बटुकले सम्झिँए तीन शताब्दीका गुरु
काठमाडौं : पहेंलो बस्त्र धारण गरेका दर्जनौं जिल्लाका बटुकहरू बुधबार साढे पाँच सय पुरानो लक्ष्मीनारायण मठमा जम्मा भए। तीन शताब्दी पुरानो गुरुकुल (राजकीय संस्कृत माध्यमिक विद्यालय) का बटुकहरू जम्मा हुनुको कारण थियो, गुरुपूर्णिमा। फूल, मिठाई, धूपबत्तीसहित बटुकले स्वत्तिक वाचन गर्दै स्वर्गबास भइसकेका र जीवित ११ पुस्ते गुरुजन तथा मठाधीशहरूलाई स्मरण गरेका थिए। आरती र शंखको ध्वनीले गुरुपूर्णिमा उत्सवमय बनेको थियो।
विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलका अनुसार गुरुकुलका संरक्षक स्वर्गवासी मठाधीश तस्मैया बाबा (वि. सं. १७५१–२०७९) सम्मका ११ पुस्ता स्वर्गवासी मठाधीशलाई श्रद्धासुमन अर्पण गर्दै वर्तमान संरक्षक मठाधीश जगन्नाथदास वैष्णवलाई गुरुपूजन गरेका थिए। यसैगरी पहिलो गुरुकुल स्थापना गर्ने जयकृष्ण दासदेखि हालसम्मका गुरुजनलाई बटुकहरूले स्मरण गरेका थिए। तीन सय चार वर्ष पुरानो गुरुकुलका बटुकहरूले अमिरीलाल मण्डल, कैलाश मिश्र, सत्रुघनप्रसाद सिंह, नारायण पौडेल, थानेश्वर पौडेल, गणेश प्रसादलगायतका गुरुको स्वस्थ जीवनको कामना गरेका थिए।
बुधबार नेपालसहित भारतको बिहारबाट मठमा गुरुपूजन गर्न आएका शिष्यहरू बटुकहरूको गुरुपूजन देखेर छक्क परेका थिए। उनीहरू कानेखुसी गर्दै गुरुको पूजा होस् त यस्तो भन्दै थिए। जीवितलाई स्मरण गर्नु, पूजा आरधना गर्नु त स्वभाविक हो तर, तीन शताब्दीदेखिका गुरु र मठाधिशहरूको स्मरण गर्नु महत्वपूर्ण कुरा हो।
महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट र भारत बिहारका शिष्यहरू पनि मठमा पुगेका थिए। तस्मैया बाबाका शिष्य जयकृष्ण दासले १७७५ सालमा संस्कृत पाठशालाको नामले मटिहानीमा गुरुकुल स्थापना गरेका थिए। जुन नेपालकै पहिलो गुरुकुल हो। अहिलेका बटुकले गुरुकुलको विगत, वर्तमान र भविष्यका बारेमा जानकारी पाउँदा खुसी लागेको दैलेखका खगेन्द्र उपाध्यायले बताए। ‘अहिलेका गुरुलाई त गुरु शिष्य परम्परामा दैनिक नमन गर्दछौं तर, स्वर्गवासी गुरु र अवकास प्राप्त गुरुहरूको गुणगानले थप उर्जा प्रदान गरेको छ’, उनले भने।
कक्षा १२ का शिष्य विकास झा भन्छन्, ‘विगतका गुरुहरू ऋषिमुनीजस्ता रहेछन्। शिष्य पनि त्यस्तै।’ बालगुरु षडानन्दजस्तो शिष्य उत्पादन गर्न सफल यो गुरुकुल समावेशी छ। गुरु पुजनमा २७ जिल्लाका बटुकमध्ये मोरङका थारु, सर्लाहीका पासवान, रौतहटका सहनी, महोत्तरीका खत्वे, दैलेखका कार्की, रामेछापका परियारको उपस्थिति थियो। हिमाल, पहाड, तराई र भारतीय बटुकहरूको सहभागिताले मटिहानीलाई जातजाति, धर्म, भाषा, रहनसहन, भेषभूषा अनेक भए पनि एकताको सन्देश दिने मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल बताउँछन्।
प्रतिक्रिया दिनुहोस !