मेयर जोगाएको होइन, प्रमाण पुगेन : प्रहरी

मेयर जोगाएको होइन, प्रमाण पुगेन : प्रहरी

अछाम : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्या घटनामा मेयर अम्बिका चलाउनेसहितका तीन जनाविरुद्ध अभियोजन पुष्टि हुने प्रमाण नपुगेकाले उनीहरूलाई छोडिएको प्रहरीले जनाएको छ। प्रहरीले छोड्ने नियत नभएपनि उनीहरूको प्रमाण नपुगेकाले मुद्दा नचलाइएको दाबी गरेको छ। 

जिल्ला सरकारी वकिलको कार्यालय अछामले, मंगलबार पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने, पञ्चदेवल विनायक नगरपालिका–४ का नेत्र शाही र रामबहादुर शाहीको अभियोजन पुष्टि नभएको भन्दै उनीहरूका विरुद्ध मुद्दा चलाउन नमिल्ने प्रतिवेदन बुझाएको थियो।

‘प्रहरी पीडितको पक्षमा हुन्छ, सरकार वादी मुद्दामा सरकारी वकिल भनेकै पीडितको तर्फबाट बहस गर्ने वकिल हो, तर अनुसन्धानबाट तीनै जना घटनाको दिन घटनास्थलभन्दा बाहिर रहेको पाइयो, त्यसैले उनीहरूविरुद्ध मुद्दा चलाउन मिलेन’  जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए। 

जेठ १७ गते पञ्चदेवल विनायक नगरपालिका–४ मा नेपाली कांग्रेस र नेकपा एमाले समर्थित कार्यकर्ताबीच झडप भएको थियो। त्यही झडपपछि प्रहरी सो गाउँमा गएको थियो। प्रहरी गाउँमा पसेको दिनदेखि नै १६ वर्षका विनोद शाही बेपत्ता भएका थिए। उनको शव तीन दिनपछि जेठ २१ गते स्थानीय पञ्चदेवल क्याम्पसको नजिकैको भीरमा फेला परेको थियो।

‘घटनाका बेला मेयर चलाउने धनगढी हुनुहुन्थ्यो, नेत्रबहादुर शाही जेठ १३ गते नै उपचारका लागि काठमाडौं गएको पाइयो, रामबहादुर शाही पनि घटनाका दिन मंगलसेनमा रहेका पाइयो’ प्रहरी नायब उपरीक्षक डाँगीले भने। ‘वारदात भएको स्थानमा नभएका व्यक्तिहरूलाई लगाइएको अभियोग पुष्टि हुन सकेन, त्यसैले मुद्दा नचलाइएको हो।’तर, पीडितले दिएको किटानीमा मेयर चलाउने र स्थानीय शिक्षकसमेत रहेका नेत्र शाहीलाई विनोदको हत्याका योजनाकार भनिएको छ। दुवै जनाले, गाउँमा प्रहरी पठाएको, सत्ता र शक्तिको आडमा विनोदको हत्या गरिएको किटानीमा उल्लेख छ।

प्रहरीले २५ दिनको अनुसन्धान सकेर सोमबार नै मुद्दा सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको छ। सरकारी वकिलको कार्यालयले पनि सोमबार नै मुद्दा र अभियोग लागेका व्यक्तिहरूलाई अदालतमा बुझाइसकेको छ। तर अहिलेसम्म प्रहरीले विनोदको हत्या हो वा भीरमा लडेर उनको मृत्यु भएको हो ? भन्ने कुरा भने पत्ता लगाउन सकेको छैन।

घटनाको  अनुसन्धानमा प्रहरीको केन्द्रीय अन्वेषण ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो। संघीय प्रहरी इकाइ कार्यालय कञ्चनपुरका एसएसपी जनकराज पाण्डे पनि घटनाको अनुसन्धानमा खटिएका थिए। ‘१३ जनाका विरुद्ध किटानी आयो, प्रहरीले अनुसन्धान उनैप्रति केन्द्रित पा¥यो, तर अहिलेसम्म हत्या नै भएको हो भनेर पुष्टि हुन सकेको छैन’ सीआईबीका डीएसपी मनोहर भट्टले भने।
प्रहरीले, मृतकको मोबाइल कल डिटेलका आधारमा पनि अनुसन्धान गरेको जनाएको छ। ‘त्यसबाट एकजना महिलालाई भेट्न जाने भन्ने कुरा खुल्यो, त्यो दिन पनि विनोदले भेट्न आउँछु भनेर फोन गरेको पाइयो तर मृतक त्यहाँसम्म पुगेको पाइएन, बीच बाटोमै मृत भेटिए’ डीएसपी भट्टले भने। ‘त्यसैले पक्राउ परेकाहरूको बयानका आधारमा त्यो घटना हत्या नै हो भनेर पुष्टि हुन सकेको छैन।’

प्रहरीले घटनास्थलको अध्ययनबाट पनि हत्या वा लडेर मृत्यु भएको हो भन्ने कुराको पुष्टि गर्न सकेको छैन। ‘घटनास्थल सल्लाको बन भएको क्षेत्र हो। सल्लाको पिरोलमा चिप्लेर भीरमा लडे पनि मानिसको मृत्यु हुन सक्छ। भीर ५०/६० मिटरको गहिरो छ। अझ त्यो भीर ९० डिग्री जस्तो ‘स्टेट’ (ठाडो) छ। तर, त्यहाँ सडक भने चौडा छ, चौडा सडकमा मृतक कसरी छेउछिर पुगे होलान् र भीरमा लडे होलान् ? भन्ने कुरामा पनि शंका गर्ने ठाउँ छ’ भट्टले भने। मृतकको पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा भने छातीका करङहरू भाँचिएको र रगत बगेको कुरा उल्लेख छ। प्रहरी भन्छ, ‘करङ कसैले कुटपिट गरे पनि भाँचिन्छन् अथवा भीरमा लडे पनि। पोस्टमार्टमको प्रारम्भिक रिपोर्टबाट मात्रै हत्या हो भनेर पुष्टि गर्न असहज भयो।’ विनोदको भिसेरा जाँचको रिपोर्ट भने आएको छैन। 

हुन त त्यो घटनाको सुरुवात वैशाख ३० गतेको स्थानीय तह चुनावका बेलादेखि नै कांग्रेस र एमालेको विवादका कारण सुरु भएको हो। कुनै दिन एमालेका कार्यकर्ताले कांग्रेसकालाई पिट्ने त कुनै दिन कांग्रेसका कार्यकर्ताले एमालेकालाई पिटने क्रम चलिरहन्छ। तर, प्रहरीको अनुसन्धानमा मृतकको राजनीतिक संलग्नता भने कतै खुलेको छैन।

‘मृतकको राजनीतिक संलग्नता पनि देखिएन’ सीआईबीका प्रहरी नायब उपरीक्षक भट्टले भने। प्रहरीका अनुसार अहिलेसम्म विनोदको घटनामा कुनै पनि प्रत्यक्षदर्शी भने भेटिएको छैन। ‘शव भेटिएको स्थानमा उनलाई गएको देख्ने, झगडा भएको देख्ने वा अरू कुनै प्रकारको प्रत्यक्षदर्शी पनि भेटिएन’ प्रहरी नायब उपरीक्षक भट्टले भने।

पीडितद्वारा पालिकाभित्रका कार्यालय बन्द

पीडित पक्षले भने विनोदको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै पञ्चदेवल विनायक नगरपालिका र पालिकाभित्रका सरकारी कार्यालयहरू बन्द गराएको छ। विनोदको हत्या नै भएको, हत्यामा संलग्न भनी किटानी दिएकाहरूलाई छोडिएको र फरार अभियुक्तहरूलाई पक्राउ नगरिएको भन्दै सरकारी कार्यालय बन्द गरिएको पीडितका आफन्त बखत शाहीले बताए।

उनले अदालतबाट न्याय पाउने आस भएको तर अब त्यो पनि मरेको बताए। ‘अदालत त निष्पक्ष होला भन्ने सोचेका थियौं, सबै बिक्री भए, अब न्यायका लागि उच्च अदालत जाने निष्कर्षमा पुगेका छौं’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.