शपथ र तथ्यांक विधेयक पारित
![शपथ र तथ्यांक विधेयक पारित](https://annapurnapost.prixacdn.net/media/albums/parliament-House-of-Representatives_20220811060447_wpOjNQbTOQ.jpg)
काठमाडौं : प्रतिनिधिसभाबाट बुधबार दुई विधेयक पारित भएका छन्। राष्ट्रिय सभाबाट पारित भएर आएका शपथसम्बन्धी विधेयक र तथ्यांक विधेयक पारित भएका हुन्।
शपथसम्बन्धी विधेयक, २०७९ र तथ्यांक विधेयक, २०७८ बहुमतले पारित भएको संसद् सचिवालयले जनाएको छ। शपथसम्बन्धी विधेयकलाई प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले र तथ्यांकसम्बन्धी विधेयकलाई गृहमन्त्री बालकृष्ण खाँणले पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।
गृहमन्त्री खाँणले ऐनलाई समय सान्दर्भिक बनाइ तथ्यांकसम्बन्धी आवश्यकता पूरा गर्न विधेयक अघि बढाइएको बताए। तथ्यांक संकलन गर्नु सरकारको दायित्व रहेको बताउँदै उनले देशभरका हरेक विषयको तथ्यांक संकलन र उपयोग गर्न यसले सहयोग गर्ने बताए।
तथ्यांक विभागको कार्यालय ३३ जिल्लामा रहेको र तिनैले ७७ जिल्ला हेर्नुपर्ने हुँदा सबै जिल्लामा कार्यालय विस्तार गर्ने र कर्मचारीको क्षमता अभिवृद्धि गराउन आवश्यक हुने उनको भनाइ छ। यसअघिको सरकारले २८ फागुन २०७६ मा ल्याएको यो विधेयक २० साउन २०७८ मा राष्ट्रिय सभाबाट पारित भएको थियो। राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकलाई बुधबार प्रतिनिधिसभाले पनि पारित गरेको हो।
शपथसम्बन्धी विधेयकलाई पारित गरियोस भन्ने प्रस्ताव पेस गरेका मन्त्री कोइरालाले सार्वजनिक पदधारण गर्ने व्यक्तिले ‘मुलुकको कानुनप्रति प्रतिबद्ध छु र त्यसलाई शतप्रतिशत कार्यान्वयन गर्छु,’ भन्ने स्वघोषणाका रूपमा शपथलाई लिइएको व्यवस्था विधेयकमा रहेको बताए। उनले राज्यका विभिन्न जिम्मेवारीमा पुग्ने व्यक्तिहरूलाई जिम्मेवार बनाउने दृष्टिकोणका साथ शपथको प्रचलन संसारभर नै चलेको बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)