मंसिरमा निर्वाचन सफल भए मात्र संसद् विघटन : पूर्वन्यायाधीश केसी
काठमाडौं : सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले मन्त्रिपरिषद्ले निर्वाचन घोषणा गरे पनि संसद् यथावत रहने बताएका छन् ।
सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेको छ।
निर्वाचनको मिति घोषणापछि संसद् विघटन हुन्छ कि हुँदैन भन्ने विषय उठिरहेको बेला पूर्वन्यायाधीश केसीले संसद् यथावत रहने बताएका हुन्।
'कथंकदाचित चुनाव भाँडियो भने पनि मुलुक संसदविहीन अवस्थामा रहँदैन, पूर्वन्यायाधीश केसीले अन्नपूर्ण पोष्टसँग भने, 'मन्त्रिपरिषद्ले घोषित मितिमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएपछि संसद विघटन हुने गरि निर्णय गर्नुपर्छ । त्यसो भएको अवस्थामा कथंकदाचित चुनाव भाँडियो भने पनि मुलुक संसदविहीन अवस्थामा रहँदैन ।'
यसबीचमा सरकार छाडा हुन नहुने उनले बताए ।
नेपालको संविधान धारा ८५ मा प्रतिनिधिसभाको कार्यकाल अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुने उल्लेख छ ।
न्यायाधीश केसीका अनुसार, ससद् विघटन हुनु र ५ वर्षे कार्यकाल पूरा हुनु संविधानको आँखामा फरक हो । 'अहिले प्रतिनिधिसभा विघटन नभई कार्यकाल पूरा हुन लागेको अवस्था हो । ५ वर्षे कार्यकालको हिसाब गर्दा ३ सय ६५ दिनलाई पाँच वर्षेले गुणा गरेर निकाल्ने पाँच वर्ष होइन,' उनले भने ।
प्रतिक्रिया दिनुहोस !