महोत्तरीमा सवारी दुर्घटना हुँदा ६ जना घाइते
महोत्तरी : महोत्तरीका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार महोत्तरी गाँउपालिका ०३ मडैमा जलेश्वरबाट बलवातर्फ जाँदै गरेको प्रदेश २–०–२००२ प ४७३१ नम्बरको मोटरसाईकल र विपरीत दिसा तर्फबाट आउँदै गरेको प्रदेश २–०२–००३ प ३१०९ नं.को मोटरसाइकल दुर्घटनामा परी ३ जना घाइते भएका छन्।
घाइते हुनेमा बलवा नगरपालिका-६ का २० वर्षीय नवीन यादव, बलवा नगरपालिका-९ का २२ वर्षीय शहिद राइन र २१ वर्षीया जाहाना खातुन रहेका छन्। उनीहरुलाई उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ।
त्यस्तै औरही नगरपालिका ७ भोयलमा औरही बाट रामगोपालपुरतर्फ जाँदै गरेको ना.५३ प.४०९९ नं.को मोटरसाइकलले साइकल यात्रु स्थानीय १६ वर्षीय ऋतिक यादवलाई पछाडिबाट ठक्कर दिएको थियो। यादवको प्राथामिक उपचार केन्द्र गौशालामा उपचार भइरहेको छ।
त्यस्तै आजै एकडारा गाँउपालिका ३ अजमरपट्टीमा जलेश्वरबाट सम्सी तर्फ जाँदै गरेको प्रदेश २–०४–००१ प ०५८१ नं.को मोटरसाईकल आफै अनियन्त्रित हुँदा तीन जना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकलका चालक जलेश्वर नगरपालिका-६ का १९ वर्षीय समसुराजुल राइन, १८ वर्षीय आदित्य कुमार महासेठ रहेका छन्।
दुवै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। दुर्घटनामा परेका सबै मोटरसाइकलहरु प्रहरीको नियन्त्रणमा रहेको छ।
प्रतिक्रिया दिनुहोस !