बाँदरले दुःख दिएपछि ड्रागन खेती
![बाँदरले दुःख दिएपछि ड्रागन खेती](https://annapurnapost.prixacdn.net/media/albums/dragon-kheti_20220728091907_Qfq8QxZZZa.jpg)
भोजपुर : बाँदरले अन्नबालीमाथि आक्रमण गरेर दुःख दिएपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीस्थित ४२ रोपनीमा ड्रागनफ्रुट खेती थालिएको छ। उक्त खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि किसानको आकर्षण पनि बढेको छ। बाँदर आतंकका कारण वर्षौंदेखि बाँझो रहेको उक्त जमिनमा ३ वर्षअघि दानाबोट फलफुल तथा कृषि फर्म दर्ता गरी कृषि कर्म थालेका स्थानीय शम्भु नेपालले अहिले वार्षिक १४ देखि १८ लाखसम्म आम्दानी गर्न गर्छन्।
‘बाँदरले अन्नबाली भित्रिन दिँदैन, विकल्पमा यो खेती रोजेँ। बजारमा यसको माग पनि धेरै छ, बजारमूल्य पनि राम्रो छ’, नेपालले भने, ‘बाँदरबाट पनि छुटकारा हुने, अनि आम्दानीको पनि राम्रै हुने भएपछि सबै जमिनमा ड्रागन फ्रुट लगाएको छु।’
बाँदर आतंकले अन्नबाली भित्र्याउन नदिएपछि धेरै खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दो छ। तर, पछिल्लो समय ती जमिनमा बाँदरबाट छुट्कारा पाउन किसानहरू वैकल्पिक खेती उन्मूख भएका छन्। खाली खेतीयोग्य जमिनमा किसानहरूले बाँदरले नखाने प्रजातीका फलफूल लगाएर मनग्गे आम्दानी लिन थालेका छन्। यो खेती सबैभन्दा उत्तम विकल्प भएको अर्का कृषक नरबहादुर गुरागाईंले बताए। व्यवसायिक रुपमा ड्रागनफ्रुट खेतीबाट स्वदेशमै रोजगारीको बाटो खुलेको उनी बताउँछन्।
रोपेको २ वर्षमै यसले मनग्गे आम्दानी दिन थालेपछि किसान यो खेतीमा हौसिएका छन्। कृषकले बजारको माग अनुसार ड्रागनफ्रुट पुर्याउन सकेका छैनन्। स्थानीय बजारमा प्रतिकिलो ५ सयदेखि ७ सय रुपैयाँमा बिक्री हुने यसको माग बढ्दो छ। पछिल्लो समय नेपालमा उत्पादन गरिएको ड्रागनफ्रुट र कागती खेतीमा स्थानीयले रोजगारीसमेत पाएका छन्।
केही वर्षअघिसम्म सिँचाइ अभाव र बाँदरका कारण अन्नबाली भित्र्याउन नपाउँदा धेरै ग्रामीणबस्ती बसाइँ सर्न बाध्य थिए। बाँदरले दिएको हैरानीको उत्तम विकल्प खोज्दै राम्रो आम्दानीको श्रोत पनि भएको ड्रागनफ्रुट, कागती, टिमुर र मेकाडिया नट जस्ता फलफुल तथा नगदे बालीतर्फ युवापुस्ता पनि आकर्षित बनेका छन्। वैदेशिक रोजगारीमा जाने युवापुस्तालाई देशभित्रै व्यावसायिक खेतीउन्मुख गराउन सके बेरोजगारी न्यूनीकरण हुने स्थानीय ईन्द्र थापा बताउँछन्। भने, ‘स्वदेशमै रोजगारी सिर्जना गर्ने यो खेती पनि प्रमुख हो, यसलाई सबै तवरबाट प्रबद्र्धन गर्न सके देशको आयश्रोतमा पनि टेवा पुग्ने थियो, युवाहरू वैदेशिक रोजगारका लागि जानुपर्ने थिएन।’
पौवादुङमा–१ श्यामशिलाका कमल भुजेलले पनि ३० रोपनी जग्गामा यो वर्ष फलफुल र जडिबुटी खेती सुरु गरे। अन्नबालीमा बाँदरको आतंक बढे पछि उनले यो विकल्प रोजेका हुन्। बाँदर आतंकले दिएको सास्तीबाट छुट्कारा पाउन उनले मेकाडियानट, टिमुर र एवोकाडो जस्ता फलफुल र जडिबुटी खेती लगाएका हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)