सगरमाथा क्षेत्रमा हिमपहिरोको सकस
सोलुखुम्बु : पछिल्लो एक शताब्दीमा नेपालमा ६० वटा ठूला हिमपहिरो गए। धेरै सगरमाथा क्षेत्रमा नै गएको विभिन्न अध्ययनले देखाएको छ। हिमपहिरो कै कारण सगरमाथा क्षेत्रमा धेरै खाल्डा र खोल्सा देखिन थालेको पर्वतारोही ओङ्छु शेर्पा बताउँछन्। भन्छन्, ‘हिमनदी धेरै बनेका छन्। साना खोल्साको आकार बढेको छ। हिमपहिरो जुनसुकै समयमा पनि गइरहन थाल्यो। आधारशिविरमा खाल्डै, खाल्डा छन्।’
जलवायु परिवर्तन र मानवीय गतिविधिका कारण सर्वोच्च शिखर सगरमाथामा हिमपहिरो जाने क्रम बढेको तर्क गर्छन्, पर्वतारोही र विज्ञहरू। विभिन्न समयमा सगरमाथा क्षेत्र पुगेका पर्वतारोही ओङ्छु शेर्पा हिमपहिरोका कारण सगरमाथा क्षेत्रमा अस्वाभाविक परिवर्तन भएको बताउँछन्। ‘हिउँ पग्लिदै गएर आधार शिविरको बीचमा रहेको एउटा खोल्सो वर्षैपिच्छे ‘अस्वाभाविक’ रूपमा बढ्दै गएको छ,’ शेर्पाले भने, ‘केही वर्ष पहिले निकै सानो थियो। तर, आजभोलि त खोल्सो बढेर विशाल देखिन्छ। अन्य नयाँ खोल्सा पनि धेरै छन्।’
हिमनदीहरू पातलिँदै तीव्र गतिमा बहने र अस्थिर बन्न थालेका छन्। त्यसैकारण, आरोहीहरू बास बस्ने आधारशिविर क्षेत्रमा खाल्डो पर्ने समस्या पनि देखिन थालेको छ। वैज्ञानिकहरूका अनुसार विश्वव्यापी तापमान वृद्धिका कारण सगरमाथा र ल्होत्से हिमालको बीचमा बग्ने खुम्बु हिमनदी पनि तीव्र गतिमा पग्लिएको र खिइरहेको छ।
हिमपहिरोकै कारण एक शताब्दीमा ३ सय ७२ जनाले ज्यान गुमाएको विभिन्न तथ्यले पुष्टि गर्छ। यसमा हिमाल आरोहण गर्न गएका मात्रै परेका छैनन्, आधार क्षेत्रको अवलोकन गर्न पुग्ने र त्यस क्षेत्रका नागरिक पनि यसको चपेटमा परेका छन्। सरकारी एवं गैरसरकारी सरोकारवाला निकायले तयार पारेको तथ्यांकको आधारमा ‘ग्लासिकल हाजार्ड एन्ड एभलेचेज इन हाई माउन्टेन अफ नेपाल हिमालय’ नामक अनुसन्धानमूलक आलेखमा जलवायु परिवर्तनले गर्दा पछिल्ला दशकहरूमा हिमपहिरोको जोखिम बढेको उल्लेख छ। उक्त आलेखमा भनिएको छ, ‘सगरमाथामा समस्या थपिएको छ। हिमपहिरो बढ्यो यसको कारण मानवीय र जलवायु परिवर्तन नै हो।’ उक्त आलेखमा आरोही र विज्ञ पनि सहमत छन्।
‘सगरमाथामा हिउँ फाटेको दृश्य पहिलेभन्दा झन् बढ्दै छ,’ आरोही ओङ्छु शेर्पाले भने, ‘सगरमाथामा हिउँ पग्लदै गएको, हिमालहरू पहाड र चट्टानमा परिणत भएको देखेर विदेशीहरू चिन्ता व्यक्त गर्छन्। हामी नेपाललाई मतलब छैन। सबैले एक पटक गम्भीर भएर सोच्ने बेला आइसकेको छ।’ हिमाली क्षेत्रमा देखिएको यस्तो अस्वाभाविक परिवर्तनले सबैभन्दा धेरै समस्या सगरमाथाको तल्लो क्षेत्रमा बस्ने नागरिकलाई छ। ‘कुन समय कहाँको खोल्सा बढ्छ वा हिमपहिरो खसेर विनाश मच्चाउँछ थाहा छैन,’ शेर्पा भन्छन्, ‘आरोही र पर्यटक त निश्चित सिजनमा आउने हुन्, स्थानीयलाई सधैं समस्या छ।
जोखिम बढेपछि आधारशिविर सारिँदै
हिमनदीले यस क्षेत्रका खोला, खोल्सा मात्रै परिवर्तन गरेन, आधारशिविरको अवस्थालाई पनि खलबल्याएको छ। आधारशिविरमा खाल्डा र खोल्सा देखिएपछि ठाउँ नै परिवर्तन गर्नुपर्ने अवस्था आएको छ। सरकारले पनि अहिले भएको स्थानको विकल्प खोजेको छ। अहिले भएको स्थानभन्दा केही तल यसको विकल्पमा आधारशिविर बनाइने सरकारले जनाएको छ।
पर्यटन विभागका अनुसार हाल खुम्बु हिमनदी छेउमा अवस्थित आधार शिविरमा मानवीय गतिविधि बढ्दा हिमनदी तीव्र गतिमा पातलिँदै गएकाले आधारशिविरको विकल्प खोज्नु परेको हो। ‘मानवीय गतिविधिका कारण सगरमाथाको असुरक्षा बढेको छ। आधारशिविर तल सारे हिमनदी झर्ने क्रम केही रोकिएलाकी भन्ने हाम्रो अपेक्षा हो,’ विभागका महानिर्देशक तारानाथ अधिकारी भन्छन्। अहिलेको भन्दा २ सयदेखि ४ सय मिटर तल अर्थात् बाह्रै महिना हिउँ नहुने स्थानमा सार्ने तयारी भइरहेको उनको भनाइ छ। ‘आधारशिविर सार्दा सम्भावित असर वा फाइदाबारे अध्ययन गरिसकेका छौं,’ अधिकारी भन्छन्, ‘यो हिउँ नहुने ठाउँमा हुनुपर्ने रहेछ भन्ने अध्ययनको निष्कर्ष पनि आयो र त्यसलाई पनि हामी कार्यान्वयन गर्छौं।’
आधारशिविरमा मानवीय सहायताका लागि पुगेको हेलिकप्टर ।
सगरमाथाको आधार शिविर ५ हजार ३ सय ६४ मिटर उचाइमा छ। पर्वतारोहणको मौसममा आधार शिविरमा झन्डै १ हजार ५ सय जना भेला हुन्छन््। मानवीय क्रियाकलाप बाक्लिँदा तापमानमा वृद्धि हुन गई त्यहाँको हिउँ बढी मात्रामा पग्लिने जानकारहरू बताउँछन्।
किन जान्छ हिमपहिरो ?
हिमपहिरो अहिले मात्रै गएको होइन। यो प्राकृतिक र मानवीय दुवै कारण जान्छ। हिमाली क्षेत्रमा मानव क्रियाकलाप बढ्नुअघि बेलामौका जाने हिमपहिरोको तालिका आजकल भने फेरिएको छ। कारण मानवीय चहलपहल।
- नेपालमा एक शताब्दीमा ६० वटा ठूला हिमपहिरो गए। जसमा परी ३७२ ले ज्यान गुमाए।
- हिमनदीहरू पातलिँदै तीव्र गतिमा बहने र अस्थिर बन्ने क्रम बढ्दो छ। खोल्सा बढेर हिमनदी बन्दैछन्।
- हिमपहिरो बढ्नुको मुख्य कारण मानवीय गतिविधि र जलवायु परिवर्तन।
- आधार शिविरमा मानवीय गतिविधि बढ्दा खाल्डा पर्ने क्रम बढ्दो।
- जोखिम बढेपछि अहिलेको भन्दा २ सयदेखि ४ सय मिटर तल आधार शिविर सार्ने सरकारको तयारी।
बढी हिमपात हुने र हावाले गति परिवर्तन गर्दा पनि हिमपहिरो जाने गर्छ। यसबाहेक विभिन्न विकासे कामले हिमालमा कम्पन उत्पन्न गर्ने एवं मानवीय गतिविधि बढ्दै जाँदा पनि हिमपहिरोको जोखिम बढ्ने गरेको जानकारहरू बताउँछन्। क्यानडाको सिमोन फ्राजर विश्वविद्यालयले गरेको एक अध्ययनले हिमपहिरो जानुमा मुख्यतयाः ७ वटा कारण जिम्मेवार रहेको देखाएको छ। जसमध्ये एउटा हो हिमआँधी एवं हावाको गति। हिमपहिरोको दोस्रो कारण उच्च हिमपात हो। कमजोर ठाउँमा बढी मात्रामा हिमपात हुनु पनि हिमपहिरोको कारण रहेको विश्वविद्यालयको रिपोर्टमा उल्लेख छ।
विश्वविद्यालयको रिपोर्टअनुसार मानवीय गतिविधि, तरंग एवं हिउँको तहले पनि हिमपहिरोलाई प्रभावित बनाउँछ। यसबाहेक भिरालो ठाउँ तथा बढी तापक्रम पनि हिमपहिरो जाने कारण रहेको विश्वविद्यालयको रिपोर्टमा उल्लेख छ।
आधारशिविरको अवस्था
आधारशिविरमा पहिले धेरै हिउँ हुन्थ्यो। त्यही हिउँलाई पन्छाएर आरोही बस्थे। तर, अहिले आधारशिवरमा धेरै खाल्डा छन्। अनुसन्धानकर्ता भन्छन्, ‘यहाँ मानवीय गतिविधि बाक्लिएकाले सुतेको र टेन्ट टाँगिएका स्थान भासिएका छन्। खाल्डा परेका छन्।’ यहाँको हिउँ पग्लेर बग्ने पानीले पनि हिमनदीलाई अस्थिर बनाएको अनुसन्धानकर्ताहरू बताउँछन््। जसका कारण आरोहीहरू सुतेका बेला अझै धेरै खाल्डो पर्ने क्रम बढेको बताउँछन् पर्यटनविज्ञ कर्मा शेर्पा।
सगरमाथाको आधारशिविरमा आरोही र भरिया बस्नका लागि टाँगिएका टेन्ट ।
आरोहीले आफूले लगेका खानेकुरा तथा बन्दोबस्तीका सबै सामग्रीहरू आधारशिविरमै छोडेर फर्किने गरेका छन्। जसका कारण आधारशिविरमा फोहोरको मात्रा बढ्दै गएको र यसले पनि यहाँको तापमानमा असर गरेको शेर्पाको भनाइ छ। भन्छन्, ‘काठमाडौंबाट सगरमाथा आरोहणमा जानेले महँगा–महँगा बिस्कुट र चक्लेटदेखि धेरै प्रकारका इनर्जी फुडहरू प्रसस्त मात्रामा बोकेर जान्छन्। आरोहण सकिएपछि खानेकुराहरू र अरू सामग्री आधारशिरिमै त्यत्तिकै छोडेर फर्किन्छन््। यसको असर यस क्षेत्रको तापक्रममा पनि पर्दो रहेछ।’
आधारशिविरमा बढ्दै फोहोर
सगरमाथाको आधारशिविरमा फोहोरको मात्रा पनि बढ्दै गएको छ। सगरमाथा जाने र फर्कनेले आफूसँग भएको धेरै सामान यहीँ छाड्ने गरेका छन्। खानेकुरा र बन्दोबस्तीका सामग्री जभाथावी छोड्ने प्रवृत्तिले आधारशिविरमा फोहोरको थुप्रो बढ्दै गरेको पर्यटनविज्ञ कर्मा शेर्पा बताउँछन्। भन्छन्, ‘फोहोरले आधारशिविरको अवस्था चिन्ताजनक बन्दै छ। फोहोर एक भए पनि यसका असर अनेक देखिएका छन्।
नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले आधारशिविरमा धेरै पूर्वाधार बनाइएको बताए। ‘चिया पसल पनि थुप्रै छन््। केही होटलहरू छन््,’ उनले भने, ‘आरोहणको समयमा त करिब १ हजार ५ सय जना जति जम्मा भएर आधारशिविर पूरै भरिभराउ हुन्छ।’ एक जना आरोहीले कम्तीमा पनि ६÷७ जना भरिया वा सहयोगी लिएर आधारशिविर पुग्ने गरेको शेर्पाले बताए। ‘हिउँले भरिएको आधारशिविरले यस्तो मानवीय गतिविधि कहाँ सहन सक्छ ?’ शेर्पाले प्रश्न गर्दै भने। पछिल्लो समय हिमनदीहरू पग्लिएपछि त्यस क्षेत्रमा रहेको सतहमा रहेका फोहोरहरूसमेत माथि देखिन थालेको भन्दै आरोहण सञ्चालकहरू चिन्तित छन््। सगरमाथा चढ्न उचित मौसमको प्रतीक्षा गर्दै आरोहीहरू यहाँ धेरै समय बस्ने भएकाले बढी फोहोर यहाँ नै थुप्रिएको हुन्छ। आधारशिविरसम्म भरियाहरू पनि पुग्ने हुनाले सबैभन्दा धेरै चहलपहल हुने स्थानका रूपमा यो क्षेत्र परिचित छ।
हिमपहिरोको पीडा धेरै सगरमाथालाई
सन् १९२२ देखि सन् २०२० सम्मको अध्ययन रिपोर्टअनुसार धेरै हिमपहिरो सगरमाथा क्षेत्रमा गएको छ। मानवीय क्षति पनि यसै क्षेत्रमा बढी छ। हालसम्मका हिमपहिरोबाट ३ सय ७२ जनाको मृत्यु भएको रेकर्ड छ। र, तीमध्ये ३ सय २४ जनाको ज्यान सगरमाथा क्षेत्र आसपासमा नै गएको बताइन्छ।
सन् १९२२ मा सगरमाथामा हिमपहिरोमा परी ७ जनाको मृत्यु भएको पहिलो रेकर्ड भेटिन्छ। त्यसपछि १९५२ मा गएको पहिरोले एक जनाको ज्यान लियो। त्यसको २० वर्षपछि सन् १९७२ मा मनास्लुमा हिमपहिरो गयो। जहाँ १५ जनाले ज्यान गुमाए। त्यसको एक वर्षपछि सगरमाथामा गएको हिमपहिरोमा परी ९ जनाको मृत्यु भयो। त्यसपछि हिमपहिरो जाने क्रम अझै बाक्लियो। सन् १९७९ मा ८, १९८० मा ६, १९८२ मा ७, १९८४ मा ३ जना हिमपहिरोमा परे र मृत्यु भयो। १९८७ मा २ र सोही समय क्लाइम्बर क्याम्प २३६२५ फिटको सगरमाथा क्षेत्रमा गएको हिमपहिरोमा २ जनाकै मृत्यु भयो।
त्यसयता पनि प्रायः वर्षैपिच्छे सगरमाथा क्षेत्रमा हिमपहिरो गएको तथ्यांकले देखाउँछ। सन् १९८९ मा सगरमाथामा गएको हिमपहिरोमा परी २० जनाको मृत्यु भयो। सन् १९९० मा ६, सन् १९९१ मा ८ र १९९२ मा २ जनाको थियो। सन् १९९४ मा २ जनाको मृत्यु भएको थियो। त्यसको एक वर्षपछि सन् १९९५ मा खुम्बु क्षेत्रमा नै ४८ जना हिमपहिरोमा परे। सन् १९९६ मा ९, सन् १९९७ मा १९, सन् १९९८ मा ६, सन् १९९९ मा ६, सन् २००५ मा २१ जनाको यसकै कारण निधन भयो। सन् २००६ मा ३, सन् २००७ मा ६, सन् २००९ मा २ र सन् २०१० मा बरुत्सेमा गएको हिमपहिरोमा परी २ जनाको ज्यान गयो।
सन् २०१२ मा मनास्लु पिकमा गएको हिमपहिरोमा परी ९ जनाको मृत्यु भएको थियो। ती सबै सगरमाथा क्षेत्रमा नै गएका हिमपहिरो हुन्। सन् २०१३ मा ८, सन् २०१४ मा मनाङ र मुस्ताङका विभिन्न हिमालमा गएको हिमपहिरोमा परी ५९ जनाको निधन भएको थियो। त्यसपछि पुनः सन् २०१५ मा सगरमाथाको बेसक्याम्पमा गएको हिमपहिरोमा परी २३ जनाको ज्यान गयो। सन् २०१७ मा डोल्पामा गएको हिमपहिरोमा एक, सन् २०१८ मा धौलागिरि हिमालमा गएको हिमपहिरोमा परी ९ जनाको मृत्यु भएको थियो। सन् २०१९ मा अन्नपूर्ण पदमार्गमा गएको हिमपहिरोमा परी ८ र सन् २०२० को मार्चसम्म ७ जनाले यसकै कारण ज्यान गुमाउनु परेको थियो।
आधारशिविरमा आरोही र भरियाले टाँगेको टेन्टमा बलिरहेको बत्ती र रातिको दृश्य ।