गाउँमा चितुवा पल्केपछि किसानहरु चिन्तित
गोरखा : गाउँमा चितुवा पल्केपछि बारपाक सुलिकोट गाउँपालिकाका किसान चिन्तित भएका छन्। वडा नम्बर ३ स्वाँराको कालमाटीमा चितुवाले घरपालुवा पशुचौपाया मार्न थालेपछि गाउँले चिन्तित भएका हुन्।
चितुवाले घरेपालुवा पशुचौपाया धमाधम मार्न थालेको स्थानीयबासी बताउँछन्। गएराति चितुवाले स्थानीय भिमबहादुर नेपालीको गोठमा रहेको एउटा पाडो र एउटा भैँसी मारेको छ। बिहान गोठमा गएर हेर्दा पाडापाडी मरिरहेको भेटेको नेपालीले बताए। ‘चितुवा गोठमा पल्कियो’, नेपालीले भने, ‘त्यहीँ गोठमा अहिलेसम्म सातवटा बस्तुभाउ चितुवाले मारिसक्यो।’ गत असार १७ गते गोरु पनि मारेको थियो। एक वर्षअघि गाईबाख्रा पनि चितुवाको आक्रमणबाट मरेको उनले बताए।
घरभन्दा पर कोल्टो ठाउँमा गोठ रहेको र चितुवाले पशुचौपायालाई सँधै रातको समयमा आक्रमण गर्ने गरेको किसान बताउँछन्। चराउन जंगल लगेका बेला पनि बाख्रालाई बाघले आक्रमण गर्ने गरेको स्थानीय बताउँछन्। चितुवाले जनावर माथि आक्रमण गर्ने क्रम बढेपछि स्थानीय पनि त्रसित छन्।
प्रतिक्रिया दिनुहोस !