गोरखाका पालिकाले विद्यालयमा वितरण गरेको स्यानेटरी प्याड गुणस्तरहीन

गोरखाका पालिकाले विद्यालयमा वितरण गरेको स्यानेटरी प्याड गुणस्तरहीन

गोरखा : गोरखाका पालिकाहरूले सामुदायिक विद्यालयका छात्राहरूलाई गुणस्तरहीन स्यानेटरी प्याड वितरण गर्ने गरेको छ। कतै साइजै नमिल्ने र कतै चुहिने स्यानेटरी प्याड वितरण गरेको विद्यालयहरूको गुनासो छ। ‘हाम्रो स्कुलमा त धेरै पातलो र गुणस्तरहीन प्याड आएको छ’, सूर्योदय मावि धार्चेका प्रअ लोकबहादुर गुरुङ भन्छन्, ‘कस्तो कमसल खालको प्याड हो कुन्नि, चुहिन्छ भनेर छात्राहरू लगाउनै आनाकानी गर्छन्।’ च्यातेर हेर्दा प्याडभित्र न्याप्किन पेपरलाई एकसरो ढाकेर बनाएको भेटिएको गोरखा नगरपालिकाको एक विद्यालयका प्रअ बताउँछन्।

देशभर आपूर्ति गर्न ठेकेदार कम्पनी र उत्पादक कम्पनीको मिलेमतोमा कमसल प्याड उत्पादन गरेर आपूर्ति गरिएको उनको तर्क छ। ‘गत वर्ष २४५ एमएमको थियो। अहिले २४० एमएमको छ’, बालमन्दिर माविका प्रअ शिव थापा भन्छन्, ‘बर्सेनि गुणस्तर खस्किँदै छ। साना ठूला सबै विद्यार्थीलाई एउटै साइजको प्याड दिनु र नदिनुको अर्थ छैन।’महिनावारी हुँदा असुविधा भएकाले छात्राहरूले बिदामा बस्नुपर्ने तथा कतिपयले पढाइ नै छाड्नुपर्ने गुनासो बढ्न थालेपछि सरकारले पाँच वर्षअघिदेखि निःशुल्क प्याड वितरणको कार्यक्रम ल्याएको हो।

‘गाउँपालिकाले छात्राहरूलाई प्याड दिने कार्यक्रम सञ्चालन गर्न थालेपछि अहिले महिनावारी हुँदा विदामा बस्नु परेको छैन। ‘ड्रपआउट’ पनि हुँदैनन्’, आहाल भञ्ज्याङ मावि थालाजुङका प्रधानाध्यापक केसरसिँह बस्नेत भन्छन्, ‘निःशुल्क प्याड वितरण गर्ने कार्यक्रम धेरै प्रभावकारी बनेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाले टेन्डर गरेर एउटै साइजको प्याड किन्ने रहेछ। हाम्रातिर बाहुन समुदाय र गुरुङ समुदायका छात्राहरू छन्। कोही मोटा छन्, कोही दुब्ला पातला। एउटै साइजका प्याड कसरी मिल्छ ?’

प्रभावकारी कार्यक्रम भएकाले नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने तर समस्या र सुझाव संकलन गर्नुपर्ने

गुणस्तरहीन र बेसाइजका प्याड दिने कार्यक्रम खाए खा, नखाए घिच भनेजस्तो रहेको उनको भनाइ छ। गोरखाका सबै पालिकाको स्वास्थ्य शाखाले विद्यालयहरूमा यथेष्ट प्याड वितरण गरेको छ। स्कुलका छात्राहरूलाई मात्र नभई उनीहरूका घरका आफन्त र शिक्षिकाहरूलाई समेत पुग्ने गरी स्यानेटरी प्याड उपलब्ध गराउने गरेका छन्। परिमाणमा पर्याप्तता भए पनि गुणस्तरमा कमजोरी रहेको महालक्ष्मी मावि लक्ष्मीबजारका प्रधानाध्यापक चुडामणि काप्रीको भनाइ छ। ‘नगरपालिकाले पर्याप्त मात्रामा स्यानेटरी प्याड पठाउँछ। गत वर्ष उब्रेको प्याड हामीले द्रव्यशाह क्याम्पसका छात्राका लागि समेत दुई बोरा दिएका थियौँ’, उनी भन्छन्, ‘यो कार्यक्रम असाध्यै राम्रो छ। तर, गुणस्तरमा भने समस्या छ। एउटै थैलाभित्र पनि थरीथरी प्याड हुन्छ कि ? कुनै राम्रो, कुनै नराम्रो फेला पारेको छु।’ गुणस्तर नापजाँच हुनु जरुरी रहेको उनको सुझाव छ।

‘ठेक्का लागेको भन्दा ५० प्रतिशत घटेर ठेक्का पारेका रहेछन्’, उनले भने, ‘त्यसैले कम गुणस्तरका प्याड उपलब्ध गराएका हुन सक्छन्।’ विभिन्न उमेर र विभिन्न शारीरिक बनोटका छात्राहरूलाई एउटै साइजका प्याड उपयुक्त नभएको सदरमुकामको शक्ति माविका प्रधानाध्यापक बद्री अर्यालको भनाइ छ। ‘हाम्रो विद्यालयमा पाँच सय जना जति छात्राहरू छन्। वार्षिक ३० बोरा स्यानेटरी प्याड आउँछ’, उनी भन्छन्, ‘घरमा अरू महिनावारी हुनेहरूलाई पनि दिए हुन्छ भनेर पठाउने गरेका छौँ।तर, जति आएपनि क्वालिटी चाहिँ खत्तम छ। चार÷पाँच कक्षा पढ्ने र ११, १२ कक्षा पढ्नेहरूलाई एउटै साइजको प्याड कसरी मिल्छ र ? ’

प्रभावकारी कार्यक्रम भएकाले नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने तर समस्या र सुझाव संकलन गर्नुपर्ने उनले बताए। बारपाकको हिमालय माविमा पनि विगत पाँच वर्षदेखि प्याड वितरण हुन्छ। गुणस्तर र साइजसम्बन्धी गुनासो नआउने गरी प्याड वितरण गर्न सके छात्राहरूका लागि धेरै प्रभावकारी हुने प्रअ जनीबहादुर घलेको भनाइ छ।

पालिकाले भने तोकिएको मापदण्डअनुसार प्याड वितरण गरेको जनाएको छ। गोरखा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख ईश्वर रेग्मी भन्छन्, ‘तर साइज, बाक्लोपन गुणस्तर विभागले नापजाँच गरेर वितरण गरेका हौं ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.