होटलको कारोबार खुम्चियो
काठमाडौं : प्रदेश १ को होटल व्यवसाय कारोबार लकडाउनपूर्वको तुलनामा २७.६ प्रतिशतले कमी भएको छ। नेपाल राष्ट्र बैंकले हालै प्रदेश १ मा गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो।
धार्मिकस्थल वरपर रहेका होटलले कोभिडपूर्व प्रतिहोटल पाँच जनाका दरले रोजगारी प्रदान गरेकोमा हाल तीन जनाका दरले रोजगारी प्रदान गर्न सकेका छन्। यसैगरी कोभिड– १९ महामारी अवधिमा सरकार तथा नेपाल राष्ट्र बैंकले घोषणा गरेका सहुलियत तथा सुविधा प्राप्त गर्ने यातायात व्यवसायी पाँच प्रतिशतमात्र रहेको प्रतिवेदनमा जनाइएको छ।
‘अधिकांश यातायात व्यवसायीलाई यस्तो सुविधाका बारेमा जानकारी नभएको देखिएको छ। दोस्रो लहरपश्चात्को यातायात व्यवसायको आय १३.५ प्रतिशतले कमी भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘पूजा सामग्री, उपहार तथा हस्तकला, यातायात, होटल व्यवसायको आय, मुनाफा र सिर्जना गरेको रोजगारी कोभिड–१९ महामारी सुरु हुनु पूर्वको अवस्थामा पूर्ण रूपमा फर्किनसकेको र महामारीको प्रभाव हालसम्म पनि कायम रहेको देखिएको छ।’
१५ वर्षदेखि सञ्चालन भइरहेका होटलले प्रदान गर्ने सेवा परम्परागत प्रकृतिको भएकाले पर्यटकलाई आकर्षित गर्न तथा उनीहरूले गर्ने दैनिक औसत खर्चलाई वृद्धि गर्नका लागि सेवाको विविधीकरण तथा आधुनिकीकरणमा जोड दिन जरूरी भएको अध्ययनले औंल्याएको छ।
यसैगरी, होटलले प्रदान गर्ने सेवा तथा सुविधाका बारेमा लक्षित पर्यटक (आन्तरिक र बाह्य) सम्म सूचना तथा जानकारी प्रवाह गर्न इन्टरनेटलगायत अन्य डिजिटल प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने सुझाव दिइएको छ। धार्मिकस्थलमा पर्यटकहरू धार्मिक उद्देश्यका लागि मात्र नभई प्राकृतिक दृश्यावलोकन, सांस्कृतिक सम्पदाको अवलोकन, पदयात्रा, मनोरञ्जनात्मक क्रियाकलाप आदिका लागि पनि भ्रमण गर्ने देखिएको छ।
‘नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६ सँग तादात्म्यता हुने गरी प्रादेशिक पर्यटन गुरुयोजना तर्जुमा गर्ने। प्रदेशमा पहिचान भएका ४९ वटा प्रमुख धार्मिक पर्यटकीय गन्तव्यलाई अन्तरप्रदेश धार्मिक गन्तव्यसँग आबद्ध गर्ने कार्यक्रम रहेको छ। धार्मिकस्थलमा ध्यान तथा योग शिक्षा, परम्परगत उपचार पद्धति स्पा, आध्यात्म केन्द्र स्थापना गरी पश्चिमा मुलुकका पर्यटकसमेत आकर्षित गर्न सके गैर–हिन्दु धर्मावलम्बीलेसमेत उक्त स्थानको भ्रमण गर्न सक्ने,’ प्रतिवेदनमा उल्लेख छ।
केन्द्रीय बैंक विराटनगर कार्यालयले सो क्षेत्रमा पहिचान भएका ४९ वटाभन्दा बढी धार्मिकस्थलहरूमध्ये सुनसरीको वराहक्षेत्र मन्दिर, खोटाङको हलेसी महादेव मन्दिर, ताप्लेजुङको पाथीभरालगायत धार्मिकस्थलमा प्रश्नावली सर्वेक्षणका माध्यमबाट धार्मिक पर्यटनसँग जोडिएर आउने धार्मिक पर्यटक, यातायात व्यवसाय, पूजा तथा उपहार सामग्री व्यवसाय, होटल व्यवसाय, ट्राभल तथा ट्रेकिङ एजेन्सी व्यवसायबाट प्राथमिक तथ्यांक संकलन गरी अध्ययन गरेको हो। केन्द्रीय बैंकले यस क्षेत्रमा धार्मिक पर्यटनले स्थानीय स्तरको आय, रोजगारी तथा व्यवसायमा पारेको प्रत्यक्ष प्रभाव विश्लेषण गर्न यस्तो अध्ययन गरेको हो। साथै सो स्थानको मुख्य धार्मिकस्थलमा कोभिड–१९ अगाडि र पछाडि आन्तरिक तथा बाह्य धार्मिक पर्यटनमा परेको असर र धार्मिक पर्यटन प्रवद्र्धनमा देखिएका सम्भावना तथा चुनौतीको पहिचानमा अध्ययनले सघाउनेछ।
पाथीभरा क्षेत्र विकास समिति, हलेसी महादेवस्थान विकास समिति, बृहत्तर बराह क्षेत्र विकास समिति तथा सानो पाथीभरा मन्दिर व्यवस्थापन समितिबाट प्राप्त सूचनाअनुसार २०७६ सालमा २५ लाख ४५ हजार पर्यटकले प्रदेश १ भ्रमण गरेका छन्। यसमध्ये आन्तरिक धार्मिक ६८.८, भारतीय धार्मिक ३०.९ र तेस्रो मुलुकका धार्मिक पर्यटक ०.३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।