जो दोस्रोपटक पनि मन्त्री बन्‍न छुटे...

जो दोस्रोपटक पनि मन्त्री बन्‍न छुटे...

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का नयाँ मन्त्रीलाई समावेश गरेर मन्त्रिमण्डल हेरफेर गरेका छन्। जसपाबाट मृगेन्द्रकुमार सिंह यादवले कृषि तथा पशुपन्छी विकास, मोहम्मद इश्तियाक राईले भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेर पद तथा गोपनियताको सपथ पनि गराइसकेकी छन्। 

हालः सरकारमा रहेका मन्त्रीहरू महिन्द्रराय यादव, रेणु यादव, रामसहाय यादवलाई फिर्ता बोलाएर जसपाले नयाँ मन्त्री पठाएको हो। पार्टीले सरकारमा मन्त्री पठाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो। 
जसपाबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह बाहिरिन खोजेका बेला आफ्नो पक्षमा बढीभन्दा बढी सांसद टिकाइराख्ने रणनीतिका साथ अनुकूलता हेरेर उपेन्द्रले पार्टीका तर्फबाट मन्त्री हेरफेरको निर्णय लिए पनि प्रमुख सचेतकसमेत रहेका प्रमोद साह फेरि छुट्न पुगेका छन्। 

सर्वोच्च अदालतको परमादेशबाट असार २९ मा नेपाली कांग्रेसका सभापति देउवा पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका थिए। सुरुमा कांग्रेस र माओवादीका गरी पाँच जनामात्रै मन्त्री नियुक्त गरिएको थियो। दोस्रो चरणमा एमालेबाट माधव नेपाल समूह अलग भई एकीकृत समाजवादी गठन भएपछि असोज २२ गते विस्तार गरिएको थियो। 

दोस्रोपटक विस्तार हुँदा जसपाबाट चार जना मन्त्री बनेका थिए। जसमा प्रमोद साहको नाम पनि चर्चामा थियो। सपथ हुने दिनसम्म उनको नाम मन्त्री बन्ने सूचीमा रहँदा धेरै ठाउँबाट उनले बधाइसमेत खान भ्याइसकेका थिए। तर राष्ट्रपति कार्यालयबाट आएको अन्तिम सूचीमा उनको नाम थिएन। सपथको आधा घण्टाअघि आफू मन्त्रीको सूचीमा नरहेको थाहा पाउँदा उनी छांगाबाट खसेजस्तै भएका थिए। उनका शुभेच्छुकसमेत आक्रोशित बनेका थिए। सपथको पोशाक लगाइरहेका उनी रोकिनुपरेको थियो। 

उनको मन्त्री पद निश्चित हुनुको कारण थियो, महन्थ ठाकुर समूह (अहिलेको लोसपा) छाडेर जसपाको मूल नेतृत्वसँगै बसेका थिए। त्यतिमात्रै होइन, ठाकुर समूहबाट ६ जना सांसद भएर जसपामा आएका थिए। त्यही सांसद संख्या जोडेर जसपालाई सत्ता गठबन्धनमा चार मन्त्रालय भागबण्डा गरिएको थियो। तर, चार वटा मन्त्री नियुक्त गर्दा साहलाई छुटाइयो।

‘पहिलोपटक सपथग्रहण गर्नुभन्दा आधा घण्टाअघि मात्रै हटेको थिएँ। नेतृत्वले यसपटक गर्न सकिएन, अर्को पटक हेरौँला भनेका थिए,’ साह सम्झन्छन्, ‘ठीकै छ, कहिलेकाहीँ त्याग पनि देखाउनुपर्छ भनेर चित्त बुझाएँ।’ 

‘अनि यसपटक पनि छुटेँ’

पहिलोपटक अन्तिम समयमा अप्रत्यासितरूपमा छुटेका साह जसपाभित्रको आन्तरिक कलह र एकीकृत समाजवादीले मन्त्री फेर्दा पार्टीभित्र बनेको मन्त्री हेरफेरको वातावरणले आफ्नो पालो आउनेमा ढुक्क थिए। पहिलोमा छुटाएकाले अहिले पार्टीबाट एक जना पनि मन्त्री हेरफेर गर्दा एक नम्बरमै आफ्नो नाम छनौट हुनेमा उनी र उनका शुभेच्छुक निश्चिन्त थिए। गत शुक्रबार जसपाबाट हेरफेर हुने मन्त्रीको नाम सञ्चारमाध्यमबाट सार्वजनिक हुँदा साह पनि परेका थिए। यद्यपि अघिल्लोपटक मन्त्री नबनाउँदा समर्थकमार्फत् नेतृत्वविरुद्ध प्रदर्शन र पार्टीको झण्डा जलाउने गतिविधिमा मुछिएका सांसद प्रदीप यादवको नाम थिएन। तर पार्टीबाट मन्त्रीको नाम सिफारिस हुँदा साह परेनन्, बरु यादव वन मन्त्रालयमा सिफारिस भएर मन्त्री बने। 

यसपटक पनि आफ्नो पालो नआएपछि साह निराश छन्। साहको अनुभवमा पहिलोमा छुटाए पनि अहिले मन्त्री बनाउन अध्यक्ष यादव सकारात्मक थिए। ‘यतिखेर अध्यक्षजी बहुत पोजेटिभ थिए। हिजोसम्म पोजेटिभ नै देखिरहेको थिएँ। किनभने व्यवहारले नेगेटिभ हुनुहुन्छ भन्ने लागेन,’ उनी भन्छन्, ‘जो साथीहरू पार्टीलाई तोड्न फोड्न लागेका थिए, उहाँहरुलाई सक्दो एक ठाउँमा ल्याए। जोड्ने काममा मेरो महत्वपूर्ण भूमिका रह्यो। यो कुरा अध्यक्षजीले पनि हेरिराख्नुभएको थियो।’ 

साहले पार्टीले गरेको निर्णय स्वीकार गरेर अघि बढ्ने बताए। ‘पहिले मन्त्री नबने पनि मेरो भूमिका पार्टीको हितमै थियो। पार्टीविरुद्ध बोल्ने मेरो बानी पनि छैन, बोलिनँ पनि। अहिले शीर्षस्थ नेतृत्वले जिम्मा लिनुभएको थियो। मन्त्रीको नियुक्ति गर्नुभयो। पार्टीको निर्णय त मान्नैपर्छ।’

मन्त्री हेरफेरपछि उनको अध्यक्षसँग कुरा भएको छैन। उनी पार्टीको लागि त्याग गर्नपरे आफू सदा तयार रहेको बताउँछन्। ‘योपालि मेरो मन्त्री हुन्छ भन्ने आम पब्लिक ढुक्क थियो। त्यो स्वभाविक पनि थियो। आम पब्लिकको एक जना पनि मन्त्री हेरफेर गरे एक नम्बरमै प्रमोद साह हुनुपर्छ भन्नेमा थियो। पहिला पनि त्याग गरेकै हो। अहिले पनि पार्टी त्यसरी नै सोच्यो। ठीकै छ,’ उनी यही निर्णयमा चित्त बुझाउने निष्कर्ष सुनाउँछन्। 

उपेन्द्रको पुत्ला जलाउँदा कारबाहीमा परेका यादव वनमन्त्री

पार्टी सरकारमा सहभागी हुँदा मन्त्रीका प्रबल दाबेदार थिए, पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादव। तर पहिलोपल्टमा उनी छुटे। मधेस आन्दोलनको उद्गमस्थल, विद्रोहको विगुल फुक्ने तथा आन्दोलनको आँधिबेहरी ल्याउने वीरगन्जलाई नेतृत्व तहबाट मन्त्रिमण्डलमा उपेक्षा गरिएको भन्दै जसपा कार्यकर्ताले विरोध प्रदर्शन गर्दै अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका थिए। त्यतिमात्रै होइन, सांसद यादवका कार्यकर्ता र शुभचिन्तक युवाले पार्टी कार्यालयको साइन बोर्ड झिकेर आगो लगाएका थिए।

यादवले पनि ‘जनधार र योगदानको कदर गर्न नेतृत्वबाट गम्भीर चुक भएको र वीरगन्ज फेरि ठगिएको’ टिप्पणी गरेका थिए। मन्त्री नबनाएको झोँकमा नेतृत्वविरुद्ध प्रदर्शन गराएको भन्दै केन्द्रीय कार्यकारिणी समिति बैठकले उनीमाथि अनुशासनको कारबाही गरेको थियो। केन्द्रीय कार्यकारिणी सदस्यबाट घटुवामा परेर साधारण सदस्य बनेका उनको तीन महिनापछि कारबाही फुकुवा भएको थियो। उनै यादव आज दोस्रो प्रयासमा वनमन्त्री बन्न पुगेका छन्। 

चुनाव हारेका मृर्गेन्द्र बने कृषिमन्त्री

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी पाएका मृगेन्द्रकुमार सिंह यादव प्रतिनिधिसभा चुनाव हारेका नेता हुन्। उनको मन्त्री बन्ने बाटो भने राष्ट्रियसभाले खोलेको हो। संविधानको धारा ७८ (४) अनुसार प्रतिनिधिसभामा पराजित व्यक्ति पाँच वर्ष कार्यकालभरि मन्त्री बन्न पाउँदैन। तर, चुनाव हारे पनि मृर्गेन्द्र पार्टीबाट राष्ट्रियसभा सदस्य बनेका थिए।

उनले पहिलो लटमै मन्त्री बन्न प्रयास गरेका थिए। तर अहिले पार्टी जोगाउन उपेन्द्रले निर्वाचितलाई छाडेर चुनाव हारेका मृर्गेन्द्रलाई मन्त्री बनाउनुपरेको छ। प्रतिनिधिसभा सदस्यका लागि सप्तरीबाट चुनाव लडेका उनी नेपाली कांग्रेसका तेजुलाल चौधरीसँग पराजित भएका थिए। 

बाबुरामसँग तीन सांसद

जसपामा आफू बलियो बन्न अध्यक्ष यादवले समीकरण मिलाएर मन्त्री हेरफेर गर्दा अर्का अध्यक्ष भट्टराईसँगै अलग हुनेमा तीन सांसद रहेको नेताहरु बताउँछन्। यद्यपि मन्त्री हेरफेरबाट असन्तुष्ट सांसदहरू जानसक्ने सम्भावना पनि छ। पार्टीभित्र अध्यक्ष यादव र भट्टराईबीच सहमतिमै अलग हुने समझदारी पनि भएको छ।

हालसम्म बाबुरामसँगै अलग हुन चाहनेमा मन्त्रीबाट फिर्ता बोलाइएका महिन्द्रराय यादवसहित सांसद राजकिशोर यादव र अमृता अग्रहरि रहेको चर्चा छ। त्यसमाथि मन्त्रीबाट फिर्ता बोलाउँदा असन्तुष्ट बनेकी रेणु यादव पनि अलग हुनेबारे छलफलमा रहेको निकट नेताहरु बताउँछन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.