संकटमा पुराना ‘फिल्म हल’

संकटमा पुराना ‘फिल्म हल’

विराटनगर : जलजला र इन्द्र सिनेमा घर विराटनगरका चर्चित ‘फिल्म हल’ थिए। दुवै ‘फिल्म हल’ (चलचित्र घर) बन्द भएको डेढ  दशक भइसकेको छ। 

जलजला विराटनगरकै पुरानोभित्र पर्छ। यो हल भएको स्थानको सडकको नाम नै जलजला रोड राखिएको थियो। जुन अहिले पनि कायमै छ। तर, बन्द भएको ‘फिल्म हल’ले भने आफ्नो अस्तित्व मेटाइसकेको छ। 
विराटनगरको भूमि प्रशासन चोकको इन्द्र सिनेमा घर १५ वर्षभन्दा बढी समय सञ्चालन हुन सकेन। मुलुककै बढी दर्शक क्षमताका रूपमा यो ‘फिल्म हल’को चर्चा हुन्थ्यो। यहाँ कार्यरत कालु राईका अनुसार इन्द्र

‘फिल्म हल’ एक हजार एक सय क्षमताको थियो। पहिलो पटक नेपाली कथानक चलचित्र ‘देउकी’को ‘शो’ देखाएर ५० को दशकबाट हल सञ्चालनमा आएको राईले बताए। मनोरञ्जन क्षेत्रमा सरकारबाट सहुलियत नपाएर सञ्चालन खर्च धान्न नसकेर तथा दर्शकको अभाव र आन्तरिक कारण दुवै ‘फिल्म हल’ बन्द भएका थिए। जलजला र इन्द्र बन्द भइसकेको अवस्थामा चलचित्र क्षेत्रलाई माया गरी दर्शकलाई मनोरञ्जन दिलाउँदै आएका विराटनगरका अन्य पुराना ‘फिल्म हल’ पनि यस्तै संकट झेल्दै छन्। विराटनगरमा जलजला, इन्द्रसँगै हिमालय, इन्द्र, अरुण, बाबासमेतका पुराना ‘फिल्म हल’ थिए। 

सञ्चालनमा रहेका हल विशेषतः कोरोना महामारीका कारण लामो सयमसम्म बन्द भए। पछिल्लो समय ती हल खुले पनि उठ्न भने सकिरहेका छैनन्। अहिले कोरोनाको संक्रमण तीव्र बन्दै जाँदा दर्शक आउन छाडिसकेका छन्। दर्शककै भरमा रहने पुराना ‘फिल्म हल’लाई आन्तरिक खर्च धान्न हम्मे परिरहेको छ। 

विराटनगरको रानीमा रहेको बाबा ‘फिल्म हल’ कोरोना महामारीपछि सञ्चालनमै आउन सकेको छैन। अरुसँग प्रतिस्पर्धामा आउन नसक्दा अस्तित्वमा रहेका अरुण र हिमालय पनि संकटपूर्ण अवस्थामा छन्। सरकारले लगाएको विभिन्न करको मार धान्न नसकिरहेका बेला कोरोना महामारी र प्रविधिले मारेको फड्को पुराना ‘फिल्म हल’ सञ्चालन निरन्तरताको बाधक बनेको अरुण सिनेमा घरका सञ्चालक राज ताम्राकारले बताए। 

इन्टरनेट, मोबाइल, मल्टीप्लेक्सको प्रवेश तथा कोरोना महामारीले पुराना ‘फिल्म हल’को अस्तित्व संकटमा परेको उनको बुझाइ छ। ताम्राकारका अनुसार भ्याट, स्थानीय कर, चलचित्र विकास शुल्क, विद्युतको चर्को महसुललगायतले समस्या बनाइरहेको छ। ‘कोरोना महामारीमा लामो समय हल बन्द गर्नुपर्दा सरकारबाट सहुलियत पाइएन’, उनले भने, ‘त्यहाँमाथि अत्याधुनिक हलसँग प्रतिस्पर्धा गर्न नसक्नेलगायतका 
अनेक समस्या छन्।’

२०३५/०३६ बाट सञ्चालनमा आएको अरुण चार सय ६५ दर्शक क्षमताको छ। हलम ादैनिक तीनवटासम्म ‘शो’ चल्ने गरेको थियो। दर्शक खचाखच हुन्थे। पछिल्लो समय दर्शक नै आउन छाडेको उनले सुनाए। ‘दर्शकले हल ‘हाउसफुल’ नभएको लामो समय भयो। खर्च धान्नै सकेको छैन’, ताम्राकार भन्छन्, ‘नेपाली चलचित्र लामो समय नटिक्ने हुँदा हिन्दी चलचित्रको भरमा हल चलाउर्नुपर्छ। पछिल्लो समय दर्शक आकर्षित गर्ने चलचित्र पनि पाउन सकिएको छैन।’ 

दर्शक लोभ्याउने चलचित्र भित्र्याउन समय कुर्नपर्ने अवस्था रहेको बताउँदै उनले हल सञ्चालन गर्दा दैनिक १० हजारभन्दा बढी खर्च हुने गरेको बताए। उनका अनुसार विद्युतमा मात्रै मासिक ३० हजार खर्च हुन्छ। त्यसअनुसारको आम्दानी नहुँदा नोक्सान खेप्नुपर्ने अवस्था रहेको ताम्राकार बताउँछन्। उद्योग क्षेत्रले विद्युतदेखि करसम्म छुट पाउँदा मनोरञ्जन क्षेत्रलाई भने सरकारले बेवास्ता गरेको उनको भनाइ छ। 
‘एउटा टिकट एक सय रूपैयाँमा बिक्री हुन्छ। त्यसमा ३५ प्रतिशत त कर नै लाग्छ,’ उनले भने, ‘यो सब धान्न नसकेर केही ‘फिल्म हल’ बन्द भइसके। जसोतसो चलिरहेका केहीलाई अस्तित्व जोगाउनै हम्मे परिरहेको छ।’ आधुनिकतासँगै भित्रिएको सुविधासम्पन्न मल्टीप्लेक्ससँग प्रतिस्पर्धा गर्न पुराना ‘फिल्म हल’ले नसक्ने ताम्राकारको बुझाइ छ। 

विराटनगरमा हिमालय टाकिज प्रालिको सिनेमा हल पनि संकटमा छ। हिमालय हलका सञ्चालक दीपेन्द्र भण्डारी विद्युत महसुलमा छुट भए मात्रै पनि केही राहत पुग्ने बताउँछन्। ‘सरकारले करमा छुट दिँदैन। विद्युत महसुल उस्तै चर्को छ’, उनले भने, ‘कोरोना महामारीले झन् थिलथिलो बनाइदियो। महामारीपछि विद्युत महसुल नै तिर्न सकिएको छैन।’ महामारीपछि तीन लाख महसुल बुझाउन बाँकी रहेको उनले बताए। 
‘कोरोनाका कारण चलचित्र हेर्न पहिलेजस्तो दर्शक आउँदैनन्। १० जना मात्रै आए पनि हल चलाउनुपर्छ’, भण्डारीले भने, ‘खर्च धेरै हुन्छ। टिकट बिक्रीबाट धान्न सक्ने अवस्था छैन।’ दर्शककै खडेरी लागेर संकटमा पुगेका हललाई सरकारले पनि सहयोग नगरेको उनको गुनासो छ। ‘पहिले पहिले हलमा बिहानदेखि बेलुकासम्म पाँच ‘शो’सम्म चल्थ्यो। दर्शकको खाँचो हुँदैन थियो’ उनी भन्छन्, ‘अहिले पुराना हलहरू अस्तित्व रक्षाकै लागि संघर्ष गरिरहेका छन्। प्रतिस्पर्धा गर्न नसक्दा झन् समस्या छ।’

हिमालयले टिकटको मूल्य एक सयदेखि एक सय ५० रूपैयाँसम्म राखेको छ। ‘अरु मन्टीप्लेक्सजस्तो टिकट महँगो छैन। त्यही पनि दर्शक पाउनै गाह्रो हुन थाल्यो’, भण्डारीले भने, ‘यसअघि १५ जनासम्मलाई रोगजारी दिइएको थियो। अहिले कटौती गरेर सात जनामा झारिएको छ।’ संकटमा पर्दा हलमा कार्यरतको रोजगारीसमेत गुम्ने खतरा रहेको उनी बताउँछन्। उनका अनुसार प्रत्येक ‘फिल्म हल’ले टिकट काउन्टर, टिकट जाँचबुझ, माइकिङ, पोस्टर पम्प्लेटिङ, प्रचारप्रसार, सरसफाईलगायत गरेर १५ जनाभन्दा बढीलाई रोजगारी दिएका थिए। 

इन्टरनेट, मोबाइललगायतमा प्राविधिले फड्को मार्दा ‘फिल्म हल’ संकटमा परेको चलचित्र निर्देशक समाजका सदस्य एवं कलाकार केशव रायमाझीले बताए। ‘पछिल्लो समय चलचित्र क्षेत्र साँघुरो बन्दै गएको छ। त्यही कारण फिल्म हल संटकमा पर्दैछन्’, उनले भने, ‘तर पनि सयौं दर्शकलाई एकैपटक मनोरञ्जन दिने ठाउँ फिल्म हललाई जोगाउनेतर्फ लाग्नुपर्छ। तीनै तहका सरकारले केही सोच्नुपर्छ।’

दर्शक लोभ्याउने र हेर्न लायक चलचित्र निर्माणमा यो क्षेत्र चुक्नाले पनि यस्तो संकट आएको रायमाझीको बुभाइ छ। उनका अनुसार मल्टीप्लेक्सले केही हदसम्म दर्शकलाई लोभ्याउन सफल भएको देखिन्छ। पछिल्लो समय विराटनगरमा भाटभटेनीको क्यूएफएक्स, सेन्ट्रल मल, सिटी सिनेमा, आरके मललगायतका ‘फिल्म हल’ले दर्शकको माग धानिरहेका छन्। पुराना ‘फिल्म हल’भन्दा महँगोमा टिकट बिक्री हुने यी हलमा नयाँ संरचना, सिटको उचित व्यवस्थापन, वातानुकुलित वातावरण, साउन्ड सिस्टम, पर्दा, खानपानलगायतले दर्शक आकर्षित हुने चलचित्रकर्मीहरूको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.