यू–२० टोलीमा बाराका चार खेलाडी

सिमरा : भारतको भुवनेश्वरमा आगामी साता हुने साफ यू–२० च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोली छनोट हुँदा बाराका चार खेलाडीले स्थान पाएका छन्। प्रशिक्षक मेघराज केसीले अन्तिम २३ खेलाडीको नाम सार्वजनिक गर्दा जितपुरसिमरा उपमहानगरपालिका–२ का मोहित गुरुङ, ४ का अजय चौधरी, १५ का युनेश चौधरी र निजगढ नगरपालिका–४ का जन्मजय धामीले स्थान बनाउन सफल भएका छन्।
राष्ट्रिय टोलीमा पर्न सफल चारमध्ये तीन जना यसअघि विभिन्न उमेर समूहबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् भने एक जना भने पहिलो पटक छनोट भएका हुन्। देशभरका सात सय जनालाई उछिन्दै राष्ट्रिय टोलीमा छनोट भएपछि यहाँका खेलाडीहरू निकै उत्साहित छन्। नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्दैछ।
राष्ट्रिय टोलीमा स्थान बनाएकामध्ये मोहित सिमरा एकेडेमीका उत्पादन हुन्। जितपुरसिमरा गोल्डकपको आयोजक नव जनजागृति युवा क्लबले सञ्चालन गरेको सिमरा एकेडेमीबाट फुटबल खेल्न थालेका मोहितसँग यसअघि यू–१५ र यू–१६ बाट नेपालका लागि खेलेको अनुभव छ। उनले सन् २०१९ मा भारतमा सम्पन्न यू–१५ साफ च्याम्पियनसिप र जोर्डनमा सम्पन्न एएफसी क्वालिफायरमा पनि नेपाली राष्ट्रिय टोलीबाट खेलेका थिए।
साफ च्याम्पियनसिपमा भारत र भुटानसँगको खेलमा मैदानमा उत्रिएका मोहित एएफसी क्वालिफायरमा श्रीलंका, ताजकिस्तान र कुवेतविरुद्ध खेलेका थिए। मोहितले श्रीलंकाविरुद्ध एक गोलसमेत गरेका थिए।
उमेर समूहमा तेस्रो पटक छनोटमा परेका मोहित निकै खुसी देखिएका छन्। प्लसटु अध्ययन गरिरहेका मोहितको लक्ष्य नेपालको राष्ट्रिय टिमबाट खेल्ने रहेको बताए।
यसैगरी अजय चौधरी फुटबल खेलाडी लखन चौधरीका छोरा हुन्। नेपालको उमेर समूहमा राष्ट्रिय टोलीको उपकप्तानको जिम्मेवारी समेत सम्हालिसकेका अजय रक्षापंक्तिका सशक्त खेलाडी हुन्। अजय पनि यसअघि भारतमा सम्पन्न यू–१५ साफ च्याम्पियनसिप र जोर्डनमा सम्पन्न यू–१६ एएफसी क्वालिफारयमा नेपाली टोलीबाट खेलिसकेका छन्। दुवै प्रतियोगिताको सबै खेल खेलेका अजयले जोर्डनमा उपकप्तानको जिम्मेवारी समेत सम्हालेका थिए। उनी पनि प्लसटु अध्ययनरत छन्। यू–२० साफ च्याम्पियनसिपका लागि छनोट भएका अजयको लक्ष्य प्रतियोगिताको उपाधि जित्ने छ। ‘हामी देशका लागि खेल्न जाँदैछौं। हाम्रो लक्ष्य उपाधि जित्ने नै हो’, अजयले भने, ‘त्यसबाहेक फुटबलमा धेरै मेहनत गरेको छु। अब देशको राष्ट्रिय टिमबाट खेल्न चाहन्छु।’
यसैगरी मिडफिल्डर जन्मजय धामी निजगढस्थित पुरानो निजगढका बासिन्दा हुन्। उनीसँग पनि अन्तर्राष्ट्रिय खेलको अनुभव छ। जन्मजयले यसअघि यू–१५ र यू–१६ बाट नेपालका लागि दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्।
भारतमा सन् २०१९ मा सम्पन्न यू–१५ साफ च्याम्पियनसिपमा जन्मजयले श्रीलंका, बंगलादेश र भारतविरुद्ध खेलेका थिए भने जोर्डनमा सम्पन्न यू–१६ एएफसी क्वालिफायरमा जोर्डन र ताजकिस्तानविरुद्ध मैदानमा उत्रिएका थिए। १८ वर्षीय जन्मजय कक्षा १२ मा अध्ययनरत छन्। फुटबलमा भविष्य खोज्दै गरेका जन्मजय यू–२० टोलीमा छनोट भएपछि खुसी देखिन्छन्। उनको पनि लक्ष्य सिनियर टिमबाट खेल्ने छ। यू–२० साफ च्याम्पियनसिपमा निकै मेहनत गर्ने उनले बताए।
पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका खेलाडी हुन्, युनेश। नेपालका विभिन्न क्लब र ‘बी’ डिभिजन लिग खेलेका युनेशसँग राष्टिय टिमको अनुभव भने छैन। यसअघि सन् २०१९ मा जोर्डनमा सम्पन्न एएफसी क्वालिफायरका लागि क्याम्पमा परेका युनेश अन्तिम टोलीमा भने अटाउन सकेनन्। राष्ट्रिय टिममा पर्न असफल भए पनि निरन्तर फुटबल खेल्दै आएका युनेश यसपटक यू–२० साफ च्याम्पियसिपका लागि छनोट भएका छन्। १७ वर्षीय युनेश कक्षा १२ मा अध्ययरत छन्। उनले सहिद स्मारक ‘बी’ डिभिजिन लिग २०७८ मा उत्कृष्ट गोलरक्षकको उपाधि जितेका थिए। आरसीटीबाट ‘बी’ डिभिजन लिग खेलेका युनेशले भक्तपुर एफसी, वीरगन्ज युनाइडेटलगायतका क्लबबाट विभिन्न प्रतियोगिता खेलेका छन्।
राष्ट्रिय टोलीमा परेपछि सपना पूरा भएको बताउँदै युनेशले अब सिनियर टोलीबाट डेब्यु गर्ने लक्ष्य रहेको बताए। उनले आफ्नो सफलतामा प्रशिक्षक दामोदर सिल्पकारलाई सम्झिए। जिल्लाका चार खेलाडी छनोट भएपछि बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामा उत्साहित छन्। जिल्लाले छनोट गरेर पठाएका १४ खेलाडीमध्ये चार खेलाडी देशका लागि छानिनु ठूलो उपलब्धि रहेको उनले बताए।
जितपुरसिमरा गोल्डकप आयोजक नव जनजागृति युवा क्लबका अध्यक्षसमेत रहेका लामाले देशलाई उत्कृष्ट खेलाडी दिन आफूहरू समक्ष रहेको बताए। ‘फुटबललाई सक्रिय गराउँदै लैजाने हो भने उत्कृष्ट खेलाडी दिन हामी सक्छौं भन्ने आत्मविश्वास बढेको छ’, लामाले भने, ‘जिल्लामा भइरहेको फुटबलका गतिविधि नै यसको बलियो पक्ष हो।’
जिल्लामा फुटबलका विभिन्न गतिविधिमा सक्रिय हुँदै जिल्ला संघको नेतृत्वमा पुगेका लामाले खेलाडी उत्पादनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।
प्रतिक्रिया दिनुहोस !
