावासी सीमा रक्षार्थ आजसम्म तैनाथ छन्। मातृभूमिको माटो रक्षार्थ ज्यानको बाजी थाप्ने दार्चुलावासीलाई नमन, सलाम।
लोपोन्मुख संस्कृति जोगाउने महोत्सव
‘दार्चुला बृहत् साहित्य महोत्सव’को श्रेय तारा–किसन फाउन्डेसन, अमेरिकालाई किन पनि विशेष रूपले जान्छ भने सम्भवतः एक जोडी साहित्यिक मनले गाँस कटाएर गरेको नेपालकै ठूलो साहित्यिक महोत्सव हो यो। महोत्सवलाई उद्घाटन सत्र र त्यसपछि कार्यपत्र सत्र, विशेष कविगोष्ठी, समूहगत विमर्श र अन्त्यमा समापन सत्रमा विभाजन गरिएको थियो। सदरमुकाम खलंगाको खुलामञ्चमा दर्शक दीर्घाका लागि पाल टाँगिएको थियो। बस्नका लागि तय गरिएका सयौं कुर्सीले त महोत्सवमा सहभागी आधालाई पनि बोक्न सकेनन्। खुला मञ्चको दायाँतर्फ रहेका पाँच स्टेप खुड्किला वारपार भरिएका थिए। तातेको सिमेन्टका खुड्किलामा चर्को घामको पर्वाह नगरी दिनभर उत्साहपूर्ण ढंगले महोत्सवमा सहभागी भएको पाइनु महोत्सवको खास रूप ठानें। कोही मञ्च घेरिएको पर्खालमा त कोही प्रवेश द्वारमा, कोही घरको छतमा त कोही रुखमाथि चढेर पनि महोत्सवमा ओइरिएका थिए साहित्यिक मनहरू। कतिसम्म भने, चामलका बोरा बोकेर बाटो हिँड्दै गरेकाहरू पनि प्रवेशद्वारबाट चिहाउँथे अनि पसिनाका धारा छुटाउँदै उभिएरै कार्यक्रम सुन्थे। के बालबालिका अनि के वृद्धवृद्धा, सहभागितामा देखिएको समावेशीपन स्वतस्फूर्त थियो। यी सबै दृष्य गज्जब र अविस्मरणीय लाग्थे।
दार्चुला बृहत् साहित्य महोत्सव २०७९ मा नृत्य प्रस्तुत गर्दै स्थानीय महिला ।
विद्यार्थीदेखि जिल्लाका विभिन्न जातिका सांस्कृतिक नृत्य र झाँकीले उद्घाटन सत्र विशेष र अविस्मरणीय बनायो। आयोजकको यो अवधारणा सबैलाई मनैदेखि जच्यो। छलिया नृत्य, गौरा नृत्य (सुदूरपश्चिमको विशेष चाड) प्रस्तुत गरियो। व्यास गाउँपालिवासीले देउडा नृत्य प्रस्तुत गरे। नाकको टुप्पोदेखि निधारसम्म ठाडो रातो टीका लगाएका महिला र युवतीले ‘संस्कृति जगायौं साथी सम्झना संस्कृति... क्या रमाइलो दार्चुलामै...’ बोलको गीतमा नृत्य गरेका थिए। दुहुँ गाउँपालिकाको तर्फबाट सरउँ नृत्य प्रस्तुत गरियो। फाउन्डेसनका सल्लाहकार किसनसिंह धामीले भने, ‘राज्यको आँखाबाट ओझेल परेको, राजधानीबाट कयौं कोस टाढा रहेको दार्चुलालाई भाषा, साहित्य, संस्कृति, कला र पर्यटनबाट विश्वमाझ चिनाउन सकिन्छ भनेर यो महोत्सवको आयोजना गरिएको हो। लोपोन्मुख यस्ता संस्कृति जगेर्नाको खाँचो छ, महोत्सवले यसतर्फ सबैलाई झक्झक्याएको छ। धेरै साहित्यिक महोत्सव सुगममा हुन्छन्, मैले कुनै दुर्गम ठाउँमा साहित्यकारहरूलाई लगेर गर्छु भनेर जन्मभूमि पनि भएकाले अन्ततः दार्चुलाको खलंगा नै रोजें।’
सुदूरपश्चिमको संस्कृति विश्वव्यापी हुनुपर्छ
वरिष्ठ नाट्यनिर्देशक अशेष मल्लले सुदूरपश्चिमको संस्कृति र प्रकृतिले नेपाल अनुपम बनेको बताउँदै भने, ‘राजनीतिले छिन्नभिन्न बनाएको नेपाललाई जोड्न यी संस्कृति र प्रकृतिले भूमिका खेलेका छन्। सुदूरपश्चिमको जस्तो संस्कृति विश्वमा कतै छैन। विविधतायुक्त नेपालका प्रकृति र संस्कृतिलाई विश्वव्यापी बनाउन सक्नुपर्छ। तर हामी मौन छौं।’ विशिष्ट अतिथि सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्माराज जोशीले कला, साहित्य, संस्कृतिलाई प्रवद्र्धन गर्न दार्चुला महोत्सवले अहम् भूमिका खेलेको बताए। भने, ‘संस्कृति र परम्पराको धनी दार्चुलाको हालको अवस्थालाई संरक्षण र प्रवद्र्धन गर्नुपर्छ। गर्न सकिरहेका छैनौं तर पनि यसलाई लोप हुन दिनु हुँदैन। सुदूरपश्चिम लोकसाहित्यको भण्डार हो। यी सबै विश्वजगत्लाई बुझाउन पाए नेपाल समृद्ध हुनेछ।’
प्रमुख अतिथि महाकालीका मेयर नरसिंह चैसिरले अंग्रेजीमा भने, ‘सेभ द कल्चर, सेभ द लिटेरेचर एन्ड दे सेभ आवर लाइफ।’ उनले थपे, ‘महोत्सवले दार्चुलाको भाषा, साहित्य र संस्कृतिसँगै परम्परा र जीवनशैलीसमेत उजागर गरेको छ अनि सुतिरहेको दार्चुलालाई जुरुक्क उठाएको छ।’ फाउन्डेसनकी संरक्षक अध्यक्ष तारा धामीले भनिन्, ‘जन्मभूमि दार्चुला धनी भएकै यहाँको संस्कृतिले हो।’
नेपाली साहित्यमा सुदूरपश्चिम
डा.अम्माराज जोशीले ‘सुदूरपश्चिमको सांस्कृतिक सम्पदा र नेपाली साहित्यमा सुदूरपश्चिम’ विषयक कार्यपत्र प्रस्तुत गरे। ‘सुदूरपश्चिम र कर्णाली क्षेत्रमा लोकसांस्कृतिक विविधता छ। खस भाषा र सभ्यताको केन्द्र हो। नेपाली भाषाको प्रयोग जुम्लाबाट सुरुआत भई कालीकर्णालीबाटै विकसित भयो। पूर्वतर्फ जाँदै गर्दा मानकीकरण र शुद्धीकरण हुँदै गयो। यहीँबाट लोकपरम्परा र लोकनाट्यको थालनी भयो। तर पनि अझै हामी भाषाको मानकको अन्तिम विन्दुमा पुगेका छैनौं।’
यो क्षेत्रमा दर्शनमा महत्त्वपूर्ण काम भएका छन्। जसमा खप्तडबाबा र जयपृथ्वीबहादुर सिंहको योगदान छ। सुदूरपश्चिमको मूल पहिचान लोकसाहित्य, लोकशिल्प, लोकभाषा र लोकसंस्कृति नै भएको निचोढ कार्यपत्रले निकालेको थियो। जसमा कुमाउ र गढवालको पनि भूमिका महत्त्वपूर्ण छ। उद्घाटनमा साहित्यकार यादव भट्टराईले भने, ‘मेचीमा उभिएर हेर्दा काली (महाकाली) सुदूर लाग्ला, कालीबाट हेर्दा मेची सुदूर लाग्छ।’ महोत्सवले सुदूरपश्चिमलाई सुदूर होइन सुन्दर पश्चिम भन्नु र बनाउनुपर्ने निचोड निकालेको थियो।
दार्चुलाको धार्मिक तथा पर्यटकीय सम्भावना
१२ ज्योतिर्लिंग नेपालमै पत्ता लागेका छन्। जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले केही वर्षअघि पूरै नेपालको पैदलयात्रा गर्ने क्रममा शास्त्रीय आधारमा पत्ता लगाएका थिए। जसमध्ये भारतको आन्ध्र प्रदेशमा पर्ने मल्लिकार्जुन र गुजरातमा पर्ने नागेश्वर नेपालको दार्चुलामा छन्। उपप्राध्यापक पदम बडालले कार्यपत्र प्रस्तुत गर्दै भने, ‘दार्चुलाका दर्जनौं शक्तिपीठहरूले पर्यटकलाई लोभ्याइरहेका छन्।
महाकाली नदीले छुट्याएका दुई देश । नदी दायाँ नेपालको दार्चुला र वायाँ भारतको धार्चुला ।
अपि हिमाल यहाँ छ। महाभारत र गुराँस पर्वत शृंखलाबीच ३६ वटा मैदान छन्। द ग्रेट हिमालयन ट्रेलको अन्तिम गन्तव्य पनि हो, दार्चुला। यहाँ २५ प्रजातिका स्तनधारी प्राणी र २ सय ४३ प्रजातिका चराचुरुंगी पाइन्छन्। सत्रका सभापति पवन आलोकले निचोढ निकाले, ‘दार्चुलाबारे थोरै सुनेका थियौं, धेरै बुझ्न पाइयो। हालसम्म राजनीतिक चस्माले मात्र हेरिएको दार्चुलालाई यो महोत्सवले साहित्यिक चस्मा पनि हेरेको छ।’
राजधानीका दृष्टिमा सुदूरपश्चिमको साहित्य
साहित्यलाई मोफसल, राजधानी र डायस्पोरा गरी तीन कित्तामा छुट्ट्याइएको चर्चा विमर्श सत्रमा भयो। नीलम कार्की निहारिकाले साहित्यलाई कित्तामा विभाजन गर्नुनपर्ने तर्क गर्दै घेराबन्दी गर्नु नहुने बताइन्। देवसिंह धामीले भने, ‘भौगोलिक दूरता, सामाजिक पछौटेपन र आर्थिक अवस्था मोफसलमा होला। राजधानीलाई मात्र दोष दिएर हुँदैन, राजधानीसँग समन्वय र सहकार्य गर्नुपर्छ।’ पुष्पराज जोशीको मत फरक रह्यो, ‘खाने मुखलाई जुँगाले छेक्दैन।’ ज्ञानू अधिकारीले भनिन्, ‘सुदूरपश्चिमबारे दुई खालका लेखक छन्, यहाँका लेखकले लेख्ने र अन्तैबाट सुदूरपश्चिम आएर यहाँका विषय र पात्र बनाएर लेख्ने। बाहिरबाट आउनेले अध्ययन गरेर लेख्ने हो, त्यसैले यहाँका कुरा यहाँ कैले लेखे बढी न्याय हुन्छ।’ महेशविक्रम शाहले भने, ‘साहित्यले जोड्ने हो, विभाजन गर्ने होइन। हामी साहित्यकार कुनै भूगोलका होइनौं, नेपालका हौं।’ डा.दामोदर पुडासैनीले भने, ‘लेखकको सोच, क्षमता र परिवेशमा फरक पर्न सक्छ। लेखनीमा आञ्चलिकता छ भने त्यो उत्कृष्ट हुन्छ। सामान्य मानिसले उत्कृष्ट साहित्य लेख्छन् भन्ने त जोन किट्स आदि उदाहरण नै छन् नि।’ अर्को सत्रमा ‘सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा यहाँको साहित्य र संस्कृतिको भूमिका’ विषयमा विमर्श गरियो।
प्रतियोगितामा विद्यार्थीका मन छुने कविता
अमेरिका छँदै किसनसिंह धामीले मेसेन्जरमा भनेका थिए, ‘भोलिका नेपाल आजका विद्यार्थी हुन्, तिनलाई सिर्जनात्मक बनाउनु छ। प्रोत्साहन गर्नु छ।’ महोत्सवमा जिल्लाका सरकारी विद्यालयबाट छनोट गरी तयार पारिएका कक्षा ९–१२ का १६ छात्रछात्राले प्रतियोगितामा कवितावाचन गरे। राजेन्द्र शलभ, गोपीकृष्ण ढुंगाना, जयदेव भट्टराई, विष्णुदत्त जोशी र धाना धामीको निर्णायक समूहले क्रमशः अस्मिता बोहरा, अमृता लोहार, बसन्ती बमलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो बनायो। राष्ट्र, राष्ट्रियता, दुर्गम÷विकट गाउँठाउँ, जीवनबारेका कविता सुन्दा विद्यार्थीभन्दा पाकेका स्रष्टा महसुस गराए, सबैको मन छुन बाध्य पारे। धामीले क्रमशः १०, सात र पाँच हजारले पुरस्कृत गरे भने सहभागी १३ लाई तीन हजारका दरले प्रोत्साहन गरे।
लिपुलेक, कालापानी र लिम्पियाधुरा। कमै नेपाली होलान्, यी तीन ठाउँको नाम नसुन्ने। तर धेरै नेपाली होलान्, यी ठाउँ दार्चुलामा पर्छन् भनेर थाहा नपाउने।
राजधानीबाट चलचित्र निर्देशक राजेन्द्र शलभ, गोरखापत्रका पूर्वप्रधानसम्पादक श्रीओम श्रेष्ठ रोदन, नेपाल स्रष्टा समाजका पूर्वअध्यक्ष पवन आलोक, नेपाल सरकारका पूर्वसहसचिव डा. दामोदर पुडासैनी, उपन्यास समाजका अध्यक्ष शंकर भारती, पूर्वडीआईजी महेशविक्रम शाह, फाउन्डेसनका सल्लाहकार किसनसिंह धामी र संरक्षक अध्यक्ष तारा धामी, अन्नपूर्ण पोस्ट्मा फुर्सद परिशिष्टांकसमेत हेर्ने ओपेड एन्ड एडिटोरियल रिलेसन्स संयोजक गोपीकृष्ण ढुंगाना, मदन पुरस्कार विजेता निलम कार्की निहारिका, साहित्यकारका सुखदुःख बाँड्ने साथी ‘शब्दपथ’का सञ्चालक किशोर पहाडी, सञ्चारकर्मी व्याकुल पाठक, मधुपर्कका सम्पादक जयदेव भट्टराई, समालोचक ज्ञानू अधिकारी, साहित्यकारद्वय सन्ध्या पहाडी र गीता कार्की महोत्सवमा पुगे। महोत्सवमा दार्चुला साहित्य समाजका अध्यक्ष नरेन्द्रसिंह बडाल र लोकेन्द्रबहादुर बमको संयुक्त मुक्तक संग्रह ‘छुटेका यादहरू’ र फाउन्डेसनका धामीको अंग्रेजी कृति ‘एटलान्टिक’को विमोचन गरियो।
प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले महोत्सवमा प्रस्तुत साहित्य र संस्कृति सीमित दायरामा राख्न नहुने बताए। डोटी क्याम्पसका प्रमुख डिलानन्द जोशीले देश नष्ट गर्ने भए कला, साहित्य र संस्कृति नष्ट गरे हुने बताउँदै भने, ‘होइन भने भाषा, साहित्य, कला र संस्कृतिको यसरी नै जगेर्ना गरौं, देश समृद्ध बन्छ। महोत्सवले देश समृद्ध बनाउने इँट थपेको छ।’
पाँचबुँदे घोषणापत्रमा दार्चुला
महोत्सवले प्रा.डा. अम्माराज जोशीको संयोजकत्वमा प्राडाद्वय खगेन्द्रप्रसाद लुइटेल र लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, डा. हरिश्चन्द्र भट्ट, गोपीकृष्ण ढुंगाना र धाना धामी सदस्य रहेको समितिले तयार पारेको पाँचबुँदे घोषणापत्र सार्वजनिक गरेको थियो। जसमा सुदूरपश्चिम क्षेत्रमा प्रचलित लोकसाहित्य, कला र संस्कृति संरक्षण, संवद्र्धन, अध्ययन र अनुसन्धानका लागि सुदूरपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम प्रदेश र दार्चुला जिल्लाका सबै नगर र गाउँपालिकासँग अनुरोध गर्ने उल्लेख छ।
यस क्षेत्रको पर्यटन विकास र विस्तारका लागि पर्यटन बोर्ड, सम्बद्ध स्थानीय निकायहरू र स्थानीय साहित्यिक संघसंस्थाहरूसँग समन्वय गरी आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने दोस्रो बुँदामा छ। तेस्रोमा राजधानीलगायत देशका विभिन्न स्थानका सर्जकहरूलाई आमन्त्रण गरी जिल्लाका सबै स्थानीय तह र साहित्यिक संघसंस्थाको संयोजनमा प्रत्येक वर्ष कम्तीमा एक पटक दार्चुलामा साहित्यिक उत्सव आयोजना गर्ने भनिएको छ। चौथोमा सुदूरपश्चिमाञ्चल क्षेत्रका सर्जकहरू तथा यस क्षेत्रका बारेमा अन्य भूगोलका सर्जकहरूले लेखेका रचनाहरूलाई अभिलेखीकरण गर्ने र पाँचौंमा दार्चुलाको भाषा, साहित्य, कला र संस्कृतिको अध्ययन र अनुसन्धानका लागि जिल्लाका सबै स्थानीय तहलाई एउटा एकाइ खडा गरी प्रत्येक वर्ष योजना र बजेट तय गर्न अनुरोध गर्ने उल्लेख छ।