त्रिविको परीक्षा प्रणालीमाथि वैधताको प्रश्न : गल्ती गर्छ, कारवाही हुँदैन

त्रिविको परीक्षा प्रणालीमाथि वैधताको प्रश्न : गल्ती गर्छ, कारवाही हुँदैन

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले लिने परीक्षा प्रणालीको विश्वसनियतामाथि प्रश्न तेस्रिएको छ । यो वर्षमात्रै त्रिविले लिएको दुई परीक्षाको प्रश्नपत्रको वैधतामाथि प्रश्न चिन्ह उठेको छ । बर्सेनि त्रिविको परीक्षा प्रश्नपत्रमा प्रश्न उठिरहन्छ । यो नयाँ घटना भने होइन ।

त्रिविमा प्रश्नपत्र काट्ने शिक्षकहरुको हेलचक्याइँ र पदाधिकारीले नियमन नगर्दा समस्याले उग्ररुप लिँदै आएको छ । मुख्यतः अहिले अर्थशास्त्र, राजनीति शास्त्र र व्यवस्थापन शंकायले लिने परीक्षाको प्रश्नपत्रमा गडबडी देखिएपछि विद्यार्थीहरु आन्दोलनमा छन् । त्रिविका अधिकारीहरु पनि प्रश्नपत्रमा देखिएको अनियमितता, विश्वसनीयता, वैधता र गोपनियतामाथि प्रश्न उठेको स्वीकार्छन् । तर, मौन बसिदिन्छन् ।

त्रिविले काट्ने प्रश्नपत्रमाथि प्रश्न उठ्दा पनि न त्रिविका जिम्मेवार अधिकारीले कारवाही प्रकृया अघि बढाउँछन् न त सम्वद्ध निकाय जबाफदेही बन्छ । प्रश्नपत्रको विश्वसनियतामाथि प्रश्न उठ्छ, विद्यार्थी आन्दोलन गर्छन् । त्यसपछि केहि दिनपछि एजेण्डा सेलाउँछ । र, फेरि समस्या दोहोरिन्छ । 

'गत वर्षको प्रश्नपत्र हुबहु आयो, नपढेकोबाट आयो, कुनै एक प्राध्यापकको सेटका प्रश्न सबै मिले ।'

त्रिवि व्यवस्थापन शंकायका डिन प्रा.डा.डील्लीराज शर्माले प्रश्नपत्र निर्माणमा बदमासी गर्ने शिक्षकहरुलाई कारबाही गर्नेतर्फ परीक्षा समितीमा छलफल भइरहेको बताए । उनले भने, ‘सबैभन्दा मुख्य कुरा त शिक्षकहरुको नैतिक आचरणसँग पनि जोडिएको छ, यो विषय । गुरुहरुले कुनै नैतिकता राखि दिनुभएन भने हाम्रो कुनै उपाय लाग्दो रहेनछ । त्यसैमा पनि उहाँहरुको प्रश्नलाई मोड्रेसनमा विशेष किसिमले परिवर्तन गर्ने आवश्यकता देखियो । प्रश्नहरु विज्ञहरु, अध्यापन गरिरहेकाहरुबाट प्रश्न मागिएको थियो ।’

डा. शर्माले थपे,‘प्रश्न कहाँ सोधेको छ ? भन्ने हाम्रो इन्फरमेसनमा आउँदैन । यस्ता शिक्षकहरुलाई हदैसम्म कारवाही गर्नुपर्छ भन्ने लाइनमा छौं । परीक्षा समितिमा छलफल भइरहेको छ । यो कुराले सबैलाई सोच्न बाध्य बनायो ।’

उनले शिक्षकहरुबाट मगाएका प्रश्नहरु प्रीबोर्डमा सोधेको पाइएको बताए । ‘हामीले शिक्षकहरुसँग प्रश्नपत्र माग्यौं । मागेको प्रश्नपत्र परीक्षामा सोध्यौं । त्यहि प्रश्नपत्रका कतिपय प्रश्नहरु शिक्षकले. प्रीबोर्डमा सोध्नुभएको रहेछ । फेरि उहाँहरुले प्रीबोर्डमा सोधेको हो भनेर हाम्रो सूचनामा रहने कुरा पनि भएन । जाँचमा गइसकेपछि विद्यार्थीहरुले यो प्रश्न प्रीबोर्डमा सोधिएको थियो भनेर देखाइदिए । त्यसपछि हामीले परीक्षा रद्ध गरेर पुनः परीक्षा मिति तोकेका छौं,' उनले भने।’

गत जेठमा एमए तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनोमिक्स’र प्रथम सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिकल साइन्स’विषयका प्रश्नपत्रहरू गत वर्षकै हुबहु दोहोर्‍याएको थियो। सो घटनाको छानबिन गर्न गठित छानबिन समितिद्वारा तयार पारिएको प्रतिवेदन आजसम्म सार्वजनिक गरिएको छैन ।

त्रिविले गत असार २२ मा व्यवस्थापन संकायतर्फको बीबीए छैटौं सेमेष्टरका लागि लिएको परीक्षा ‘एमजीटी २०३  अर्गनाइजेसन बिहाभियर’को प्रश्नपत्र मोर्डन नेपाल कलेजले प्रिबोर्ड’का लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको तथ्य बाहिरिएको थियो । यस्तै, २०७१ असार २५ गते बीबीए छैटौ सेमेस्टरको नेप्लिज सोसाइटी एण्ड पोलिटिक्स  विषयको परीक्षामा पाचौं सेमेस्टरको सोसोलोजिको प्रश्नपत्र सोधिएको थियो ।

त्रिविको गत असार २४ मा सभा भयो । सभाले त्रिविको वार्षिक बजेट त पास गर्‍यो । तर, त्रिविभित्रको परीक्षा प्रणालीबारे आवाज नै उठेन । त्रिवि उपकुलपति प्रा.डा. धर्मकान्त वास्कोटाले उच्चशिक्षालाई प्रतिस्पर्धी व्यवहारिक र गुणस्तरीय बनाउन आफूहरु प्रयत्नसील रहेको बताए ।

२०७७ फागुन ३ गते कानुन संकायअन्तर्गत (एलएलबी) दोस्रो वर्षको क्रिमिनोलोजी विषयको परीक्षामा पनि प्रश्नपत्र हुबहु मिलेको थियो। २०७१ साल र २०७६ सालको प्रश्नपत्र हुबहु मिलेको थियो। २०७६ सालमै हुनुपर्ने परीक्षा कोभिडका कारण ३ फागुन २०७७ मा भएको थियो।

टीयु शिक्षाशास्त्र संकायको बीएड तेस्रो वर्षको इंग्लिस फर मास कम्युनिकेसन विषयको परीक्षाको प्रश्नपत्रमा पनि चरम लापारबाही भएको थियो। विश्वविद्यालयले २०७६ मा सञ्चालन गरेको परीक्षामा सोही विषयका एक शिक्षकले लेखेको किताबको हुबहु प्रश्न समावेश गरी शिक्षाशास्त्र संकायले सो विषयको प्रश्न तयार पारेको भेटिएको थियो।

परीक्षा सकिएपछि शिक्षाशास्त्र संकाय बीएड तेस्रो वर्षका विद्यार्थीले इंग्लिस फर मास कम्युनिकेसन पुस्तकको पृष्ठ नम्बर ४५६ मा प्रकाशित प्रश्न बैंकको प्रश्न हुबहु रहेको प्रमाणसहित पोष्ट गरेका थिए ।

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेको छ । प्रश्नपत्र निर्माणमा हेलचेक्रयाई गरेको भन्दै नेवी संघले त्रिविका पदाधिकारीको राजीनामा मागेको हो ।

नेवी संघका अध्यक्ष दुजाङ शेर्पाले परीक्षाजस्तो संवेदनशील विषयमा लापरवाही गर्दै पटकपटक विद्यार्थीको भविष्य कुल्चने दुष्प्रयास गरिरहेको भन्दै आन्दोलन गर्नुको विकल्प नरहेको बताए।

उनको हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'परीक्षाजस्तो संवेदनशील विषयमा लापरवाही गर्दै पटकपटक विद्यार्थीको भविष्य कुल्चने दुष्प्रयास गरिरहेका यी पदाधिकारीहरू रहिरहे विश्वविद्यालय झन् ध्वस्त हुने निश्चित भइसकेकाले पदमा बस्न उपयुक्त देखिदैन । प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन तथा परीक्षाफल प्रकाशनलगायतका विषयहरूमा संवेदनशील बन्दै परीक्षामा विश्वसनीयता तथा वैधता कायम गर्न नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समिति जोडदार माग गर्दछ। प्रश्नपत्र निर्माण तथा नियमन गर्ने निकायका जिम्मेवार व्यक्तिहरू तथा सम्पूर्ण विचौलियाहरूलाई कारवाहीको दायरामा नल्याएको खण्डमा त्रिभुवन विश्वविद्यालयका विरुद्धमा नेपाल विद्यार्थी संघ आन्दोलनको आँधिबेहरी सिर्जना गरी जस्तोसुकै कदम पनि उठाउन बाध्य हुनेछ।'

त्रिवि अखिल क्रान्तिकारीका अध्यक्ष प्रदीप भट्टले अर्थशास्त्र र राजनीतिक शास्त्रको केन्द्रीय विभागमा ताला लगाइएको बताए । उनले भने, 'विश्वविद्यालयको सबैभन्दा गोपनियताको विषय परीक्षा हो । आज त्यही परीक्षाको पेपर प्राइभेट कलेजबाट किन्ने, आफ्नो परीक्षा संयन्त्र चलाउन नसक्नेहरुले जिम्मेवारीबाट राजीनामा दिनुपर्छ । नत्र यस्ता भ्रष्टहरुलाई विश्वविद्यालयबाट लखेट्ने अभियान चलाउँछौं ।'
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.