‘को–हजबेन्ड’ ले अमेरिकामा जित्यो अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड
![‘को–हजबेन्ड’ ले अमेरिकामा जित्यो अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड](https://annapurnapost.prixacdn.net/media/albums/co-husband_20220809090548_mnGWhPwg04.jpg)
काठमाडौं : नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड)ले अमेरिकामा अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड जितेको छ। अमेरिकाको एटलान्टमा अगष्ट ४ देखि ७ सम्म आयोजना भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा को–हजबेन्डले अवार्ड जितेको हो।
डकुमेन्ट्रीका निर्देशक गणेश पाण्डेले अवार्ड नेपाल र नेपालीका लागि पनि गर्वको विषय भएको बताए। ‘नेपालमा बनेको डकुमेन्ट्री फिल्मले विभिन्न देशका डकुमेन्ट्रीबीच प्रतिस्पर्धामा जित्नु आफैमा गर्वको कुरा हो। यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको शिर उच्च बनाउने मैले विश्वास लिएको छु’, उनले भने। आयोजक कब इन्टरनेसनल फिल्म फेस्टिभलका निर्देशक रिचर्ड टभेरनारोका अनुसार ६ सय फिल्मबाट ७० वटा फिल्म प्रतिस्पर्धाका लागि छनोट गरिएको थियो। यसअघि अमेरिकाको मेरियट चलचित्र महोत्सवमा पाण्डेकै ‘भाग्यले बाँचेकाहरू’ले पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो।
को–हजबेन्डले पनि अहिलेसम्म सात वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ। काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलबाट यात्रा आरम्भ गरेको को–हजबेन्डले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एक हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो।
नेपालमै आयोजित नेपाल–अफ्रिका चलचित्र महोत्सव, भारतको सिम्ला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र रसियामा आयोजित अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिभलमा सर्वोत्कृष्ट पुरस्कार ग्रान्ड प्रिक्स अवार्ड जितेको थियो। विश्वका एक दर्जन बढी चलचित्र महोत्सवमा छनोट भइसकेको को–हजबेन्डले स्लोभाकियाको पोपरोडमा आयोजित प्रतिष्ठित २९औं इन्टरनेसनल फिल्म फेस्टिभल अफ माउन्टेन फिल्मस् पोपराडमा अनरेवल मेन्सन अवार्ड जितेको थियो।
३५ मिनेटको डकुमेन्ट्री कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो। घरमा भएका दाजुभाइले एउटै श्रीमती विवाह गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले पहिलो पटक पर्दामा उतारेका थिए। निर्देशक पाण्डेले करिव चार वर्षको अनुसन्धानबाट को–हजबेन्ड निर्माण गरेका हुन्। बृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन्। जसको निर्मात्री शारदा गैरे, प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)