बैङ्किङ कसुरमा सोलुखुम्बुका एक युवक पक्राउ
सोलुखुम्बु : जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बैङ्किङ कसुरमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-७ देउसाका २७ वर्षीय दिपक किराँती रहेका छन्।
प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल जंग शाहका अनुसार उनलाई १६ लाख रुपैयाँभन्दा बढी रकमको चेक बाउन्स कसुरमा आइतबार साँझ सल्लेरीबाट पक्राउ गरिएको हो। गंगी माया राईले दिएको जाहेरीमा उच्च अदालत पाटनले जारी गरेको पक्राउ पूर्जीको आधारमा किराँतीलाई पक्राउ गरेको डिएसपी शाहले बताए।
किराँतीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले सोलुखुम्बु प्रहरीलाई पत्र लेखेको थियो। उनलाई आज (सोमबार) बिहान जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौँ पठाइएको छ।
उक्त कसुरमा लामो समयदेखि फरार किराँती जिल्ला भलिबल सघं सोलुखुम्बुका अध्यक्ष र वाइसीएल थुलुङ दुधकोशीको इन्चार्ज हुन्।