युवालाई आह्वान

युवालाई आह्वान

प्रत्येक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने गरिन्छ। यस वर्षको युवा दिवसको थिम ‘सबै उमेरका मानिसका लागि विश्वः अन्तर्राष्ट्रिय ऐक्यबद्धता’ रहेको छ भने, ‘हाम्रो विश्व परिवर्तन गरौं’ भन्ने नारा रहेको छ। कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी युवा रहेको नेपालमा युवा दिवसको छुट्टै महत्व छ। त्यसो त युवा दिवस मनाएर मात्र समग्र युवाको विकासमा खासै योगदान नपुर्‍याए पनि यसको सांकेतिक अर्थ भने महत्वपूर्ण छ।

कमनवेल्थ राष्ट्रहरूको संगठनले युवा विकासका विविध आयामलाई समेटेर विश्व युवा विकास सूचकांक प्रकाशन गर्ने गरेको छ। युवा विकास सूचकांक गणना गर्दा युवाको स्वास्थ्य तथा कल्याणको अवस्था, शिक्षा, रोजगारी र अवसर, समानता र समावेशीता, राजनीति र नागरिक सहभागिता, शान्ति तथा सुरक्षाजस्ता विषयहरूलाई आधार बनाइएको हुन्छ। यिनै विषयहरूको आधारमा गणना गरिएको विश्व युवा विकास सूचकांक २०२० का अनुसार ०.८७५ स्कोरका साथ सिंगापुर पहिलो स्थानमा छ भने चाड ०.३९८ स्कोरका साथ अन्तिम स्थानमा रहेको छ। यस सूचकांकमा नेपाल भने ०.६८९ स्कोरका साथ ९४ औं स्थानमा रहेको छ।

नेपालको सामथ्र्यको चर्चा गर्दा यहाँको युवाशक्तिलाई प्राथमिकतापूर्वक उल्लेख गर्ने गरिन्छ। देशको जनसंख्याको ठूलो हिस्सा युवा हुनुलाई नीति निर्माताहरू जनसांख्यिक लाभका रूपमा व्याख्या गर्ने गर्छन्। भाषणवाजी र नीतिगत छलफलमा युवाशक्तिलाई प्राथमिकतामा राखे पनि युवालाई अवसर दिन भने राष्ट्र चुकेको छ। जीवनको सबैभन्दा ऊर्जाशील समय भए पनि नेपाली युवाहरूको सबैभन्दा ठूलो समस्या बेरोजगारी तथा अर्धबेरोजगारी भएको छ। श्रमशक्ति सर्वेक्षण २०७५ का अनुसार देशभरमा ९ लाख ८ हजार जना पूर्ण बेरोजगार छन्। यी पूर्ण बेरोजगार जनसंख्याको ३८.१ प्रतिशत १५–२४ वर्ष उमेर समूहका छन् २५–३४ वर्ष उमेर समूहका ३१.१ प्रतिशत छन्। प्रदेशगत रूपमा हेर्दा दर सबैभन्दा उच्च बेरोजगारी दर मधेस प्रदेशमा २०.१ प्रतिशत र त्यसपछि क्रमशः सुदूरपश्चिम प्रदेशमा ११.५ प्रतिशत, लुम्बिनी ११.२ प्रतिशत, प्रदेश एकमा १०.२ प्रतिशत, कर्णाली प्रदेशमा ९.७ प्रतिशत, गण्डकी प्रदेशमा ९ प्रतिशत र बागमती प्रदेशमा सबैभन्दा कम ७ प्रतिशत बेरोजगारी दर रहेको छ। उच्च उत्पादकत्व भएका यी युवाको अर्थतन्त्रमा उपयोग हुन नसक्नु उनीहरूका लागि मात्र होइन देशकै लागि ठूलो नोक्सान हो।

त्यस्तै देशभित्र रोजगारीको अभावमा झन्डै ५० लाख युवा विश्व श्रम बजारमा पुगेका छन्। वैदेशिक रोजगारीका लागि गएका युवाहरूले पठाएको विप्रेषणले देशको कुल गार्हस्थ्य उत्पादनको झन्डै २५ प्रतिशत हिस्सा ओगट्छ। त्यति मात्र होइन विदेशी मुद्रा सञ्चिति खस्कँदै गएर दुर्घटनाको निकट पुगेको नेपाली अर्थतन्त्रलाई एउटा भरपर्दो आधार बनेको छ युवाहरूले वैदेशिक रोजगारीबाट पठाएको विप्रेषण।

देशको सामथ्र्यका रूपमा रहेको युवाशक्तिको महत्व देशले बुझ्न सकेको छैन। त्यसैले त नीतिगत तहमा युवाका मुद्दालाई सही रूपमा उठाइएको छैन र युवाको समस्या समाधानमा सरकार गम्भीर देखिँदैन। राजनीतिक दलहरूले पनि युवा प्रतिनिधित्व र राजनीतिमा युवालाई अवसर दिन कञ्जुस्याँइ गरेको देखिन्छ। दुःखका साथ भन्नुपर्छ युवालाई नेतृत्वले खासै विश्वास गरेको देखिँदैन। तर, यथार्थ के हो भने विश्वका महान व्यक्तित्वहरूले युवा अवस्थामा नै इतिहास निर्माताका रूपमा आफूलाई स्थापित गरिसकेका थिए। विश्व कम्युनिस्टका महान गुरु कार्ल माक्र्स कम्युनिस्ट घोषणापत्र तयार गर्दा ३० वर्षका थिए, नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा कमरेड पुष्पलाल २५ वर्षका युवा थिए। त्यस्तै जार शाहीविरुद्ध आहुती दिँदा अलेकजेन्डर हुन् वा राणाशासनविरुद्ध सगर्व फाँसी चढ्ने गंगालाल पनि युवा नै थिए। यी तथ्यहरूले पनि युवा अवस्था जोस, जाँगर, सिर्जनशीलता र क्रान्तिकारिताले भरिपूर्ण हुन्छ भन्ने पुष्टि हुन्छ।

त्यसोत भर्खर सम्पन्न स्थानीय तहको निर्वाचनमा ४० प्रतिशतको हाराहारीमा युवा निर्वाचित भएका छन्। यो एउटा सुखद् संकेत हो। अब हुन गइरहेको प्रादेशिक तथा संघीय निर्वाचनमा पनि युवाहरूको प्रतिनिधित्व त्योभन्दा उत्साहप्रद हुनैपर्छ र त्यसको लागि युवाहरू लाग्नै पर्छ। यसले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय सपना पूरा गर्न सम्भव तुल्याउँछ।

नेपालमा युवा विकासका लागि नीतिगत तथा संस्थागत व्यवस्था हुँदै नभएको पनि होइन। युवा विकासका लागि संवैधानिक व्यवस्था हुनु, युवाहरूको समग्र विकासका लागि युवा तथा साना व्यवसायी स्वरोजगार कोष, राष्ट्रिय युवापरिषद् लगायतका विभिन्न संरचनात्मक प्रबन्ध हुनुु आदि सकारात्मक पक्षहरू हुन्। तर, पनि यी व्यवस्था पर्याप्त हुन सकेको छैन। युवा लक्षित नीति तथा कार्यक्रमहरू पनि अनुसन्धानमा आधारित नहुँदा तथा अद्यावधिक तथ्यांकको अभावमा सहज कार्यान्वयन र नतिजामुखी हुन् सकेका छैनन्। आन्तरिक श्रम बजारमा भएको श्रमिकको माग र आपूर्तिको वस्तुगत तथ्यांक तथा समन्वयको अभावमा एकातर्फ श्रमिकले रोजगारी नपाउने अवस्था छ भने अर्कोतर्फ श्रमबजारमा श्रमिकको अभाव पनि देखिएको छ। यस्तो अवस्थाको अन्त्यका लागि वडा तथा पालिका तहबाट नै युवा जनशक्तिको तथ्यांक अद्यावधिक गर्ने श्रमबजारसँग समन्वय गर्नुपर्ने देखिन्छ। हाल भइरहेको जस्तो युवा श्रमशक्तिको निर्यात र उपभोग्य वस्तुको आयात गर्ने अवस्था रहने हो भने जनसांख्यिक लाभबाट देशले खासै फाइदा लिन सक्दैन।

देशका हरेक क्षेत्रको विकासको अवस्था प्रारम्भिक चरणमा रहनुले देशभित्रै असीमित अवसरलाई देखाउँछ। त्यस्तै भूमण्डलीकरणले साँघुरो बनाएको विश्वमा देशभित्रैबाट विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने वातावरण पनि बनाएको छ। तर, यी निकायले समग्र युवालाई समेट्न सकेको छैन। त्यसैले युवा लक्षित यी संस्थागत संरचनालाई स्पष्ट कार्यदिशा, बलियो संरचना, विस्तारित भूमिका तथा राजनीति हस्तक्षेपमुक्त बनाउने हो भने यिनको कार्य सम्पादन अझ प्रभावकारी हुने अपेक्षा गर्न सकिन्छ। विद्यमान अवसरहरूलाई अझ विस्तार गर्दै युवाहरूको क्षमतालाई देशभित्रै उपयोग गर्न सके देशको आर्थिक वृद्धि र समृद्धिले गति लिन सक्नेमा विश्वस्त हुन सकिन्छ।

र अन्त्यमा, अवसर मागेर पाइँदैन, संघर्ष गरेर लिनुपर्छ। जुनसुकै क्षेत्रमा युवाको प्रतिनिधित्वका लागि पनि यो मन्त्र लागू हुन्छ। त्यसैले हरेक क्षेत्रमा रहेका युवाहरूले आफ्नो क्षेत्रमा परिवर्तनका लागि नेतृत्व गर्न हरदम तयार रहनै पर्छ। त्यसैले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हरेक युवाले प्रतिबद्धता व्यक्त गरौं र अर्को युवालाई आह्वान गरौं ‘अबको पालो युवाको हो र युवाको नेतृत्वमा नै भोलिको सुन्दर र समृद्ध विश्व सम्भव हुन्छ।’ आउ हातेमालो गरौं विश्व परिवर्तनको लागि !

पौडेल राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.