‘राष्ट्रियता त खोसियो, नेपाली भाषा–संस्कृति नखोसियोस्’

‘राष्ट्रियता त खोसियो, नेपाली भाषा–संस्कृति नखोसियोस्’

पेन्सलभेनिया (अमेरिका) : हजारौँ नेपालीभाषीसँगै छन् तीन अमेरिकी अधिकारी। उनीहरूकै सामुन्ने घन्किन्छ गोपाल योञ्जनको शब्द, संगीत र स्वरले सुसज्जित नेपाली स्वदेश गान ‘पश्चिम कोही पूर्व घर आँगन तर एउटै हो...।’ मञ्चमा झुल्किन्छन् नेपाल र भुटानको झन्डासँगै बालबालिका। 

अमेरिकी अधिकारीलाई साक्षी राखेर प्रस्तुत नृत्य भव्य मात्रै भएन, त्यहाँ भावुकता पनि पोखियो। लगत्तै सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ जिज्ञासु बन्छन्, ‘के हामी भारत–भुटान वा नेपालमा अर्काको देशको झन्डा फहराउँदै नाच्न गाउन पाउँछौं ?’ 

विश्व भुटानी साहित्य संगठन (जीबीएलओले) पेन्सिलभेनियाको ह्यारिसबर्गमा हालै गरेको ‘अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान–५’ मा छचल्किएका उक्त भावनामा चाम्लिङको जिज्ञासाले धेरैलाई सोचनीय बनायो। चाम्लिङ आफैं जवाफ दिन्छन्, ‘भुटानले राष्ट्रियता खोसेर लखेट्यो। पुर्खाको देश नेपालले शरणार्थीको दर्जा दियो। तर, सात समुद्रपारिको देश अमेरिकाले तपाईंहरूलाई नागरिकता दियो। देश बनाउन ठूलो छाती चाहिँदो रैछ, त्यसैले त होला अमेरिका संसारको शिखर बनिरहेछ।’

चाम्लिङका भावना मलजल बनेर आउनुअघि नै कार्यक्रम सञ्चालक जीबीएलओका संस्थापक अध्यक्ष डेन्जोम राईका शब्दले सान्नाटा छाइसकेको थियो। अमेरिकी नागरिक नै बनिसके पनि उनी कवितामार्फत भनिरहेका थिए, ‘आफू जन्मिएको माटो देश बन्न सकेन, पुर्खाको देश आफ्नो हुन सकेन।’ 

नेपाली भाषा र संस्कृतिबाट बिमुख पार्दै भुटानबाट लखेटिएपछि नेपाल हुँदै अमेरिका आउँदासम्मका उनीहरूका आरोह अवरोहले धेरैको मन कुँडिन्छ। भुटान छँदा त्यहाँको राष्ट्रिय गान गाएका उनीहरू नेपाल छँदा नेपालकै र अमेरिका छँदा अमेरिकाकै गान गाइरहेका छन्। उनीहरूको राजनीतिक राष्ट्रियताको स्थायी ठेगाना त टुंगो लाग्यो तर प्रश्नले खेद्न छाडेको छैन, ‘अल्पसंख्यक भएकाले फेरि अर्को देशको राष्ट्रिय गान गाउन पर्ने त होइन ?’ तर, प्रजातान्त्रिक मुलुक अमेरिकामा अल्पसंख्यक भएबापत वा सांस्कृतिक र भाषिक राष्ट्रियता नेपाली भएबापत उनीहरू भेदभावमा छैनन्। बरू समानता र सुविधा पाएका छन्। ‘अल्पसंख्यक र फरक भाषी हाम्रा सम्पत्ति हुन्। हामी उनीहरूका संस्कृति स्थापित गर्न चाहान्छौं’, डाउफिन काउन्टी बोर्ड अफ कमिस्नरका अध्यक्ष माइक प्रिसले भने, ‘जुलाई २९, २०२२ अब डाउफिन काउन्टी ग्रेट इन्टरनेसनल क्रिएटिभ सेरमोनी डे।’

पेन्सिलभेनिया गभर्नर कार्यालयले पुनस्र्थापित नेपाली भाषीको छोटो समयको प्रगति र भविष्यको सुनिश्चितता लोभलाग्दो भएको जनाएको छ। ‘नेपालबाट पुनस्र्थापित भएर अमेरिका आएकामध्ये पेन्सिलभेनियामा ३८ हजार नेपालीभाषी भुटानी बस्छन्। उनीहरू अब यहाँ स्थापित भइसकेका छन्। एक दशकमै उनीहरूको प्रगति लोभलाग्दो छ। अब उनीहरू भुटानी अमेरिकन हुन्। हामी उनीहरूको समानता र न्यायका लागि सदैव साथमा छौँ,’ गभर्नर सल्लाहकार कार्यालयकी कार्यकारी निर्देशक स्टेफन सनले भनिन्। आफ्नै भाषासंस्कृति प्रवद्र्धन गर्न खोज्दा अल्पसंख्यक भएकाले पनि भुटानी शासकको दमनमा परेका उनीहरूलाई बिरानो देशको राजनीतिक राष्ट्रियताले भविष्यको सुनिश्चितता त दिएको छ तर घरीघरी अतीतले खेद्छ। त्यस्तै अवस्था आइलागे के होला ? त्यसैले पनि उनीहरू संगठित भइरहेका छन्।

तेस्रो देश पुनर्वाससँगै नेपाली भाषी भुटानीहरूको आर्थिक अवस्था फेरिएको छ। भाषासंस्कृति पनि फेरिने हो कि भन्ने डरले उनीहरूलाई गाँजेको छ। भाषाभेष, रहनसहन र संस्कृति नफेरियोस् भनेर तीन–तीन वर्षमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलनमार्फत उनीहरू धरातल जोगाउन लागिपरेका छन्। 

‘राजनीतिक राष्ट्रियता फेरिए पनि संस्कृति र भाषिक राष्ट्रियता जोगाउने चुनौती चानचुने छैन’, जीबीएलओका अध्यक्ष कर्ण गुरुङले भने, ‘पुनर्वासपछि जन्मिएको पुस्तालाई नै नेपाली भाषा सिकाउने चुनौतीले घेरेपछि भर्चुअल दुनियाँमा हामीले विश्वव्यापी शिक्षा कार्यक्रम (जीईपी) अनलाइन नेपाली पाठशाला सञ्चालन गरेका छौँ।’ गुरुङका अनुसार अनलाइन नेपाली पाठशालामार्फत तीन वर्षदेखि पठनपाठन भएको छ। बालबालिकालाई सिकाइ वृद्धिका लागि नेपाली किड्स टीभीमार्फत युट्युबबाटै पनि नेपाली भाषा सिकाउन थालिएको उनले बताए।

बिरानो देशमा आफ्नै भावी पुस्ताबाट भाषा संस्कृतिको सुरक्षा खोजिरहेका उनीहरूलाई विख्यात सर्जक र समालोचकहरूले होस्टेमा हैसे गरिरहेका छन्। सिक्किमका पूर्वमुख्यमन्त्री चाम्लिङले नेपाली भाषा जोगाउनमात्र नभई विस्तारमा प्रवद्र्धन गर्न पर्ने सुझाए। ‘भाषाको माध्यमबाट अंग्रेजहरूले अहिले पनि विश्वभरि शासन गरिरहेका छन्’, उनले भने, ‘नेपाली भाषा प्रवद्र्धन गर्न सके हामी अरूबाट शासित होइन, आफैं शासन गर्न सक्छौँ।’ 

नेपाली भाषा संसारभर फैलाउन स्वीकारोक्ति दर्शन प्रतिपादन गरे पनि प्राज्ञिक रूपमा स्थापित नगरिएकामा जीबीएलओमा आबद्धहरूको गुनासो छ। ‘स्वीकारोक्ति दर्शन सबैको अस्तित्व अटाउने दर्शन हो, हामी द्वन्द्वरहित विश्वको कल्पना गर्छौं,’ अभियान्ता आभाष रिखामले भने, ‘हाम्रो कार्यक्रम नै पनि शान्ति पदयात्राबाट सुरु भयो। हामी विश्व जोगाउन शान्तिकै लागि हरियो टीकादेखि हरियो पोसाकसम्मको संस्कृति स्थापित गर्न लागिपरेका छौँ। तर, विडम्बना बौद्धिक जगत् यसलाई बेवास्ता गरिरहेको छ।’

अर्का अभियन्ता पातलो अन्तरे नेपाली बौद्धिक जगत् सिद्धान्त प्रतिपादनमा भन्दा पनि अर्काको सिद्धान्तमा मात्रै सीमित हुँदा नेपालीले नै प्रतिपादन गरेको सिद्धान्त ओझेलमा परेको बताउँछन्। यसका लागि संसारका धेरै भाषामा अनुवाद गर्न पर्ने वरिष्ठ समालोचक डा. गोविन्द भट्टराई बताउँछन्। ‘नेपाली भाषी भुटानीहरूले अब हीनताबोध गर्नुपर्ने देखिन्न। बरु आफ्नो प्रगति र उन्नतिमा गौरव गर्नुपर्छ’, भट्टराईले भने, ‘स्थिरता होइन अब गतिशीलता जरुरी छ। तपाईंहरूले नेपाली भाषा र साहित्यलाई दिएको योगदान अद्वितीय छ। अब अरू भाषामा अनुवाद गरेर छ्यापछ्याप्ती पार्न जरुरी छ।’ 

नेपाली भाषा समग्रतामा एउटै भए पनि त्यसभित्रको पहिचानको विविधता समेट्ने गरी विश्वविद्यालयकै पाठ्यक्रममा समावेश गर्ने कोसिस भइरहेको पनि उनले बताए। भट्टराईले अब नेपाली साहित्यमा नवीनतम् प्रयोग 
टड्कारो भएको औँल्याए। 

सिक्किम विश्वविद्यालयका प्राध्यापक डा. कविता लामाले ‘नेपाली साहित्य लेखनको स्थिति र वैश्वीकरणको संयुक्त प्रयासमा भारतीय नेपाली अनि पुनर्वासित भुटानीहरू’ शीर्षकको कार्यपत्रमार्फत स्वीकारोक्ति सिद्धान्त प्रतिपादनमा जीबीएलओको भूमिकादेखि स्थापित गर्न भइरहेका प्रयासबारे चर्चा गरिन्। नेपाली भाषा साहित्य अब अनुवाद गरेर विश्वस्तरमा लान पर्नेमा उनले जोड दिइन्। साहित्यको स्तर अब्बल बनाएर आफ्नो समुदायले नभई अरूले चर्चा गर्न लायक बनाउनुपर्ने उनको धाराणा थियो। 

लेखक कृष्ण धरावासीका शब्दमा अहिलेको लेखन मुद्दाकेन्द्रित भएको छ। लेखकले कल्पना नै गर्न छाडेकाले नेपालीमार्फत सिद्धान्तको नयाँ प्रयोग वा जन्म नै नहुने जोखिम बढेको उनी बताउँछन्। चार पेजको निबन्धले सिद्धान्तको रूप लिएको स्मरण गर्दै उनले भने, ‘सर्जक कल्पनाशील हुन सकेन भने सिद्धान्त जन्मिँदैन, समाजको अध्ययन होला तर मान्छेको अध्ययन नै हुँदैन।’ सिद्धान्त परिष्कृत हुने वा नयाँ जन्मिनेसम्म हुन्छ तर साहित्य लेखन भुत्ते भएको त होइन भन्ने चिन्ताले सताउन थालेको धरावासी बताउँछन्। 

पारिजातको शिरीषको फूलको उदाहरण दिँदै उनले भने ‘मनको द्वन्द्वलाई शंकर लामिछानेले अस्तित्ववाद भने। अहिले आएर उत्तर आधुनिकतावाद भयो। अलिक पछि त्यो लीला लेखन होला’, उनले भने, ‘समयअनुसार व्याख्या फेरिँदै जाँदा सबै सिद्धान्तमा खास कृतिको चर्चा हुनु सर्वाधिक सफलता हो। अबको बाटो त्यस्तै समाउनुपर्छ।’

दार्जिलिङकी स्रष्टा विन्द्या सुब्बाले साहित्य लेखनमा नारीवादको औचित्य दर्शाइन्। सर्जक मधुमाधुर्यले साहित्यको नवीनतम् प्रयोग ‘क्वान्टम साहित्य’ को आवश्यकता बोध गराउने प्रयत्न गरे। क्वान्टम साहित्यलाई वैज्ञानिक चिन्तन र सिर्जनात्मक प्रस्तावनाको संज्ञा दिएका मधुमाधुर्यले भने, ‘यो सिद्धान्त कोरा सिद्धान्तका प्रचलित संरचना वा मान्यताका परिधि नाघेर अघि बढ्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.