इन्टरनेट नहुँदा रोकियो भुक्तानी
गोरखा : धार्चे गाउँपालिकामा इन्टरनेट सेवा अवरुद्ध हुँदा आर्थिक कारोबारलगायतका काम अवरुद्ध भएको छ। नेपाल टेलिकमले वितरण गरेको फोरजी अवरुद्ध हुँदा असार मसान्तको चापाचापमा उपभोक्ता समिति तथा ठेकेदारलाई भुक्तानी दिन नसकिएको प्रमुख प्रशासकीय अधिकृत रुलबहादुर आलेले जानकारी दिए।
‘तीन दिन भयो, इन्टरनेट चलेको छैन। सिस्टम सबै ठप्प छ’, आलेले भने, इलेक्ट्रोनिक्स फन्ड ट्रान्सफर (ईएफटी) ले पनि काम गर्दैन, सूत्र सफ्टवेयर पनि चल्दैन।’ हतारका बेला पनि कम्प्युटर बन्द गरेर बस्नु परेको उनले बताए।
असार २४ सम्म बिल भर्पाइ फस्र्योट तथा भुक्तानी दिइसक्नु पर्ने कानुनी सीमा छ। ‘डेडलाइनभित्र काम गर्न नपाइने भयो भनेर तनाव भइरहेको छ’, उनले भने, ‘गत वर्ष पनि यही बेलामा इन्टरनेट सेवा नचलेर गाउँपालिकाको कार्यालय एक दिनको बाटो टाढा पर्ने धादिङको सल्यानटारबाट सञ्चालन गरिएको थियो। यस वर्ष पनि के गर्ने भन्ने सोच्नै सकिएन।’ फोनसेवासमेत तीन दिनदेखि अवरुद्ध भएको उनले बताए।
धार्चेमा नेपाल टेलिकमबाहेक अरू कम्पनीको मोबाइल सेवा सञ्चालनमा छैनन्। गत वर्षजस्तै विकल्प अपनाउनुपर्ने हुन सक्ने पालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए। वर्षभरिको कार्यक्रममध्यबाट २० प्रतिशत रकम अझै भुक्तानी गर्न बाँकी रहेको आलेले बताए। सिभिल बैंकले धार्चेको माछाखोलामा शाखा स्थापना गरेको छ। तर इन्टरनेट नहुँदा समस्या भएको बैंकले जनाएको छ।
चुमनुब्रीमा केन्द्रबाटै भुक्तानी
हिमाल पारिको चुमनुब्री गाउँपालिका यस वर्ष आर्थिक कारोबारका लागि सदरमुकाम आइपुग्नुपर्ने बाध्यताबाट मुक्त भएको छ। नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन भएपछि यस वर्षदेखि आर्थिक वर्षको मसान्तमा हुने बिल भुक्तानी तथा योजना फस्र्योट गाउँपालिकाको केन्द्रबाट गरिएको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए।
‘पोहोरसम्म उपभोक्ता समितिलाई कामको भुक्तानी दिन र बिल भर्पाइ फरफारक गर्न असार लागेपछि सदरमुकाम आउन बाध्य हुन्थ्यौँ’, उनले भने, ‘यस बर्ष भने नेपाल टेलिकमको फोरजी सेवा चलेको छ। उपभोक्ता समिति पनि भेल, बाढी, वर्षाको सामना गर्दैै चार, पाँच दिनको बाटो हिँडेर भुक्तानी लिन सदरमुकाम पुग्नु पर्ने बाध्यताबाट मुक्त भएका छन्। अहिलेसम्म योजनाको करिब ५० प्रतिशत भुक्तानी दिइसकेको उनले बताए।
मौसम प्रतिकूल भएन भने यस बर्ष असार मसान्तको आर्थिक कारोबार गाउँपालिकाबाटै सम्भव हुने पालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।
‘म आफू पनि निरन्तर खटिरहेको छु। सबै वडाध्यक्षलाई गाउँपालिकाको केन्द्र फिलिममा आएर आ–आफ्नो वडाका योजनाको भुक्तानी प्रक्रियामा सहजीकरण गर्न सुझाव दिएको छु’, उनले भने, ‘वडाध्यक्ष सबै जना आएर काममा सघाइरहनु भएको छ। योजनाको प्राविधिक अनुगमनका लागि उपाध्यक्ष र प्राविधिकलाई समयमै खटाएको छु। अहिलेसम्म राम्रै भएको छ।’
केन्द्रमा कुमारी बैंकको सिर्दिबास शाखाले सेवा दिइरहेको छ। फोरजी सेवा सञ्चालनमा आएपछि गाउँपालिकाको केन्द्रबाटै भुक्तानी दिएको सो अहिलेसम्मको यो पहिलो पटक हो।
प्रतिक्रिया दिनुहोस !